News Summary
Generated by OK AI. Editorially reviewed.- फ्याटी लिभर रोगमा कलेजोमा ५ देखि १० प्रतिशतभन्दा बढी बोसो जम्मा हुन्छ र यसले कलेजोको कार्यमा अवरोध ल्याउँछ।
- विश्वमा ४० प्रतिशत जनसंख्यामा फ्याटी लिभर समस्या देखिएको छ र २५ प्रतिशतमा नन-अल्कोहोलिक फ्याटी लिभर छ।
- फ्याटी लिभरको उपचारमा जीवनशैली सुधार, तौल नियन्त्रण, नियमित व्यायाम र मधुमेह तथा कोलेस्टेरोल नियन्त्रण आवश्यक छ।
फ्याटी लिभर भन्नाले सामान्य भाषामा कलेजोमा बोसो जम्मा हुने रोग भनेर चिनिन्छ । यो यस्तो अवस्था हो-जसमा कलेजोमा असामान्य रूपमा हानिकारक चिल्लो वा फ्याट जम्मा हुने गर्दछ ।
कलेजोका काम धेरै हुन्छन् । जस्तो: जुनसुकै खाद्यपदार्थलाई विषरहित बनाउने, पच्न मद्दत गर्ने, आवश्यक प्रोटिन बनाउने, आवश्यक तत्व भण्डार गर्ने र कमी हुनासाथ रगतमा फिर्ता पठाउने आदि ।
यसले महत्वपूर्ण मेटाबोलिज्मको काम गर्छ । तर जब कलेजोमा बढी मात्रामा चिल्लो पदार्थ प्राप्त हुन्छ र त्यसलाई पचाएर रगतमा पठाउन सक्दैन । कलेजोका कोषहरूमा अस्वाभाविक रूपमा ५ देखि १० प्रतिशत भन्दा बढी बोसो जम्मा हुन थाल्छ तब फ्याटी लिभर जस्तो रोग सुरु हुन थाल्छ ।
मोटोपन, बदलिँदो जीवनशैली, मद्यपान सेवन, मधुमेह रोग जस्ता कारणले पनि यो समस्या देखिन्छ जुन आजकाल धेरै मानिसहरूमा छ ।
भरखरै प्रकाशित एक अध्ययनका अनुसार अहिले विश्वमा ४० प्रतिशत जनसंख्यामा यो रोगको समस्या देखिएको छ । ती मध्ये २५ प्रतिशतमा नन-अल्कोहोलिक फ्याटी लिभरको समस्या छ । त्यसकारण यो रोग अहिले जनस्वास्थ्यको प्रमुख समस्याका रूपमा चित्रित भएको छ।
विश्वमा सबैभन्दा बढी कलेजो प्रत्यारोपण गर्नुपर्ने कारणमा रक्सी सेवनबाट हुने कलेजो खराबीसँगै कलेजोको क्यान्सर र कलेजोको सङ्क्रमण हुनु प्रमुख कारण हुन् ।
फ्याटी लिभर हुनु सामान्य होइन। फ्याटी लिभर भएमा कलेजोको सामान्य कार्यमा अवरोध आउने गर्छ । नियन्त्रण नभएमा दीर्घकालमा कडा समस्या अर्थात क्यान्सर पनि देखिन सक्छ ।
फ्याटी लिभरका प्रकार र कारणहरू
फ्याटी लिभर दुई प्रकारका हुन्छन् ।
१. नन–अल्कोहोलिक फ्याटी लिभर डिजिज
यो रक्सी सेवन नगर्ने व्यक्तिहरूमा देखापर्ने साधारण प्रकारको समस्या हो जुन मधुमेह, मोटोपन र अस्वस्थकर जीवनशैली हुने व्यक्तिमा बढी देखापर्छ । यो समस्यामा कलेजोमा बोसो त जम्मा हुन्छ तर त्यो बोसो कम मात्रामा हुने हुँदा कलेजो सुन्निने वा कुनै क्षति भएको हुँदैन । यदि बोसोको साथमा सुन्निने र कलेजोका कोषहरूमा क्षति पुगेको छ भने त्यसलाई नन–अल्कोहोलिक स्टेटोहेपाटाइटिस भनिन्छ ।
यस्तो अवस्थामा सिरोसिस र क्यान्सर समेत हुनसक्छ ।
यस्तो प्रकारको समस्याका अन्य कारण वा जोखिम समूहहरू यसप्रकार छन्–
मोटोपन शरीरमा बढी बोसो जम्मा हुनु कलेजोमा पनि बोसो जम्मा हुनु हो र यसमा पनि पेटमा बोसो जम्मा हुनुलाई हरेक रोगमा बढी जोखिम मानिन्छ ।
-टाइप २ मधुमेह : इन्सुलिनको प्रतिरोधका कारण कलेजोमा बोसोको सञ्चय बढी हुँदा ।
-उच्च कोलेस्टेरोल वा टिजी बढ्नु : रगतमा खराब बोसो वा ट्राइग्लिसराइड बढी हुँदा ।
-मेटाबोलिक सिन्ड्रोम : मोटोपन, उच्च रक्तचाप, मधुमेह र कोलेस्टेरोलको समस्याको संयोजन
-अस्वस्थ आहार : चिल्लो, चिनी र प्रशोधित खाना बढी खानु ।
-निष्क्रिय जीवनशैली : शरीर चलाउने क्रियाकलाप नगरी ऐस आराममा बसिरहनु ।
-औषधिको प्रभाव : लामो समयसम्म स्टेरोइड, एच.आइ.भी. र क्यान्सर रोगको औषधि प्रयोग गर्नु ।
-वंशाणुगत : धेरै कम मात्रामा कहिलेकाहीँ वंशाणुगत रूपमा पनि यो रोग प्रसारण हुन्छ ।
-विरलै देखिने स्वास्थ्य समस्या : शरीरमा चिल्लो पदार्थ सहीरूपमा भण्डार हुन नसक्नु ।
-अस्वाभाविक तौल घट्नु : एक्कासी तौल घट्नु र छिटो कडा कुपोषणमा जानु ।
अन्य कारण
थाइराइडको समस्या, उच्च रक्तचाप, निद्रामा समस्या वा महिलामा पोलिसिस्टिक ओभरी सिन्ड्रोम आदि कारणले पनि फ्याटी लिभरको समस्या देखिन्छ ।
२.अल्कोहोलिक फ्याटी लिभर डिजिज
अत्यधिक रक्सी सेवन गर्ने व्यक्तिहरूमा यो समस्या देखिन्छ । रक्सी सेवनको मात्रा र अवधिका आधारमा यो रोगको जोखिम बढ्दै जान्छ । यस समूहका व्यक्तिहरूको कलेजोमा छिटै समस्या आई कलेजो फेल हुने, सिरोसिस हुने, क्यान्सर हुने र कलेजो प्रत्यारोपण गर्न नसके मृत्यु हुने सम्भावना हुन्छ ।
यस प्रकारको रोगका अन्य कारण वा जोखिम समूहहरू यसप्रकार छन्–
-लामो समयसम्म अत्यधिक रक्सी सेवन गर्नु र रक्सीले कलेजोको कार्यक्षमता घटाइदिनु ।
-रक्सी सेवन गर्नेहरूमा पौष्टिक पदार्थ (भिटामिन र खनिज तत्व)को कमी हुनु ।
फ्याटी लिभर भएमा देखापर्ने लक्षणहरू
फ्याटी लिभर हुँदा कुनै पनि चिह्न र लक्षणहरू देखिँदैनन् बरू व्यक्ति सामान्य अवस्थामा रहेको हुँदा यसम कुनै वास्ता हुँदैन ।
तर जब यो रोगले गम्भीर समस्या उत्पन्न गराउन थाल्छ अनि शरीरमा निम्न किसिमका विभिन्न लक्षण र चिह्नहरू देखापर्दछन्–
-पेटको दाहिनेतर्फ माथिल्लो भागमा दुखाइ हुन्छ र सुनिएको हुन्छ ।
-थकान, कमजोरी महसुस् हुन्छ र श्वास फेर्न गाह्रो हुनथाल्छ ।
-पेट फुल्ने, फियो सुन्निने र पेटमा पानी जम्ने समस्या आउँछ ।
-खुट्टा सुनिने, वाकवाकी लाग्ने, खाना नरुच्ने र तौल घट्ने हुन्छ ।
-पछि पछि आँखा, छाला पहेँलो हुने, छाला चिलाउने, गाढा पिसाब आउने (जण्डिसका लक्षण), निलडाम देखापर्ने, रक्तश्राव नरोकिने, कालो दिसा आउने, भ्रममा पर्ने जस्ता समस्या देखिन्छन् ।
-यदि यस्ता लक्षणहरू देखापर्दा पनि औषधी उपचार गरिएन वा लापरवाही गरियो भने रोग जटिल अवस्थामा प्रवेश गरी कलेजोको सुजन र फाइब्रोसिस, लिभर सिरोसिस, लिभर फेलर, लिभर क्यान्सर र मुटुका रोगहरू समेत देखापर्न सक्छन् ।
फ्याटी लिभर कसरी पत्ता लगाउने ?
-बिरामीको हेल्थ हिस्ट्री लिने र सूक्ष्म अवलोकन गर्ने ।
-रक्तपरीक्षण र लिभर फंसन गरी टेस्ट पत्ता लगाउने ।
-भिडियो एक्सरे, सिटी स्क्यान वा एमआरआई, फाइब्रो स्क्यान जस्ता परीक्षण गरी बोसोको मात्रा र क्षति पत्ता लगाउने ।
-सिरोसिस वा क्यान्सर भए नभएको पत्ता लगाउन बायोप्सी परीक्षण गर्ने ।
फ्याटी लिभर रोगको उपचार
यो रोग लागेमा विशेष उपचार केही छैन । सुरुकै अवस्थामा रोगको पहिचान गर्नसके र जीवनशैली सुधार्न सके समयमै रोग जटिलतामा जानबाट बचाउन सकिन्छ । अन्यथा रोगको रोकथाम र नियन्त्रण गर्नु नै यो रोगको उपचार पनि हो ।
तैपनि रोग के कारणले उत्पन्न भएको हो भन्नेकुरा पत्ता लगाएर उक्त रोगको उपचार गरी रोगलाई बढ्नबाट बचाउन सकिन्छ । जस्तै: मधुमेह, कोलेस्टेरोल वा इन्सुलिन प्रतिरोध नियन्त्रण गर्नुपर्ने भए ती समस्याका औषधि चलाउन सकिन्छ ।
रक्सी सेवनका कारणले भएको रहेछ भने रक्सी नखाएर, अप्राकृतिक खाना पूर्णरूपमा नियन्त्रण गरेर र जीवनशैली परिवर्तन गरी निको बनाउन सकिन्छ भने कहिलेकाहीँ लामो समयसम्म भिटामिन ई वा एन्टिअक्सिडेन्ट औषधिको प्रयोग गर्न सकिन्छ । कुनै हालतमा निको नभए अन्तिम उपचार भनेकै कलेजो प्रत्यारोपण हो ।
रोकथाम र नियन्त्रण
यो रोग लागिसकेपछि निको नहुने र शारीरिकरूपमै निकै क्षति हुनेहुँदा रोग लाग्नै नदिनका लागि जीवनशैली परिवर्तन गर्नु नै समाधानको मुख्य उपाय हो ।
जीनशैली परिवर्तनका लागि निम्नानुसारका उपायहरू अपनाइ रोगको रोकथाम र नियन्त्रण गर्न सकिन्छ
स्वस्थकर आहार सेवन गर्ने
यसका लागि चिल्लो र चिनी कम भएको खाना, फलफूल, सागसब्जी र फाइबरयुक्त खाना खाने तर प्रशोधित खाना, फास्टफुड र बढी चिल्लोयुक्त खाना नखाने । खाना खानेक्रममा पनि सुरुमा सागपात वा फलफूल खाने, त्यसपछि प्रोटिन खाने र अन्तमा कार्बोहाइड्रेट खाएमा ह्वात्तै सुगर बढ्न पनि पाउँदैन । यसका साथै १६/८ घण्टाको अनियमित उपवासले र कफी सेवनले पनि फ्याटी लिभरलाई राम्रो गर्छ ।
तौल नियन्त्रण गर्ने
खानामा नियन्त्रण गरेर वा व्यायाम गरेर तौल ठिक्क राख्ने र बढी भएमा बिस्तारै घटाउने (हप्तामा ०.५–१ के.जी.) तर एक्कासी तौल नघटाउने यसले बढी हानी गर्छ । हामीले ३ प्रतिशत मात्र तौल घटाउँदा पनि फ्याटी लिभर कम हुनथाल्छ । ५ प्रतिशत घटाउँदा कलेजोको सुजन घट्छ । ७-१० प्रतिशत घटाउँदा कलेजो लगायत अन्य अंगका खराबी समेत निको हुन्छन् । त्यसकारण यो समस्यामा तौल नियन्त्रण गर्नु सबैभन्दा राम्रो उपचार हो ।
नियमित शारीरिक अभ्यास गर्ने
मांसपेशी बलियो बनाउन, शरीरका आन्तरिक सबै अङ्गहरू सक्रिय राख्न, मेटाबोलिज्म बढाउन र तन्दुरुस्तीका लागि नियमित योग अभ्यास र शारीरिक गतिविधि गर्नुपर्छ । योग व्यायामले धेरै रोगहरूलाई रोकथाम गर्दछ ।
यसका लागि नियमित रूपमा एकदिनमा कम्तीमा पाँच हजार पाइला अलि गतिका साथ हिँड्ने वा योग अभ्यास गर्दा पनि फाइदा हुन्छ जसले चिल्लो छिटो जल्नमा मद्धत गर्दछ । त्यस्तै, ३५ वर्षपछि वर्षको १–२ प्रतिशत मांसपेशी कम गर्दै जानुपर्छ अन्यथा मधुमेह लगायत अन्य रोगको जोखिम रहन्छ ।
मादक पदार्थ सेवन नगर्ने
मादक पदार्थ कलेजोको रोग र फ्याटी लिभरका लागि सबैभन्दा प्रमुख हानिकारक तत्व भएकाले यसको सेवन गर्दै नगर्ने र यस्तो बानी छ भने हटाउनुपर्छ ।
मधुमेह र कोलेस्टेरोल नियन्त्रण गर्ने
उचित खानपिन, व्यायाम र गतिविधिबाट मधुमेह, कोलेस्टेरोल जस्ता रोगहरू नियन्त्रण गर्ने र समस्या भएमा रोग नबिग्रँदै औषधि सेवन गरी छिटो उपचार गर्नुपर्छ ।
नियमित स्वास्थ्य परीक्षण
समय-समयमा कलेजोको कार्य, मधुमेह, कोलेस्टेरोल तथा थाइराइड हर्मोनको अवस्था हेर्न रक्तपरीक्षण गरेर, कुनै पनि लक्षणहरू देखापरे नपरेको हेरेर र आवश्यक परे भिडियो एक्सरे गरेर दक्ष चिकित्सकसँग आफ्नो नियमित स्वास्थ्य परीक्षण गराइरहनुपर्छ ता कि रोगले एक्कासी आक्रमण नगरोस् ।
अन्तमा, फ्याटी लिभर नराम्रो दीर्घ समस्या हो तर यसको समयमै उपचार र रोकथाम गर्न सकियो भने यो निको हुन्छ । आजकाल मानिसको बदलिँदो जीवनशैली र अप्राकृतिक आहार विहारका कारण रोग फैलँदो अवस्थामा छ ।
शहरी क्षेत्रमा विषाक्त खाद्यपदार्थ, पश्चिमा संस्कृतिको प्रभावले अस्वस्थकर जीवनशैली हुँदा, धूम्रपान तथा मद्यपानको बढी प्रयोग गर्दा, शारीरिक रूपमा क्रियाशील नहुँदा वा ऐस आरामको जीवन बिताउँदा यो समस्याको प्रकोप बढ्दो छ ।
ग्रामीण भेगमा समेत परम्परागत चालचलन अपनाउँदा, रक्सी सेवन गर्दा, समयमा स्वास्थ्य परीक्षण नगराउँदा र स्वास्थ्य सम्बन्धी जनचेतना नहुँदा यो समस्या बढ्दो क्रममा देखिन्छ ।
प्रतिक्रिया 4