+
+
Shares

सबै सदस्यमुखी सहकारीका फजुल खर्च कटौती गर्दै प्राधिकरण 

प्राधिकरणले साधारणसभाका नाममा हुने गरेका भड्किला भोज नियन्त्रण गर्दै सहकारी संस्थाहरूको फजुल खर्च रोक्न निर्देशनात्मक सुझाव दिएको हो । 

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १९ गते १९:११

१९ भदौ, काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सहकारी संस्थाका फजुल खर्च रोक्ने नीति लिएको छ ।

प्राधिकरणले साधारणसभाका नाममा हुने गरेका भड्किला भोज नियन्त्रण गर्दै सहकारी संस्थाहरूको फजुल खर्च रोक्न निर्देशनात्मक सुझाव दिएको हो ।

बचत तथा ऋणको मुख्य कारोबार गर्ने संस्था भनेर तोकेको भए पनि यसले सदस्यमुखी सहकारी सबैलाई समेट्ने प्रधिकरणका एक उच्च अधिकारीले बताए ।

‘कुनै पनि सहकारीले सदस्यमुखी कार्यक्रम गर्न र फजुल खर्च कटौती गर्नुपर्ने हुन्छ,’ ती अधिकारीले भने, ‘प्राधिकरणले निर्देशन जारी गर्दा सहकारी ऐनको व्यवस्था अनुसार बचत तथा ऋणको मुख्य कारोबार गर्ने संस्था भने पनि फजुल खर्च कटौती गर्ने सन्दर्भमा सबै खालका सदस्यमुखी सहकारीका लागि हो ।’

सहकारी संस्थाको साधारणसभा सम्बन्धी निर्देशनलाई सहकारी क्षेत्रले नै ‘मोरल सजेसन’ का रूपमा लिनुपर्ने ती अधिकारीको भनाइ छ ।

‘कुनै पनि सहकारीले कार्यक्रम गर्दा सदस्यमुखी हुनुपर्छ भन्ने हो,’ उनले भने ।

प्राधिकरणले साधारणसभालाई लक्षित गर्दै ल्याएको पछिल्लो निर्देशन पनि फजुल खर्च कटौतीका साथै संस्थाहरू सदस्यमुखी हुनुपर्ने विषयलाई जोड दिइएको उनको भनाइ छ ।

सहकारी क्षेत्रबाटै गुनासा आएकाले पनि फजुल खर्च कटौती तथा गैरसदस्यमा गरिने लगानी बन्द गर्न खोजिएको उनले जानकारी दिए ।

‘पछिल्लो समय सहकारी संस्थाको गैरसदस्य खर्च नियन्त्रण नै गर्न नसकिने अवस्थामा पुग्न लागिसकेको थियो,’ ती अधिकारीले भने, ‘यसलाई थिति बसाल्न धेरै प्रतिक्रिया संकलन गरेर त्यसैका आधारमा एउटा निर्देशन जारी गर्दा विकृति नियन्त्रण हुन सक्छ भन्ने आशयमा हो, यो कुनै क्षेत्रगत सहकारीभन्दा पनि सबै सहकारीले अवलम्बन गर्नुपर्ने कुरा हो ।’

प्राधिकरणले सहकारी ऐन २०७४ को दफा ३९ (२) बमोजिम बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको साधारणसभालाई सदस्य केन्द्रित र मितव्ययी बनाइ सुशासन कायम गर्न आवश्यक साधारणसभा सञ्चालन सम्बन्धी निर्देशन जारी गरेको छ ।

प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको साधारणसभामा गैरसदस्य कर्मचारी वा पदाधिकारीलाई सहभागी गराउन रोक लगाएको छ ।

त्यसैगरी सहकारी संस्थाका साधारणसभा गैरसदस्यलाई आमन्त्रण औपचारिक कार्यक्रममा समय व्यतित नगरी सिधै साधारणसभाको छलफल एजेन्डामा प्रवेश गर्ने प्राधिकरणले निर्देश गरेको छ ।

सहकारी संस्था आबद्ध रहेको माथिल्लो संघबाट कुनै परामर्श आवश्यक परे वा सदस्य शिक्षा दिनुपरे न्यूनतम संख्यामा मात्र गैरसदस्य प्रतिनिधि वा स्रोत व्यक्तिलाई साधारणसभाको प्रारम्भमै परामर्श वा सदस्य शिक्षा प्रदान गर्ने गरी ल्याउन सकिने निर्देशनमा उल्लेख छ ।

साधारणसभामा नयाँ कार्यसमिति निर्वाचित गर्नुपर्ने अवस्थामा निर्वाचन उपसमिति सहित निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने जनशक्ति उपस्थित गराउने व्यवस्था निर्देशनमा छ ।

त्यस्तै बचतकर्ताको हित मध्यनजर गर्दै साधारणसभाका नाममा दिइने कुनै पनि प्रकारको खर्च वा उपहार समेत निर्देशनले रोक लगाएको छ । सहकारी संस्थाले साधारणसभामा सदस्यका लागि सामान्य खाजा वा खाना भने उपलब्ध गराउने सक्नेछन् ।

त्यसैगरी साधारणसभाका नाममा पिकनिक गर्ने अभ्यासलाई पनि निर्देशनले रोक लगाएको छ । निर्देशन अनुसार सहकारी संस्थाले साधारणसभा गर्दा आफ्नो कार्यक्षेत्र भन्दा बाहिर गएर गर्न पाइँदैन ।

निर्देशन अनुसार बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाले प्रचलित कानुन तथा प्राधिकरणको निर्देशन अनुसार साधारणसभा सम्पन्न गरेको विवरण एक महिनाभित्र प्राधिकरणमा पेस गर्नुपर्ने छ । सहकारी संस्थाले प्राधिकरणको निर्देशन अनुसार साधारणसभा नगरेको खण्डमा कारबाही गरिने समेत निर्देशनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?