News Summary
Generated by OK AI. Editorially reviewed.- मांसपेशी शरीरका करिब ६०० भन्दा बढी नरम कोषहरूले बनेका तन्तु हुन्, जसले शरीरलाई चलायमान र आकार दिने काम गर्छन्।
- मांसपेशीका तीन प्रकार छन्: कंकाल मांसपेशी, नरम मांसपेशी र कार्डियाक मांसपेशी, जसले क्रमशः इच्छानुसार चल्ने, स्वतः चल्ने र मुटुको धड्कन सुनिश्चित गर्छन्।
- मांसपेशीलाई शक्ति दिनका लागि एटीपी नामक अणु आवश्यक हुन्छ र प्रोटिन, कार्बोहाइड्रेट, फ्याट तथा भिटामिनयुक्त खानेकुराले मांसपेशी स्वस्थ राख्छन्।
सोच्नुहोस् त, यदि हाम्रो शरीरमा मांसपेशी नै भएन भने के हुन्थ्यो ? अनुहारमा हड्डी मात्र हुन्थ्यो । सायद हामी कुरुप र डरलाग्दा देखिने थियौँ । हातखुट्टा चल्दैनथे, हामी उभिन वा बस्न नै सक्दैनथ्यौं । एक शब्द बोल्न, आँखा झिम्काउन वा खाना चपाउन पनि असम्भव हुन्थ्यो । यी सबैको मतलब हो-मांसपेशीबिना हाम्रो जीवन सम्भव छैन ।
यसैबाट बुझ्न सकिन्छ, मांसपेशी हाम्रो लागि कति अपरिहार्य छ ।
मांसपेशी भनेको के हो त ?
मांसपेशी खास किसिमका कोषहरूले बनेको यस्तो तन्तु हो, जसले आवश्यक नपर्दा कसिलो र आवश्यक पर्दा लचिलो भइ हाम्रो शरीरलाई चलायमान बनाउँछ । यो एकदमै नरम कोष हो, जो पत्रपत्रमा रहेको हुन्छ । यसमा एकअर्कालाई जोड्ने रेसाहरू हुन्छन्, जो तन्किने, खुम्चिने क्षमताका हुन्छन् ।
शरीरमा करिब ६०० भन्दा बढी मांसपेशी हुन्छन् । यी सबैले शरीरको तौलको करिब ४५ प्रतिशत हिस्सा ओगट्छन् ।
मांसपेशीकाका पनि प्रकार छन् ।
१. कंकाल मांसपेशी
यो मांसपेशी हड्डीसँग जोडिएका हुन्छन्, हाम्रो इच्छाअनुसार चल्छन् । हिँड्न, दौडन, अनुहारको भाव परिवर्तन गर्ने क्रियाहरू हाँस्न, रुन, रिसाउन पनि यसको प्रयोग हुन्छ । हात हल्लाउन, चलाउन पनि यी मांसपेशीले सहयोग गर्छन् ।
२. नरम मांसपेशी
यो मांसपेशी आन्द्रा, पेट, रक्तनलीमा हुन्छन् । जुन हाम्रो नियन्त्रणमा हुँदैनन् । खाना पचाउन, रक्तसञ्चारका लागि यिनले निरन्तर काम गरिरहेका हुन्छन् ।
३. कार्डियाक मांसपेशी
यो मांसपेशी मुटुमा मात्र पाइन्छ । यसले गर्भमा हाम्रो भ्रुण विकास भएदेखि मृत्यु अघिसम्म एकछिन पनि नरोकी धड्किरहन सहयोग गर्छ ।
मांसपेशीले सम्रगमा के गर्छ त ?
गति दिने : हिँड्ने, दौडने, बस्ने, उभिने जस्ता सबै काममा मांसपेशीको सहयोगमा हुन्छ ।
आकार दिने : शरीर तथा हाम्रा विभिन्न अंगलाई आकार दिने र सुन्दर बनाउने काम मासंश्पेशीले गर्छ ।
अंगको रक्षा गर्नु : हड्डी र हाम्रो भित्रि अंगलाई छोपेर जोगाउँछ ।
ताप उत्पादन गर्नु : शरीरलाई तातो र न्यानोपन दिन्छ ।
सन्तुलन र पोस्चर : सिधा बस्न वा उभिन मद्दत गर्छ ।
मांसपेशीलाई शक्ति दिने स्रोत
मांसपेशी त्यसै चल्दैन । यसलाई चलाउन उर्जा चाहिन्छ । सो ऊर्जा ए.टी.पी (एडेनोसिन ट्रफोसोफेट) नामक अणुबाट आउँछ, जुन खानाबाट बन्छ । मांसपेशीलाई उर्जा मात्र होइन, स्वस्थ राख्न कार्बोहाइड्रेट, प्रोटिन, फ्याट र भिटामिन पनि मांसपेशीलाई आवश्यक पर्छ ।
– चामल, रोटी, आलुबाट कार्बोहाइड्रेट प्राप्त हुन्छ ।
– दाल, अण्डा, मासुबाट प्रोटिन प्राप्त हुन्छ ।
– दूध, बदाम, घिउबाट चिल्लो पदार्थ प्राप्त हुन्छ ।
– भिटामिन, क्याल्सियम, म्याग्नेसियमयुक्त खानेकुराले पनि हड्डी तथा मांसपेशी मजबुत बनाउँछ ।
मांसपेशी कमजोर हुने कारण
बढ्दो उमेर : उमेरसँगै मांसपेशीको मासु र शक्ति घट्छ । यसलाई सार्कोपेनिया भनिन्छ।
कम सक्रिय जीवनशैली : लामो समयसम्म शारीरिक व्यायाम नगर्दा वा निस्क्रिय बस्दा मांसपेशी कमजोर हुन्छ ।
पोषणमा कमी : प्रोटिन, भिटामिन डी र अन्य पोषक तत्वको कमीले मांसपेशीको विकास र मर्मतमा असर गर्छ ।
रोग वा स्वास्थ्य समस्या : जस्तै मधुमेह, थाइराइड समस्या, मांसपेशी सम्बन्धी रोग र स्नायुसमस्याहरू । यी समस्याले मांसपेशीमा रक्तसञ्चार नहुने, मांसपेशीमा थकाइ बढाउने,
कमजोरी गराउने, स्नायुरोगका कारण मस्तिष्कमा स्नायुका संकेत नपुगेर समस्या हुनसक्छ ।
अत्यधिक तनाव वा चोट : बारम्बार चोट वा अत्यधिक भारले मांसपेशी कमजोर बनाउँछ ।
औषधि वा उपचारको असर : लामो समय स्टेरोइड प्रयोग गर्दा, केमोथेरापी वा अन्य औषधिले मांसपेशी घटाउन सक्छ ।
मांसपेशी च्यातिनु प्रमुख समस्या
मांसपेशी च्यातिनु भनेको मांसपेशीका तन्तुहरू अत्यधिक तन्किँदा वा झट्कापूर्ण बल लाग्दा फाट्नु हो । यो अचानक भारी सामान उठाउँदा, वार्मअप नगरी व्यायाम गर्दा, निरन्तर एउटै काम गर्दा वा दुर्घटनामा ठोक्किँदा सजिलै हुन्छ ।
च्यातिँदा तीव्र दुखाइ, सुन्निने, नीलो–कालो दाग देखिने र प्रभावित भाग चलाउन गाह्रो हुने समस्या आउँछ । विशेषगरी बुढो उमेरमा मांसपेशीहरू स्वाभाविक रूपमा कमजोर र कम लचिलो हुने भएकाले सामान्य काम वा सानो चोटपटकमै पनि च्यातिन सक्ने सम्भावना बढी हुन्छ ।
मांसपेशीमा देखिनसक्ने समस्या
शक्ति कम हुनु : सामान्य काम जस्तै: उकालो चढ्ने, भारी सामान उठाउने वा हिँड्दा थकाइ लाग्ने हुनु ।
सन्तुलन गुम्नु : चालमा अस्थिरता, बारम्बार लड्ने वा टिक्न गाह्रो हुनु ।
सास फेर्न गाह्रो हुनु : छातीको मांसपेशी कमजोर हुँदा सास फेर्न कठिनाइ ।
हिँडडुलमा समस्या : खुट्टा वा हातको मांसपेशी कमजोर भएर हिँड्न, दौडन वा उठ्न कठिनाइ ।
मांसपेशी दुखाइ वा सुन्निनु : थकानपछि वा सामान्य गतिविधिमा पनि मांसपेशीमा दुखाइ हुनु, झट्का लाग्नु वा सुन्निनु ।
मांसपेशी पातलो हुँदै जानु : लामो समय कमजोर हुँदा मांसपेशीका आकार-प्रकारमा कमी आउनु ।
सामान्य काममा कठिनाइ : लेख्ने, पकाउने वा सामान उठाउने जस्ता दैनिक काममा असर हुनु ।
यदि यी लक्षण दीर्घकालीन देखिन्छन् भने चिकित्सकसँग परामर्श लिनु अत्यन्त जरुरी हुन्छ ।
मांसपेशीलाई बलियो र स्वस्थ कसरी राख्ने ?
– हरेक दिन प्रोटिन, काब्रोहाइड्रेट र भिटामिन भएका खानेकुरा मात्र मिलाएर खाने ।
– नियमित व्यायाम जस्तै: दौडने, स्ट्रेचिङ, वेट ट्रेनिङ गर्ने
– पर्याप्त पानी पिउने ।
– राम्रो निद्रा लिने ।
– धुम्रपान÷मदिरापान नगर्ने ।
– ध्यान, योग जस्ता अभ्यास गर्ने
प्रतिक्रिया 4