+
+
Shares

नेवानिसँग छन् ४ जहाज, दुइटा ‘ग्राउन्डेड’

दुइटा जहाज ग्राउन्डेड भएर अन्तर्राष्ट्रिय उडानमा समस्या भोगिरहेको निगमलाई सरकारले भने ठूलो जहाज भैरहवा विमानस्थलमा उडाउन निर्देशन दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १९ गते २०:३६

१९ असोज, काठमाडौं । जम्माजम्मी ४ थान जहाजबाट अन्तर्राष्ट्रिय उडान गरिरहेको नेपाल वायुसेवा निगम (नेवानि) का दुइटा जहाज ‘ग्राउन्डेड’ भएपछि यात्रु मारमा परेका छन् ।

निगमसँग दुइटा वाइडबडी (एयरबस ३३०–२००) र दुइटा न्यारोबडी (एयरबस ३२०–२००) गरी ४ जहाज छन् । तर, तीमध्ये एउटा वाइडबडी र एउटा न्यारोबडी अहिले ग्राउन्डेड रहेको निगम स्रोतले जानकारी दियो ।

निगमको दर्ता नम्बर ‘९एक्स–एकेडब्लू’ न्यारोबडी १४ असोजदेखि साउदी अरबको दम्माममा ग्राउन्डेड छ ।

त्यस्तै दर्ता नम्बर ‘९एन–एएलवाई’ वाइडबडी जहाज पनि आज आइतबार बिहानदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएको स्रोतले जानकारी दियो ।

जहाजमा चरा ठोक्किएर (बर्ड स्ट्राइक) का कारण दम्माममा ५ दिनदेखि न्यारोबडी ग्राउन्डेड भएको निगमका प्रवक्ता सुवास डाँगीले जानकारी दिए ।

त्यो जहाज मर्मत भइरहेको र मंगलबारसम्म काम सकिने जानकारी इन्जिनियरिङ विभागले दिएको उनले बताए ।

त्यस्तै आइतबार बिहानदेखि काठमाडौंमा ग्राउन्डेड भएको जहाजमा ‘हाइड्रोलिक आयल लिकेज’ भएको पाइएको उनले बताए ।

‘यसमा पनि केही सामान फेर्नुपर्ने छ, मर्मतको काम भइरहेको छ तर फेर्नुपर्ने सामान मगाउनुपर्ने भएकाले केही समय लाग्ने छ,’ प्रवक्ता डाँगीले भने, ‘एक–दुई दिनमा नै जहाज पुन: उडानमा फर्कने छ ।’

चार जहाजले अन्तर्राष्ट्रिय उडान गरिरहेको निगमका आधा जहाज ग्राउन्डेड भएपछि उडान तालिका नराम्रोसँग प्रभावित भइरहेको छ । निगमले वाइडबडी मार्फत दैनिक नयाँदिल्ली उडान गरिरहेकोमा जहाज ग्राउन्डेड भएपछि ढिलो गरी न्यारोबडी पठाएको छ ।

तर, २ सय ७४ सिट क्षमताको वाइडबडीले उडान गर्ने तयारी भइरहेकोमा त्यहाँ न्यारोबडी पठाउँदा ठूलो मात्रामा यात्रु ओराल्नु परेको निगम स्रोतले बतायो ।

‘काठमाडौं र दिल्ली दुवैतिर एक–एक सयभन्दा बढी यात्रुलाई अफलोड गर्नुपरेको छ,’ स्रोतले भन्यो, ‘यसले निगमको तालिका मात्रै होइन, साख पनि नराम्रोसँग प्रभावित बनाएको छ ।’

अन्तर्राष्ट्रिय जहाजबाट आन्तरिक उडान गर्न सरकारको निर्देशन

दुइटा जहाज ग्राउन्डेड भएर अन्तर्राष्ट्रिय उडानमा समस्या भोगिरहेको निगमलाई सरकारले भने ठूलो जहाज भैरहवा विमानस्थलमा उडाउन निर्देशन दिएको छ ।

भैरहवामा धेरै यात्रु अलपत्र परेको भन्दै मुख्यसचिव एकनारायण अर्यालको पहलमा निगमलाई अन्तर्राष्ट्रिय उडानका जहाजबाट भैरहवा उडान गर्न निर्देशन दिइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेले जानकारी दिए ।

‘भैरहवा विमानस्थलमा धेरै मानिस अलपत्र परेको भन्ने रिपोर्ट आयो, त्यसपछि प्रधानमन्त्रीज्यूको निर्देशनमा मुख्यसचिवज्यूले पनि निगमले उडान गर्न सक्छ कि भन्नुभयो, त्यही अनुसार हामीले निगमलाई भनेका हौं,’ उनले भने, ‘आजै उडान गर्ने भनिए पनि निगमसँग जहाजको उपलब्धता नभएपछि भोलि त्यस्तो उडान हुने भएको छ ।’

बीपी लगायत मुख्य राजमार्ग बन्द भएर यात्रु पूर्वी भेगमा अलपत्र परेको अवस्थामा भैरहवामा चाहिँ किन ठूला जहाजबाट उडान गर्नु परेको भन्ने प्रश्नमा उनले पूर्वमा अन्तर्राष्ट्रिय उडानका लागि विमानस्थल नभएको र भैरहवामा भएकाले त्यहाँ उडान गर्ने तयारी गरेको बताए ।

विगतमा पनि यस्तो उडान गर्ने गरेकाले अहिले पनि प्रधानमन्त्रीकै सरकारले विशेष उडान गरेर यात्रुलाई राहत दिन खोजेको उनको भनाइ थियो ।

आइतबारदेखि राजमार्गहरू नै सञ्चालन भइसकेको अवस्थामा निगमको उडान तालिका प्रभावित हुने गरी आन्तरिक उडान किन गर्नुपरेको भन्ने प्रश्नमा उनले निगमको उडान तालिका प्रभावित नहुने गरी भैरहवा उडान गर्न भनिएको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?