+
+
Shares

संसारलाई चिम्पान्जी चिनाउने गुडाल रहिनन्

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २० गते १५:०६

विश्वकै सर्वाधिक चर्चित चिम्पान्जी विज्ञ जेन गुडालको निधन भएको छ । यहीँ अक्टोबर १ मा ९१ वर्षको उमेरमा गुडालको निधन भएको जेन गुडाल इन्स्टिच्यूटले एक विज्ञप्तिमार्फत पुष्टि गरेको छ ।

अमेरिकाको लस एन्जल्समा एक प्राध्यापन भ्रमणमा रहेको बेला प्राकृतिक कारणले उनको निधन भएको बताइएको छ । जेन गुडालको आफ्नो जिवनभर वन्यजन्तु, वनजंगल तथा पर्यावरणको रक्षाका लागि संघर्ष गरिन् ।

पूरा नाम डेम भेलरी जेन मरिस गुडालको जन्म सन् १९३४ को अप्रिल ३ मा बेलायतको लण्डनमा भएको थियो । बाल्यकालदेखि नै उनी जनावरप्रेमी थिइन् ।

उनलाई सन् १९२० को पुस्तक द स्टोरी अफ डाक्टर डुलिटल निकै मन परेको थियो, जसमा एकजना डाक्टरले जनावरसँग कुराकानी गर्दथे । अफ्रिकाको जंगल तथा वन्यजन्तुहरूको रहस्यले उनलाई सदैव आकर्षित गर्दथे ।

उनी सन् १९५७ मा केन्याको भ्रमणमा गइन् । त्यहाँ उनले प्राचीन मानवविज्ञ अर्थात् प्यालियोएन्थ्रोपोलोजिस्ट लुई लिकीसँग परिचय भयो । लिकीले त्यसक्रममा चिम्पान्जी (प्यान ट्रोग्लोडिटिज) को व्यवहारको अध्ययनबाट प्राचिन मानव पूर्वजका बारेमा पत्ता लाग्नसक्ने बताइन् । उनको त्यहीँ कुरा नै गुडालको लागि प्रेरणा तथा आगामी जीवनयात्रा बन्यो ।

गोम्बेमा चिम्पान्जीसँग निकटता: क्रान्तिकारी खोज

गुडाल सन् १९६० मा तान्जानियाको गोम्बे स्ट्रिम राष्ट्रिय निकुञ्ज पुगिन् । त्यसबेला पुरुषको वर्चस्व भएको वन्यजन्तु अनुसन्धानको उक्त क्षेत्रमा गुडालसँग कुनै औपचारिक डिग्री पनि थिएन । तथापि उनले महिनौँसम्म चुपचाप चिम्पान्जीहरूको अवलोकन गरिन् । उनले चिम्पान्जीहरूलाई फिफी, प्यासन तथा डेभिड ग्रेबर्ड जस्ता नाम दिइन् ।

सन् १९९६ एक डकुमेन्ट्रीमा जेनले केवल मानिसको मात्र नभई जनावरको पनि व्यक्तित्व हुने बताएकी थिइन् । उनका अनुसार जनावरहरूले पनि तर्कसँगत रुपमा सोँचविचार गर्न सक्दछन् र खुसी तथा दु:ख महसुस गर्न सक्दछन् ।

एनले सन् १९९६ मा क्याम्ब्रिज विश्वविद्यालयबाट विद्यावारिधी पूरा गरिन् । विद्यावारिधीमा उनको शोध गोम्बे राष्ट्रिय निकुञ्जमा वर्षौँसम्म गरेको चिम्पान्जीको अनुसन्धानकै विषय थियो ।

त्यसमा उनले पत्ता लगाएको एउटा महत्त्वपूर्ण तथ्य के थियो भने चिम्पान्जीले औजार बनाएर उक्त औजारको प्रयोग गर्ने गर्दछ ।

चिम्पान्जीले एउटा हाँगाको सानो छेस्कालाई सफा गरेर त्यसलाई धमिराको गोलोभित्र छिराएर निकाल्ने र उक्त छेस्कोमा टाँसिएका धमिराहरू खाने गरेको उनले अध्ययनका क्रममा देखिन् । त्यो खोजले त्यसबेलाको मान्य सिद्धान्तलाई चुनौति दिएको थियो जसमा केवल मानिस मात्रै बुद्धिमान हुने ठानिन्थ्यो ।

उनले भनेकी थिइन्, ‘हामीले औजारको परिभाषा बदल्नु पर्नेछ, मानिसको परिभाषा बदल्नुपर्नेछ वा चिम्पान्जीलाई मानिस मान्नुपर्नेछ ।’

साथै, उनले चिम्पान्जीले सिकार गर्ने र मासु खाने तथ्य पनि पहिलोपटक पत्ता लगाएकी थिइन् । त्यसअघिसम्म चिम्पान्जीलाई शाकाहारी मानिन्थ्यो, तर त्यो सर्वहारी निस्कियो ।

जेनले चिम्पान्जीहरू एक अर्कामा दु:ख बाँड्नका लागि अंकमाल गर्ने तथ्य पत्ता लगाइन् । उनका अनुसार परिवारको कुनै सदस्यको मृत्यु भएमा चिम्पान्जीहरूले एक अर्कालाई अंकमाल गर्दछन् ।

चिम्पान्जीहरूले एक प्रकारको प्रारम्भिक भाषा पनि विकास गर्दछन् । प्रमुख पोथी चिम्पान्जीले अन्य पोथीका बच्चाहरूको हत्या गर्ने डरलाग्दो तथ्य पनि जेनले पत्ता लगाइन् ।

आफ्नो पुस्तक रिज फर होप: ए स्पिरिचुअल जर्नीमा उनले लेखेकी छिन्: चिम्पान्जीमा पनि क्रुरता हुनसक्छ । उनीहरूमा हामीमाजस्तै प्रकृतिको एक अँध्यारो पहलु हुन्छ ।

पर्यावरणको रक्षा: जेजिआईको स्थापना र विश्वयात्रा

सन् १९७० को दशकबाट जेन गुडालले गोम्बे राष्ट्रिय निकुञ्जका साथै अफ्रिकाभर वन्यजन्तु संरक्षणप्रति चासो व्यक्त गर्न थालिन् । त्यसक्रममा उनले सन् १९७७ मा उनले गैरनाफामूलक संस्था जेन गुडाल इन्स्टिच्यूट (जेजीआई) को स्थापना गरिन् । गोम्बे स्ट्रिम रिचर्स सेन्टरको स्वामित्व पनि जेजिआईमै रहेको छ । यो विश्वकै सबैभन्दा लामो समयसम्म चलेको चिम्पान्जी अध्ययन हो । यसले युवाहरूलाई पर्यावरण संरक्षणबारेमा शिक्षा दिन्छ ।

ऋाफ्नो सक्रिय जिवनकालमा जेन एक वर्षमा करिब ३ सय दिनसम्म त विभिन्न देशमा घुमफिर गर्दथिन् । त्यसक्रममा उनले वन्यजन्तु संरक्षण  तथा पर्यावरण संकटका विषयमा प्रशिक्षण दिन्थिन् । उनको कक्षा प्राय: चिम्पान्जीको पेन्ट हुटिङ अर्थात् एक प्रकारको पुकारबाट सुरु हुन्थ्यो ।

व्यक्तिगत पहलहरूको सामूहिक शक्तिले पर्यावरणलाई बँचाउँछ भन्ने उनको भनाइ थियो । सन् २००२ को टाइम म्यागेजिनमा लेखेको एक निबन्धमा जेनले भनेकी छिन् : हाम्रा् भविष्यको सबैभन्दा ठूलो खतरा भन्नु नै उदासिनता हो ।

युनेस्कोकी महानिर्देशक अड्रे अजौलायले एक विज्ञप्तिमा गुडालले आफ्नो अनुसन्धानबाट सबैलाई शिक्षा सिकाएको र चिम्पान्जीजस्ता ग्रेट एपहरूलाई हेर्ने नजरमै परिवर्तन ल्याइदिएको बताएकी छिन् ।

परिवार तथा विरासत: महिलाहरूलाई प्रेरणा दिने जेन

जेनको परिवारमा बहिनी जूडी वाटर्स, छोरा ह्युगो एरिक (ग्रब) र तीनजना नाति नातिना रहेका छन् । छोरा ग्रबलाई उनले गोम्बेमै हुर्काएकी थिइन् ।

सन् १९७७ मा पिपल म्यागेजिनलाई दिएको अन्तर्वार्तामा उनले चिम्पान्जीको आमा र बच्चाको बन्धनले आफूलाई आफ्नो छोरा ग्रबलाई हुर्काउनमा सहयोग गरेको बताएकी थिइन् । चिम्पान्जीमा आमा र बच्चाको सम्बन्ध निकै बलियो हुने र आफूले त्यहीँ प्रकारले ग्र्रबलाई पालेको उनको भनाइ थियो ।

६० वर्षसम्म चिम्पान्जी लगायतका बाँदरप्रजातिको अध्ययन तथा पर्यावरण संरक्षणमा सन्देश प्रवाह गरेकी जेनले कैयन् महिलाहरूलाई वैज्ञानिक बन्नका लािग प्रेरित गरिन् । उनले संयुक्त राष्ट्रसंघको शान्तिदूत पुरस्कार, टेम्पलटन पुरस्कार, क्योटो पुरस्कार, हब्बार्ड मेडल, वातावरण सम्बन्धी टेलर पुरस्कार, कमान्डर अफ द अर्डर अफ ब्रिटिस एम्पायर तथा सन् २०२५ मा अमेरिकाको राष्ट्रपति स्वतन्त्रता पदक लगायतका विश्वचर्चित पुरस्कार प्राप्त गरेकी छिन् ।

उनले स्थापना गरेको जेजिआईले एक विज्ञप्ती जारी गर्दै जेन गुडाल साहस र दृढताकी प्रतिमूर्ति भएको उल्लेख गरेको छ । उनले जिवनभर वन्यजन्तुको खतराका बारेमा जागरुकता फैलाएको, संरक्षणलाई बढावा दिएको र मानिस, जनावर र प्रकृतिको बीचको सामन्जस्यपूर्ण र टिकाउ सम्बन्धलाई प्रेरणा दिएको विज्ञप्तिमा उल्लेख छ ।

वास्तवमा जेन गुढाल केवल एक वैज्ञानिक मात्र होइनन्, पूरै संसारका लागि एक प्रेरणा थिइन् । उनको विरासत अब चिम्पान्जी, जंगल तथा पर्यावरणमा जिवित रहनेछ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?