News Summary
Generated by OK AI. Editorially reviewed.- वेस्ट इन्डिज क्रिकेट टोलीले आगामी टी–२० विश्वकप लक्षित गर्दै बलिङ विभागलाई मजबुत बनाउन नेपालसँगको शृंखलामा पाँच नयाँ खेलाडी समावेश गरेको छ।
- मुख्य खेलाडीहरू गुडाकेश मोटी, रोभमन पावेल, शेर्फान रदरफोर्ड र रोमारियो शेफर्डलाई 'वर्कलोड म्यानेजमेन्ट'का लागि विश्राम दिइएको छ।
- पूर्व बलरहरूबाट बनेको सपोर्ट स्टाफले टोलीलाई शारजाह यात्रा र प्रशिक्षणमा सहयोग गर्नेछ र नयाँ प्रतिभा खोजीमा ब्रेकआउट लिग र सीपीएललाई प्राथमिकता दिइएको छ।
५ असोज, काठमाडौं । वेस्ट इन्डिज क्रिकेट टोलीले आगामी वर्ष भारत र श्रीलंकामा हुने टी–२० विश्वकपलाई लक्षित गर्दै आफ्नो बलिङ विभागलाई थप मजबुत बनाउन कदम चालेको छ।
त्यसै रणनीतिको हिस्सा स्वरुप वेस्ट इन्डिजले यसै महिनाको अन्त्यमा नेपालसँग हुने टी–२० अन्तर्राष्ट्रिय शृंखलामा नयाँ खेलाडीहरूलाई अवसर दिएको छ।
नेपालसँगको शृंखलाका लागि वेस्ट इन्डिजले पाँच जना नयाँ अनुहारलाई टोलीमा समावेश गरेको छ। जसमा लेगस्पिनर जिशान मोटारा, बायाँ हातका तीब्र बलर रामोन सिमोन्ड्स, लेगस्पिन अलराउन्डर नविन बिडाइसीसहित ब्याट्सम्यान एकिम अगस्टे र करिमा गोरे रहेका छन्।
गोरे सन् २०२१ सम्म अमेरिकी टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका तर वेस्ट इन्डिजबाट भने अझै डेब्यू गर्न बाँकी छ।
मुख्य खेलाडीहरूलाई आराम
टिमका नियमित सदस्य गुडाकेश मोटी, रोभमन पावेल, शेर्फान रदरफोर्ड र रोमारियो शेफर्डलाई यो शृंखलामा विश्राम दिइएको छ।
मुख्य प्रशिक्षक डारेन सामीका अनुसार ती खेलाडीहरूले पछिल्ला महिनाहरूमा धेरै खेल खेलेका कारण ‘वर्कलोड म्यानेजमेन्ट’का लागि आराम दिइएको हो।
तर स्टार ब्याटर शिम्रोन हेटमायरले भने आफैंले नेपालसँगको शृंखलाका लागि आफूलाई उपलब्ध नगराएको सामीले बताएका छन्।
बलिङमा जोड
वेस्ट इन्डिज क्रिकेटका निर्देशक माइल्स बास्कोम्बले बलिङ विभाग विगतका वर्षहरूमा कमजोर बन्दै गएको स्वीकार गर्दै यस पटक नयाँ विकल्प खोजिएको बताए।
‘हामीले बलिङलाई बलियो बनाउन अनुभवी पूर्व बलरहरूलाई पनि सपोर्ट स्टाफमा राखेका छौं’ उनले भने।
यसै क्रममा टोलीसँगै शारजाह यात्रा गर्ने १५ सदस्यीय स्क्वाडलाई पूर्व बलरहरूबाट बनेको सपोर्ट स्टाफले साथ दिनेछ। रायोन ग्रिफिथ हेड कोच, ओटिस गिब्सन फास्ट–बलिङ सल्लाहकार, निकिता मिलर र जेरोम टेलर सहायक कोच रहनेछन्।
नयाँ प्रतिभाको खोजी
वेस्ट इन्डिजले यस वर्षदेखि सुरु भएको ‘ब्रेकआउट लिग’ र क्यारिबियन प्रिमियर लिग (सीपीएल बाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पनि छनोटमा प्राथमिकता दिएको छ।
कोच सामीका अनुसार बिडाइसीले ब्रेकआउट लिगमै आफ्नो क्षमता देखाएका थिए। ‘उनले सामुयल बद्रीझस्तै पावरप्लेमा वा मध्य ओभरमा नियन्त्रणसहित बलिङ गर्न सक्ने क्षमता देखाएका छन्’ सामीले भने।
त्यस्तै बायाँ हातका बलरहरूको कमी झेल्दै आएको वेस्ट इन्डिजले यस पटक रामोन सिमोन्ड्सलाई विशेष अवसर दिएको छ। सामीका अनुसार बायाँ हातका सिमरहरूले अन्तिम ओभरहरूमा विभिन्न कोणबाट खेल्न सक्ने भएकाले टोलीलाई नयाँ धार दिने विश्वास गरिएको छ।
रामोनले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणमा लुम्बिनी लायन्सबाट खेलेका थिए ।
नेपालसँगको तीन खेलको टी–२०आई शृंखलापछि वेस्ट इन्डिजले अक्टोबरमा बंगलादेश भ्रमण गर्नेछ भने त्यसपछि नोभेम्बरमा न्युजिल्यान्ड जानेछ।
-क्रिकइन्फोबाट
प्रतिक्रिया 4