News Summary
Generated by OK AI. Editorially reviewed.- पछिल्ला पाँच वर्षमा चिकित्सा विज्ञानले 'रिजेनेरेटिभ मेडिसिन' को युग सुरु गरेको छ जसले शरीरका क्षतिग्रस्त कोष र अंगहरूको पुनर्निर्माण गर्छ।
- नेपालमा पीआरपी, पीआरएफ, स्टिम सेल थेरापी, पीडीआरएन र एक्जोजोम थेरापी प्रविधिहरू उपलब्ध छन् र सस्तो, छिटो र साइड इफेक्टविना उपचार सम्भव छ।
- पुनर्निर्माण चिकित्सा विधिहरूले छाला, कपाल, हड्डी र जोर्नीका समस्याहरूमा सुधार ल्याउने र शरीरको प्राकृतिक पुनर्निर्माण प्रक्रिया बढाउने काम गर्छ।
चिकित्सा विज्ञानमा पछिल्ला पाँच वर्षमा ‘रिजेनेरेटिभ मेडिसिन’ को युग सुरु भएको छ । जसले शरीरका क्षतिग्रस्त कोष, तन्तु र अंगहरूको पुनर्निर्माणमा मद्दत गर्छ ।
बढ्दो उमेर र विभिन्न कारणले शरीरका कोषहरूमा क्षति पुग्दा ‘रिजेनेरेटिभ मेडिसिन’ले ती कोषहरूलाई पुन: स्वस्थ अवस्थामा ल्याउन मद्दत गर्छ । यो पद्धतिमा पीआरपी, पीआरएफ, स्टिम सेल थेरापी, पीडीआरएन र एक्जोजोम थेरापी जस्ता प्रविधिहरू प्रयोग गरिन्छ ।
यी प्रविधिहरूले छाला, कपाल, हड्डी, जोर्नी र विभिन्न स्वास्थ्य समस्याहरूको उपचारमा प्रभावकारी भूमिका खेल्छन् । नेपालमा पनि यी प्रविधिहरू उपलब्ध छन् । नेपालमा सस्तो, छिटो र साइड इफेक्टविना उपचार सम्भव छ । ‘रिजेनेरेटिभ मेडिसिन’ले छालाको एजिङ, घाउ निको पार्ने, कपाल झर्न रोकथाम गर्ने, जोर्नीको दुखाइ कम गर्ने लगायतका समस्याहरूमा सुधार ल्याउँछ ।
यसले शरीरको प्राकृतिक पुनर्निर्माण प्रक्रिया बढावा दिन्छ र विभिन्न रोगहरूको उपचारमा नयाँ आशा प्रदान गर्दछ । केही वर्षयता चिकित्सा विज्ञानले औषधी र लेजर थेरापीको परम्परागत युग पार गरी पुनर्निर्माण चिकित्साको नयाँ युगमा प्रवेश गरेको छ ।
यो पद्धतिले केबल उपचार मात्र नभई शरीरको प्राकृतिक क्षमतालाई प्रयोग गरेर बिग्रिएका वा क्षतिग्रस्त तन्तु तथा कोषहरूलाई पुन: जागृत गरेर पुरानै अवस्थामा ल्याउने काम गर्छ । यो बिग्रिएका कोषहरूलाई ‘रिपियर र रिजेनेरेट’ गर्ने एक सर्वोत्तम उपाय हो ।
के हो पुनर्निर्माण र क्षयीकरण ?
पुनर्निर्माण भनेको कुनै पनि कारणले (उमेर, चोटपटक, रोग, वा औषधिको सेवन) बाट क्षतिग्रस्त भएको अंग, कोष वा तन्तुलाई पूर्ण रूपमा पुरानै सजीव र उत्पादनशील अवस्थामा फर्काउनु हो ।
उदाहरणका लागि, यदि कुनै चोटका कारण शरीरको कोष वा तन्तुमा क्षति भएको छ भने, पुनर्निर्माण चिकित्साले ती क्षतिग्रस्त अंगलाई मूल अवस्थामा ल्याएर त्यसको कार्यक्षमता बहाल गर्छ । यसलाई नेपालीमा ‘पुनर्निर्माण’ वा ‘पुनर्जीवन’ भन्न सकिन्छ ।
क्षयीकरण ती हुन् जुन उमेर बढ्दै जाँदा शरीरका कोषहरू र तन्तुहरूको वृद्धि र विकासको क्षमता घट्दै जान्छ । जसले गर्दा ती तन्तुहरू सुक्दै र खिइँदै जान्छन् । जस्तै: छाला, युवा अवस्थामा छालाको इलास्टिसिटी धेरै हुन्छ र तन्काउँदा तुरुन्तै पुरानो ठाउँमा फर्कन्छ । तर ५०, ६०, वा ७० वर्षको उमेरमा यो क्षमता घट्छ र छालालाई पुरानो अवस्थामा आउन समय लाग्छ । यही नै कोषहरूको क्षमता घटेको संकेत हो ।
क्षयीकरणको अर्को उदाहरण कपाल पनि हो । वयस्कमा कपालको जरा सुक्दै जान्छ र झर्छ । उमेर ढल्किँदै जाँदा (५०/६० वर्षपछि) हाडहरू खिइँदै जानु, जोर्नी दुख्नु वा कुरकुर्याउने हाड खिइनु पनि क्षयीकरण हो ।
जसका कारण मधुमेह, थाइराइड, रक्तचाप र हर्मोनको समस्याजस्ता दीर्घ रोगहरूले पनि शरीरका अंगहरूको मर्मत हुने क्षमता घट्छ । पुनर्निर्माण चिकित्साले यही क्षयीकरण भएर बिग्रिएको तन्तुलाई पहिलेकै अवस्था फर्काउने काम गर्छ ।
पुनर्निर्माण चिकित्साका मुख्य प्रविधिहरू
पुनर्निर्माण चिकित्सामा प्रयोग गरिने प्रविधिहरूलाई मुख्यतया दुई भागमा विभाजन गर्न सकिन्छ । आफ्नै शरीरबाट बनाइएका तत्वहरू जहाँ यी प्रविधिहरूमा सम्बन्धित व्यक्तिकै रगत वा तन्तुबाट पदार्थ निकालेर प्रशोधन गरी पुन: सम्बन्धित व्यक्तिको आफ्नै शरीरमा प्रयोग गरिन्छ ।
यी विधिहरू सस्तो, छिटो हुने र साइड इफेक्ट नहुने मानिन्छन् किनभने तिनीहरू आफ्नै शरीरका तत्व हुन् ।
१.पीआरपी (प्लेटिलेट–रिच प्लाज्मा)
यसमा व्यक्तिको रगतबाट प्लेटिलेट्स युक्त प्लाज्मालाई छुट्याएर निकालिन्छ । जहाँ प्लेटिलेट्समा ग्रोथ फ्याक्टर र अन्य पुनर्निर्माण गर्ने तत्वहरूको उच्च मात्रा हुन्छ । जसले गर्दा नेपालमा पनि यो विधि छालाको सुन्दरता बढाउन, कपाल झर्ने समस्या रोक्न र जोर्नी दुर्खामा प्रयोग भइरहेको छ ।
२.पीआरएफ (प्लेटिलेट–रिच फाइब्रिन) र जीएफसी
यो पीआरपीभन्दा थप उन्नत र केन्द्रित स्वरूपहरू हुन् । यी तत्वहरूमा ग्रोथ फ्याक्टरको कन्सनट्रेसन अझ बढी हुन्छ, जसले गर्दा यी अझ बढी प्रभावकारी हुन्छन् । यो प्रक्रियालाई दूध तताएर दही, मही र अन्तत: खुवा बनाएसँग तुलना गर्न सकिन्छ । जति बढी प्रशोधन भयो, तत्व उति नै केन्द्रित र मिठो (शक्तिशाली) हुन्छ । बाहिरी स्रोतबाट वा जेनेटिक इन्जिनियरिङ गरिएका तत्वहरू यो प्रविधिमा प्रयोग गरिन्छ । प्रयोगशालामा प्रशोधन गरिएका वा बाहिरी स्रोतबाट निकालिएका उच्च क्षमताका पुनर्निर्माण तत्वहरू प्रयोग गरिन्छ ।
३.पीडीआरएन (पोली डियोक्सिराइबोन्यूक्लियोटाइड)
यो न्यूक्लियोटाइडबाट निकालिएको तत्व हो जसलाई जेनेटिक इन्जिनियरिङबाट प्रशोधन गरिएको हुन्छ । यसले कोषहरूलाई तीव्र रूपमा पुनर्निर्माणका लागि उत्तेजित गर्छ र सूजनलाई पनि नियन्त्रण गर्छ ।
४.एक्जोजोम
यो पीडीएनएभन्दा अझ बढी प्रभावकारी मानिने तत्व हो । यसमा कोषहरूबाट निस्किएका साना थोपाहरू हुन्छन् जसमा प्रशस्त मात्रामा प्रोटीन र वृद्धि तथा विकास गर्ने तत्वहरू हुन्छन् । यो वनस्पति वा जनावरको स्रोतबाट प्रशोधन गरेर बनाइन्छ । यो पीडीएनएलेभन्दा चाँडो र शक्तिशाली परिणाम दिन्छ । यद्यपि यो तुलनात्मक रूपमा महँगो प्रविधि हो ।
किन गरिन्छ छालामा पुनर्निर्माण ?
पुनर्निर्माण चिकित्साले छालाको स्वास्थ्य समस्या र सौन्दर्य क्षेत्रमा ठूलो क्रान्ति ल्याएको छ । यसले मुख्यरूपमा बुढ्यौलीपनलाई प्रतिरोध गर्न र छालामा चमक ल्याउन, उमेर, घाम वा अन्य कारणले क्षतिग्रस्त भएको छालालाई चम्किलो र सजीव बनाउन, चाउरीपना र छाला झोलिने समस्या घटाउन मद्दत गर्दछ । यससँगै पुराना घाउको दाग हटाउने, डन्डिफोरको दाग, खत, छिद्रहरू भर्ने र छालाको सतहलाई समान बनाउन मद्दत गर्छ । यस्तै पुरानो घाउ र अल्सर, लामो समयसम्म निको नभएका घाउहरू, पोलेका घाउका खतहरू र खुट्टाका पुराना घाउहरूलाई पुनर्निर्माण गरेर निको पार्न मद्दत गर्नेका साथै कपाल झर्नबाट रोक्ने र कपालको जरालाई पुनर्जीवन गरी नयाँ कपाल उम्रन मद्दत गर्न र छालाको अन्य समस्यामा प्रयोग हुने गर्छ ।
पुनर्निर्माण चिकित्साका तत्वहरू पीआरपी, पीडीएनए, एक्जोजोम छालाको माथिल्लो सतहमा मात्र लगाएर पूर्णरूपमा काम गर्दैनन् । यी तत्वहरूलाई छालाको भित्री तह डर्मिससम्म पुर्याउनको लागि मिहिन सुई प्रविधि वा सूक्ष्म सुईको प्रयोग गरिन्छ । यसलाई मेसोथेरापी पनि भनिन्छ । यसरी प्रयोग गर्दा तत्वहरू सिधै क्षतिग्रस्त कोषहरूमा पुगी पुनर्निर्माणको प्रक्रियालाई तीव्र बनाउँछन् ।
पुनर्निर्माण चिकित्साको युगमा, उपचारको दायरा केवल रोग निको पार्ने मात्र नभई शरीरको क्षमता बढाउने र क्षतिग्रस्त तन्तुलाई पूर्ण रूपमा पुनर्निर्माण गर्ने दिशामा अघि बढेको छ । सबैभन्दा सस्तो र सुरक्षित विधि पीआरपी हो भने, पीडीएनए/एक्जोजोमजस्ता उन्नत प्रविधिहरूले तीव्र र प्रभावकारी परिणाम दिन सक्छन् । यो पद्धति वर्तमान समयको चिकित्सा विज्ञानको शक्ति, वृद्धि र विकासलाई पुनर्जीवन दिने सबैभन्दा आशालाग्दो माध्यम बनेको छ ।
(प्रा. डा. कर्ण छाला, कपाल प्रत्यारोपण तथा सौन्दर्य विशेषज्ञ हुन् ।)
प्रतिक्रिया 4