
१७ भदौ, काठमाडौं । दार्चुलाको नौगाड गाउँपालिका ५ सौकेबगरमा अटो दुर्घटना भएर नौगाड खोलामा खस्दा बेपत्ता भएका तीन जनामध्ये दुई जना मृत फेला परेका छन् । एक जनाको अवस्था अझै अज्ञात छ ।
होपरीगाडबाट मसिने बगरगर्फ गइरहेको म. १ ह ११४८ नम्बरको अटो सोमबार दिउँसो करिब साढे १ बजेतिर खोलामा खसेको थियो ।
सडकबाट करिब ४०/५० फिट तल खसेको अटो खोजतलासको क्रममा नौगाड गाउँपालिका–६ डाँडा बस्ने अन्दाजी १०/१२ वर्षीया आरुषा धामी र १७ वर्षीया भागा धामीको शव फेला परेको हो ।
आरुषाको शव स्थानीय बासिन्दाले घटनास्थलदेखि अन्दाजी ६/७ सय मिटर पश्चिमतर्फ र
भागाको शव घटनास्थलदेखि अन्दाजी ७/८ किलोमिटर पश्चिमतर्फ खोला किनारमा सशस्त्र प्रहरी र विद्युतका कर्मचारीहरुले फेला पारेका थिए ।
सोही ठाउँकी ४७ वर्षीया चाखुरीदेवी धामी भने बेपत्ता छिन् । उनको खोजी जारी छ ।
अटोमा चालकसहित ५ जना सवार थिए । तीमध्ये १६ वर्षीय आयुष भुलको दायाँ हातमा चोट लागेको छ ।
दुर्घटनास्थलमा चमेलिया जलविद्युत सुरक्षा बेस बलाँचबाट सशस्त्र प्रहर नायव निरीक्षक दलजित सिंह डोबालको कमाण्डमा १० जनाको टोली खटिएको छ ।
प्रतिक्रिया 4