
२२ भदौ, काठमाडौं । १७ वटा विद्यार्थी संगठन सामाजिक सञ्जाल बन्दको विपक्षमा उभिएका छन् । सत्तारुढ दल निकटसहितका विद्यार्थी संगठन सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका हुन् ।
१९ भदौ मध्यरातदेखि नेपालमा सूचीकृत नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति संयुक्त विद्यार्थी संगठनहरूले गम्भीर ध्यानाकर्षण भएको भन्दै अभिव्यक्ति स्वतन्त्रता र सूचनाको पहुँचलाई सङ्कुचित बनाएको निष्कर्ष निकालेका छन् ।
‘सामाजिक सञ्जाल र सञ्चारका माध्यमहरू बन्द हुँदा सहज सञ्चारमा अवरोध उत्पन्न भएको छ, जसले अभिव्यक्ति स्वतन्त्रता र सूचनाको पहुँचलाई सङ्कुचित बनाउँदै विद्यार्थीहरूको अध्ययन, अनुसन्धान र अन्वेषणमा समेत गम्भीर असर पारेको छ। त्यसैगरी, पछिल्लो तथ्यांकअनुसार नेपालमा करिब सत्तरी प्रतिशत साना तथा मझौला व्यवसायहरू सामाजिक सञ्जालमार्फत बजार विस्तार र ग्राहक सम्पर्कमा निर्भर छन्,’ विज्ञप्तिमा भनिएको छ ।
सामाजिक सञ्जाल बन्दले रोजगारी गुम्ने र व्यवसाय धराशायी हुने गम्भीर खतरा उत्पन्न भएको ठहर १७ वटा विद्यार्थी संगठनको छ ।
‘सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णय पुनरावलोकन गर्न, सामाजिक सञ्जालहरू तत्काल पुनः सञ्चालन गर्न, अभिव्यक्ति स्वतन्त्रता, शिक्षा, रोजगारी र आर्थिक अवसरमाथि खतरा उत्पन्न गर्ने नीतिहरू तुरुन्त फिर्ता लिँदै विद्यार्थी, डिजिटल सामग्री निर्माता, व्यवसायी तथा अन्य सरोकारवालासँग तत्काल संवाद गरी उपयुक्त विकल्प अवलम्बन गर्न नेपाल सरकारसमक्ष जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
सामाजिक सञ्जाल दर्ताका लागि आउन पनि संगठनहरूले आग्रह गरेका छन् ।
हेर्नुहोस् विज्ञप्ति :
प्रतिक्रिया 4