News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री सुशीला कार्कीज्यूले पहिलो महिला प्रधानमन्त्रीको रूपमा मुलुकको नेतृत्व सम्हालेकी छिन्।
 - प्रधानमन्त्री कार्कीज्यूले समावेशी मन्त्रिमण्डल गठन गरी अपाङ्गता भएका व्यक्ति र सीमान्तकृत समुदायलाई सम्मानजनक स्थान दिनुपर्ने बताउनुभयो।
 - सरकारले भ्रष्टाचार नियन्त्रण, पहुँचयुक्त पुनर्निर्माण र उद्यमशिलताको प्रोत्साहनमार्फत शान्ति, स्थिरता र समृद्धि सुनिश्चित गर्नुपर्ने अपेक्षा गरिएको छ।
 
सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यू,
नेपाल विगत केही वर्षदेखि अस्थिरता, विभाजनकारी प्रवृत्ति र निराशाले ग्रसित रहेको यहाँलाई विदित नै छ। धेरै नागरिकमा यही देशमा भविष्य खोज्ने कि विदेश पलायन हुने भन्ने अन्योल छ। कतिपय युवाहरू पीआर, विद्यार्थी भिसा वा श्रम आप्रवासनको तयारीमा छन्।
यस्तो कठिन मोडमा, इतिहासमै पहिलो पटक तपाईंले महिला प्रधानमन्त्रीको हैसियतमा मुलुकको बागडोर सम्हाल्नुभएको छ। यो केवल व्यक्तिगत उपलब्धि मात्र होइन, सम्पूर्ण नेपाली समाजको गौरव हो। लोकतन्त्रमा महिला नेतृत्वको नयाँ युग उद्घाटन भएको छ, जसले परिवर्तनको सम्भावना उजागर गरेको छ।
यसअघि पहिलो महिला प्रधानन्यायाधीशका रूपमा तपाईंले न्याय क्षेत्रमा असाधारण योगदान गर्नुभएको थियो। आज फेरि मुलुककै पहिलो महिला प्रधानमन्त्री बनेर अर्को इतिहास रच्नुभएको छ।
तर, यस गौरवसँगै चुनौतीहरूको ठूलो पहाड तपाईंको सामु छ। देश असुरक्षा, अव्यवस्था र निराशाको गर्तमा छ। कमजोर संरचना, खस्किँदो जनविश्वास र शासनप्रतिको भरोसा क्षीण भएको छ। यही घडीमा तपाईंको नेतृत्वले शान्ति, स्थिरता र समृद्धिको बाटो देखाउने अपेक्षा गरिएको छ।
समावेशी मन्त्रिमण्डल- नयाँ युगको आधार
सम्माननीय प्रधानमन्त्रीज्यू,
अन्तरिम मन्त्रिमण्डल गठन तपाईंको एक निर्णायक कदम हुनेछ। विगतमा दलित, जनजाति, मधेशी, महिला, लैङ्गिक तथा यौनिक अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति र युवाहरूलाई उपेक्षा गर्दै आइएको छ। विशेषगरी अपाङ्गता भएका व्यक्तिहरू अझै पनि नीतिगत तहमा अदृश्य छन्।
तपाईं नेतृत्वको मन्त्रिमण्डलमा अपाङ्गता भएका व्यक्ति र अन्य सीमान्तकृत समुदायलाई सम्मानजनक स्थान दिन सकियो भने त्यो इतिहासमा अमर हुनेछ।
पुनर्निर्माण भौतिक मात्र होइन, पहुँचयुक्त भविष्य
पुनर्निर्माण भन्नाले केवल भवन र सडक निर्माण होइन, सबल र समान समाज निर्माण हो। त्यसैले, सबै सार्वजनिक संरचना अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचाना तथा सञ्चार सेवा निर्देशिका २०६९ को अक्षरस कार्यान्वयन तथा पालना गर्दै बन्नुपर्छ।
– सरकारी सूचना ब्रेल, स्क्रिन–रिडरमैत्री डिजिटल सामग्री र सांकेतिक भाषासहित उपलब्ध हुनुपर्छ।
– विद्यालयदेखि मन्त्रीस्तरीय कार्यालयसम्म सबै संरचना अपाङ्गमैत्री हुनुपर्छ।
– आगामी निर्वाचनमा पहुँचयुक्त वातावरण सुनिश्चित हुनुपर्छ।
यसरी मात्र पुनर्निर्माणले घाउ निको पार्नेछ र सबल नेपालको जग बस्नेछ।
भ्रष्टाचार नियन्त्रण : विश्वास पुनर्स्थापना
जनताको आशा हराएको प्रमुख कारण मुलुकमा व्याप्त भ्रष्टाचार नै हो। राहत, पुनर्निर्माण र विकासका नाममा अरबौँ रुपैयाँको दुरुपयोग हुँदा विश्वासको संकट गहिरिएको छ।
तपाईं नेतृत्वको सरकारमा शून्य सहनशिलता नीति लागु हुनु जरुरी छ। दोषी जोसुकै होस्, हैसियत होइन, कानुनको कठघरामा उभ्याउने आँट देखिनुपर्छ। यही बाटोले मात्र जनतामा फेरि आशा जगाउँछ।
निजी क्षेत्र र उद्यमशिलता : आर्थिक पुनर्जीवनको बाटो
राजनीतिक अस्थिरताले उद्योग, व्यापार, पर्यटन र कृषि सबै कमजोर बनेका छन्। त्यसैले,
• उद्यमशिलतालाई प्रोत्साहन गर्ने स्पष्ट नीति आवश्यक छ।
• महिला र अपाङ्गता भएका उद्यमीलाई विशेष प्याकेज दिनुपर्छ।
• वैदेशिक लगानीका लागि कानुनी स्पष्टता र स्थिरता सुनिश्चित गर्नुपर्छ।
यसरी मात्र अर्थतन्त्र पुनर्जीवित हुनेछ।
महिला नेतृत्व : विश्वास र प्रेरणा
तपाईंको नेतृत्व केवल महिलाका लागि मात्र होइन, अपाङ्गता भएका महिला, लैङ्गिक अल्पसंख्यक, दलित र सीमान्तकृत समुदायका लागि आशाको आधार बनेको छ।
हामीलाई विश्वास छ-
• मन्त्रिमण्डलमा महिला र अपाङ्गता भएका व्यक्तिको अर्थपूर्ण सहभागिता हुनेछ।
• सरकारी सूचनामा सांकेतिक भाषा अनिवार्य हुनेछ।
• सञ्चार माध्यमको पहुँचलाई पहिलो प्राथमिकता दिइनेछ।
सबै संरचनाहरू पुनर्निर्माण हुँदा अपाङ्गता भएका व्यक्तिका लागि पहुँच युक्त भौतिक संरचाना तथा सञ्चार सेवा निर्देशिका २०६९ को अक्षरस कार्यान्वयन तथा पालना गर्दै तयार हुनेछ।
• नीति निर्माणदेखि कार्यान्वयनसम्म अपाङ्गता भएका नागरिकको प्रत्यक्ष सहभागिता हुनेछ।
यो केवल सरकारको काम होइन, नयाँ सामाजिक संस्कार निर्माण गर्ने ऐतिहासिक अवसर हो।
सम्माननीय प्रधानमन्त्रीज्यू,
तपाईंको विगतको योगदानप्रति हाम्रो हार्दिक प्रशंसा छ। हामी तपाईंको सकारात्मक कदमलाई साथ दिन सदैव तयार छौं।
विशेषगरी, समावेशिता र पहुँचलाई तपाईंको यात्रामा सहकार्य र योगदान दिनु हाम्रो दायित्व र कर्तव्य हो।
यस यात्रामा तपाईंलाई हार्दिक बधाई र शुभकामना।
सुनौलो भविष्यतर्फ
आज अस्थिरता, हिंसा र निराशाबाट शान्ति, स्थिरता र समृद्धितर्फ मोड्ने जिम्मेवारी तपाईंको काँधमा आएको छ।
यदि तपाईंले-
• भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्नुभयो,
• पुनर्निर्माणलाई पहुँचयुक्त बनाउनुभयो,
• समावेशी मन्त्रिमण्डल गठन गर्नुभयो,
• महिला नेतृत्वलाई व्यवहारमा उतार्नुभयो भने
– नेपालले नयाँ युगको सुरुवात गर्नेछ।
– महिला नेतृत्व संसारभर उदाहरणीय बन्नेछ।
– अपाङ्गता भएका नागरिकले अधिकारको अनुभव गर्नेछन्। र नेपाली जनताले फेरि आफ्नो देशमै भविष्य खोज्नेछन्।
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4