+

भ्रामक खबरले पार्छ मानसिक स्वास्थ्यमा ठूलो असर, बच्ने उपाय के ?

२०८२ असोज  ७ गते १३:३७ २०८२ असोज ७ गते १३:३७
भ्रामक खबरले पार्छ मानसिक स्वास्थ्यमा ठूलो असर, बच्ने उपाय के ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा जेनजी आन्दोलनका क्रममा सामाजिक सञ्जालमा फैलिएका झुटा खबरहरूले मानिसमा डर फैलाएको थियो।
  • मनोचिकित्सकहरूले भ्रामक सूचनाले तनाव, चिन्ता र मनोवैज्ञानिक आघात बढाउने बताएका छन्।
  • भ्रामक समाचारबाट बच्न आधिकारिक मिडिया र सरकारी स्रोतहरूमा निर्भर रहनुपर्ने मनोविद्हरूले सुझाव दिएका छन्।

हामीले थाहा पाएका सबै सूचना तथा खबरहरू सही हुँदैनन् । रे..रे..का भरमा समाजमा गलत हल्लाहरू फैलिने चलन पुरानै हो । तर, जब सामाजिक सञ्जालहरू आए त्यसपछि भ्रामक तथा मिथ्या सूचनाहरू छिट्टै र व्यापक रूपमा फैलिन थाले । यसरी फैलिएका सूचनाहरूलाई व्यक्तिले विश्वास गर्दा गलत धारणाको विकास हुने र यसले समाजमा विकृतिहरू निम्त्याउने समस्या देखापरिरहेको छ ।

यो समस्या अहिले विश्वव्यापी रूपमै छ । नेपालमा हालै भएको जेनजी आन्दोलनमै पनि भ्रामक सूचनाहरूलाई व्यक्तिले विश्वास गर्दा धेरै नहुनुपर्ने घटनाहरू भए । आन्दोलनकै समयमा र पछि पनि भ्रामक खबरहरू फैलिइरहेका छन् ।

उदाहरणका लागि जेनजी आन्दोलनका क्रममा सामाजिक सञ्जालहरू जस्तै टिकटक, फेसबुक र डिस्कर्डमा फैलिएका झुटा खबरहरूले प्रदर्शनकारीहरूको संख्या, हिंसाका घटना र घाइतेहरूको तथ्यांकलाई अतिरञ्जित बनाएको थियो ।

आन्दोलनहरूका क्रममा सामाजिक सञ्जाल र मिडियामा फैलिएका यस्ता भ्रामक सूचनाले लाखौं मानिसहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।

विश्व स्वास्थ्य संगठनको एक समीक्षाका अनुसार, महामारी वा संकटकालीन अवस्थामा फैलिएका भ्रामक सूचनाहरूले मानिसको स्वास्थ्य व्यवहारमा नकारात्मक प्रभाव पार्छन् । यसमा मानसिक स्वास्थ्यमा ठूलो असर पार्छ ।

जेनजी आन्दोलनका क्रममा फैलिएका झुटा खबरहरू जस्तै: ‘भारतले नेपालमा सेना पठायो’ जस्ता अतिवादी दाबीहरूले सामान्य मानिसमा डर र अराजकता फैलाएको थियो ।

यी भ्रामक वा अतिरञ्जित सामग्रीहरूले तत्कालका लागि तनाव त बढाए साथै यसले दीर्घकालीन मानसिक स्वास्थ्य समस्या निम्त्याउने खतरा पनि छ । यस्ता सूचनाले मानिसको मनोविज्ञानमा गहिरो असर पार्छन्।

चिकित्सकहरूका अनुसार सामाजिक सञ्जालमा फैलिएका मिथ्या सूचनाहरूले चिन्ता, तनाव र मनोवैज्ञानिक आघात बढाउँछन्, विशेष गरी युवा पुस्तामा ।

तत्कालीन प्रभाव : तनाव र आघात

आन्दोलनका घटनाहरू हेर्दा वा सुन्दा मानिसहरूमा तत्कालीन मनोवैज्ञानिक प्रतिक्रिया देखिने मनोविद् विनोद ढकाल बताउँछन् । ‘जब सोसल मिडियामा भ्रामक र अतिरञ्जित सूचनाहरू आउँछन्, हिंसात्मक दृश्यहरू, मानिसहरूको छटपटाहट, गोली लागेका बालबालिकाहरू आदि यी सबैले प्रत्येक व्यक्तिलाई आघातको अवस्थामा पुर्‍याउँछ’ ढकाल भन्छन्, ‘यो साइकोलोजिकल ट्रमा हो, जसले दैनिक जीवनलाई प्रभावित गर्छ । निद्रा लाग्दैन, निदाइहाले पनि सपनामा त्यही कुरा आउँछ ।’

उनका अनुसार यस खालको मानसिक आधातले भोक नलाग्ने, कुनै काम गर्न मन नलाग्ने, मनमा अनेक कुरा खेल्ने लगायतका समस्या देखा पर्छ । यस्तोमा झन भ्रामक समाचारले मानिसको सोच्ने तरिका नै परिवर्तन गर्नसक्ने उनको भनाइ छ ।

उदाहरणका लागि आन्दोलनको दोस्रो दिन दिउँसोतिर एउटा हल्ला फैलियो-संसद भवनभित्र अघिल्लो दिन हराइरहेका ३२ जना विद्यार्थीको शव भेटियो ।केही घण्टासम्म धरैले यसलाई विश्वास गरे । यसले आन्दोलनकारीलाई थप उत्तेजित र आक्रोशित बनायो । अन्यलाई पनि मानसिक रूपमा थप विक्षिप्त बनायो ।

भ्रामक समाचारहरूले मनोबल गिराउने, एन्जाइटी बढाउँने साथै डर र निराशा पैदा गराउने मनोचिकित्सक अनमोल कार्की बताउँछन् ।

‘निद्रा लाग्दैन, भोक लाग्दैन’ कार्की भन्छन्, ‘आन्दोलन भएको एक हप्तापछि पनि रगत बगिरहेका भिडियोहरू सामाजिक सञ्जालमा भेटिन्छन्, जसले बारम्बार हेर्दा मनोवैज्ञानिक असर पार्छ।’

यस्ता खालको प्रभाव पर्ने कुरा अध्ययनहरूबाट समेत पुष्टि भएको उनको भनाइ छ । नेसलन लाइब्रेरी अफ मेडिसिनमा प्रकाशित एक अध्ययनका अनुसार, भ्रामक सूचनाहरूले चिन्ता वा मनोवैज्ञानिक तनाव बढाउने देखाएको छ ।

मनोचिकित्सक कार्कीका अनुसार टेलिभिजन वा सामाजिक सञ्जालमा घटनाहरू बारम्बार हेर्दा व्यक्ति आघातमा पर्न सक्छ । ‘यो ‘सेकेन्डरी ट्रमा’को रूप हो, जसमा प्रत्यक्ष घटनामा नभए पनि मिडियाबाट प्रभावित हुन्छ’ उनी भन्छन्, ‘जेनजी आन्दोलनका क्रममा फैलिएका झुटा खबरहरूले अभिभावक र बालबालिकामा तत्कालीन डर पैदा गरेको थियो, जसले दैनिक क्रियाकलाप प्रभावित भएको छ ।’

दीर्घकालीन असर : पोष्ट ट्रामाटिक डिसअडर, डिप्रेसन र रेजिलिएन्सको ह्रास

भ्रामक सूचनाको निरन्तर प्रवाहले तत्कालीन तनावलाई दीर्घकालीन समस्यामा बदल्छ । मनोविद् ढकालका अनुसार यदि सामाजिक सञ्जालमा निरन्तर भ्रामक र हिंसात्मक सामाग्री हेरिन्छ भने त्यसले जटिल मानसिक आघात पुग्न सक्छ ।

प्रत्यक्ष घटनामा संलग्न नभए पनि त्यो सामाग्री हेरेर मनमा चोट पर्न सक्छ । यसले ‘रेजिलिएन्स’—पहिलेकै अवस्थामा फर्कने क्षमतालाई कमजोर बनाउँछ । बारम्बार यस्ता सामाग्री हेर्दा सामान्य अवस्थामा फर्कन गाह्रो हुन्छ ।

‘लामो समयसम्म यस्ता सूचनाहरू हेर्दा दैनिक जीवन प्रभावित हुन्छ’ ढकाल भन्छन्, ‘पोस्ट–ट्रामाटिक स्ट्रेस डिसअर्डर, डिप्रेसन, एन्जाइटीका लक्षणहरू विकास हुन सक्छन् । प्रदर्शनकारीहरूमा त झन् पूराना घटनाको याद, नराम्रा सपना र डर पैदा हुन्छ ।’

बारम्बार एउटै कुरा हेर्दा भविष्यप्रति चिन्ता बढ्ने, हिम्मत कम हुने र दैनिक क्रियाकलापमा असर गर्ने मनोचिकित्सक कार्की बताउँछन् । यसले लामो समयसम्म असर गर्ने उनको भनाइ छ ।

संकटकालीन अवस्थामा मिडिया एक्सपोजरले पोस्ट–ट्रामाटिक स्ट्रेस डिसअर्डरको जोखिम दुई-तीन गुणा बढ्ने कुरा अध्ययनले देखाएको कार्कीको भनाइ छ ।

जेन जी आन्दोलनपछि केही बालबालिकामा खाना नखाने, चिच्याउने, ननिदाउने लक्षणहरू देखिएको भन्ने कुरा आइरहेको मनोचिकित्सक बताउँछन् । यसले अभिभावकहरूलाई समेत थप तनाव दिइरहेको छ।

स्टाटिस्टिक्स क्यानडाको एक अध्ययनले पनि मिथ्या सूचनाहरूले जनतामा मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने देखाएको छ ।

भ्रामक समाचारबाट बच्ने उपाय

देशमा भइरहेको परिवर्तनको विषयमा जिज्ञासा स्वाभाविक भएकाले त्यस्तो जिज्ञासा नमेटिँदा छटपटी बढ्छ । यस्तो अवस्थामा त्यो जिज्ञासालाई मेटाउनका लागि आधिकारिक मिडिया र सरकारी विज्ञप्तिहरूमा निर्भर रहनुपर्ने मनोविद् ढकाल बताउँछन् ।

‘किनकि सामाजिक सञ्जालमा फैलिने जानकारीमा अतिरञ्जन वा झुट हुन सक्छ’ ढकाल भन्छन्, ‘जस्तो सूचनाका लागि नेपाल प्रहरीको आधिकारिक फेसबुक अकाउन्ट अथवा कुनै मन्त्रालयको वेबसाइटमा जान सकिन्छ ।’

भ्रामक र अतिरञ्जित सामाग्रीहरू हेर्दा हुने मानसिक समस्याबाट बच्न आफ्नो हेरचाहमा पनि ध्यान दिनुपर्ने उनी बताउँछन् । ‘दैनिक व्यायाम गर्ने, श्वासप्रश्वासको अभ्यास, परिवार वा साथीहरूसँग कुराकानी गर्नुपर्छ’ ढकाल भन्छन्, ‘यसले दबिएका भावनाहरू बाहिर निकाल्छ र पोस्ट–ट्रामाटिक स्ट्रेस डिसअर्ड जस्ता समस्याबाट जोगाउँछ ।’

कुनै पनि कुरालाई अतिरञ्जित गरिएका छन् भने तीबाट सचेत रहनुपर्छ । किनकि त्यहाँ भ्रामक जानकारी हुन सक्छ । यस्ता समाचारलाई तुरुन्तै विश्वास नगरी विस्तृत जानकारी लिन उनको सुझाव छ ।

भ्रामक सामग्रीको प्रभावबाट बच्न आधिकारिक न्युज पोर्टलहरूबाट मात्र समाचार पढ्ने मनोचिकित्सक कार्की बताउँछन् । ‘कुनै समाचार वा दाबी पढ्दा त्यसको मूल स्रोत पत्ता लगाउनुपर्छ’ कार्की भन्छन्, ‘कसले भन्यो ? कहाँबाट आयो ? लगयतको कुरामा पनि सचेत हुनुपर्छ । यदि समाचारमा स्रोत उल्लेख छैन वा अस्पष्ट छ भने विश्वास गर्नुहुँदैन।’

उनका अनुसार एउटै कुरा बारम्बार हेर्नुहुँदैन । जिज्ञासा सीमित राख्नुपर्छ । यस्तो गर्दा पनि तनाव बढ्यो, निद्रा लागेन वा अन्य समस्या भए मनोविज्ञान वा मनोचिकित्सकसँग परामर्श लिनुपर्छ ।

सामाजिक सञ्जालमा भाइरल भएका पोस्टहरू तुरुन्तै सेयर गर्न नहुने कार्की बताउँछन् । फोटो, भिडियो वा स्क्रिनसटहरूको सत्यता जाँच्नुपर्ने कार्कीले सुझाए ।

भ्रामक समाचार
लेखक
सुमित्रा लुईटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय