+

यी हुन् लगातार तेस्रोपटक टी-२० विश्वकप छनोट खेल्ने नेपाली खेलाडीहरू

२०८२ असोज  २२ गते १७:५६ २०८२ असोज २२ गते १७:५६
यी हुन् लगातार तेस्रोपटक टी-२० विश्वकप छनोट खेल्ने नेपाली खेलाडीहरू

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ओमानमा सुरु भएको आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको रिजनल फाइनलमा नेपालसहित ९ टोली सहभागी छन्।
  • नेपालले पहिलो खेलमा आज बेलुका कुवेतसँग प्रतिस्पर्धा गर्दै विजयी सुरुवात गर्ने लक्ष्य राखेको छ।
  • नेपालको टोलीमा सन् २०२२ को छनोटमा खेलेका ८ खेलाडी छन् ।

२२ असोज, काठमाडौं । ओमानमा आजदेखि आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको रिजनल फाइनल सुरु भइसकेको छ ।

नेपालसहित ९ टोली सहभागी रहने यस प्रतियोगिताबाट ३ टोलीले आगामी वर्ष भारत र श्रीलंकामा संयुक्त रूपमा हुने टी-२० विश्वकपको टिकट काट्ने छन् ।

आफ्नो पहिलो खेलमा नेपालले आजै बेलुका कुवेतको सामना गर्दैछ । नेपाल विजयी सुरुवात गर्दै अघिल्लो चरणमा स्थान पक्का गर्न चाहन्छ ।

नेपालको टोलीमा सन् २०२२ मा भएको विश्वकप छनोटमा खेलेका र अघिल्लोपटक सन् २०२३ को छनोटमा पनि खेलेर नेपाली टोलीलाई विश्वकपमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका खेलाडीहरू अहिले पनि छन् ।

यस्तै सन् २०२२ को छनोटमा खेलेका ज्ञानेन्द्र मल्ल हाल नेपाली टोलीको सहायक प्रशिक्षकका रूपमा छन् । नेपाल सन् २०२२ को छनोटमा यूएईसँग पराजित भएर विश्वकपमा छनोट हुन सकेको थिएन ।

त्यसपछि सन् २०२३ मा भने घरेलु मैदानमै भएको छनोटमा नेपालले यूएईलाई नै हराएर विश्वकपको टिकट काटेको थियो ।

लगातार तीनपटक छनोटमा खेल्ने खेलाडीहरू

नेपालका लागि हाल विश्वकप छनोटमा खेल्दै गरेका ८ जना खेलाडीहरू सन् २०२२ को छनोटमा पनि खेलेका थिए ।

त्यसमा तत्कालीन कप्तान सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्शन झा र लोकेश बम छन् ।

यस्तै सन् २०२४ को टी-२० विश्वकपका लागि २०२३ मा भएको छनोटमा खेलेका यी ८ जनाबाट लोकेश बम र आरिफ शेख बाहिरिँदा करण केसी, सोमपाल कामी, रोहित पौडेल, ललित राजवंशी, सन्दीप जोरा समावेश भए ।

सन् २०२३ मा खेलेका यी ११ खेलाडी हालको टिममा पनि छन् । सन् २०२२ र २०२३ का दुवै छनोटमा खेलेका ६ खेलाडीहरू यसपटक लगातार तेस्रोपटक विश्वकप छनोट खेल्दै छन् । त्यसमा कुशल भुर्तेल, सन्दीप लामिछाने, आसिफ शेख, कुशल मल्ल, गुल्शन झा र दीपेन्द्रसिंह ऐरी छन् ।

सोमपालबाहेक सबै खेलाडीहरूले सन् २०२४ मा पहिलोपटक विश्वकप पनि खेल्ने मौका पाए । सोमपाल कामी भने नेपालका लागि दुवै विश्वकप खेल्ने एकमात्र खेलाडी हुन् ।

पहिलोपटक खेल्नेहरू

नेपालको टोलीमा यसपालि पहिलोपटक विश्वकप छनोट खेल्ने मौका पाएका दुई खेलाडीहरू छन् । मोहम्मद आदिल आलम र नन्दन यादवले पहिलोपटक नेपालका लागि विश्वकप छनोटमा खेल्दै छन् ।

अघिल्ला वर्षहरूमा आदिल आलम प्रतिबन्धमा थिए भने नन्दन अस्ट्रेलियामा बसोबास गर्दै आएका थिए । उनीहरू दुवैका लागि पहिलोपटक विश्वकप खेल्ने मौका पनि अब छ । दुवै खेलाडीहरू विश्वकपमा छनोट हुनेमा विश्वस्त पनि छन् ।

२०२३ को छनोट खेल्ने टोलीमा समावेश नभएका लोकेश यसपटक फेरि टोलीमा फर्किएका छन् ।

नेपाली क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय