News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल चेम्बर अफ कमर्स र श्रीलंकाका राजदूत रुवान्थी डेल्पितीयाबीच व्यापार सहजीकरण र हवाई सेवा विस्तारबारे छलफल भएको छ।
- नेपाल र श्रीलंका बीच वार्षिक औसत व्यापार २५ लाख अमेरिकी डलर मात्र रहेको र निर्यात कम रहेको चेम्बर अध्यक्ष कमलेश अग्रवालले बताए।
- चेम्बरले हवाई सेवा विस्तार, पर्यटक प्रवर्द्धन, कृषि, जलविद्युुत्, सूचना प्रविधि र भौतिक पूर्वाधारमा लगानी प्रस्ताव गरेको छ।
९ मंसिर, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोली र नेपालका लागि श्रीलंकाका राजदूत रुवान्थी डेल्पितीयाबीच दुई देशको व्यापार सहजीकरण तथा हवाई सेवा विस्तारबारे छलफल भएको छ । नेपाल र श्रीलंकाबीच हवाई सेवा विस्तार गरेर दुवै देशको पर्यटन प्रवर्द्धनमा लाभ लिन सकिनेबारे छलफल भएको थियो ।
दुई देशबीच कूटनीतिक साथै सामाजिक, सांस्कृतिक र धार्मिक सम्बन्धबारे चर्चा भएको थियो ।
राजदूत डेल्पितीयासँग चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाल श्रीलंकाबीचको व्यापारको आकार वार्षिक औसतमा २५ लाख अमेरिकी डलर मात्रै रहेको र नेपालको निर्यात निकै कम रहेको बताए ।
नेपालले १४ लाख अमेरिकी डलर बराबरको वस्तु श्रीलंकाबाट आयात गर्दा ७ लाख डलरको मात्रै निर्यात गरिरहेको अध्यक्ष अग्रवालले बताए ।
भेटवार्तामा हवाई सेवा विस्तार गरेर पर्यटक आवागमनमा वृद्धि, कृृषि तथा जलविद्युुत्, सूूचना प्रविधि तथा डिजिटल व्यापार, भौतिक पूर्वाधार तथा निर्माण जस्ता क्षेत्रमा लगानी तथा व्यापार सहजीकरण गर्नेबारे राजदूत समक्ष चेम्बरले प्रस्ताव गरेको थियो ।
सातामा कम्तिमा एउटा उडान श्रीलङका–लुम्बिनी तथा लुुम्बिनी– श्रीलंका सञ्चालन गरेर पर्यटक प्रवर्द्धन गर्न सकिने धारणा चेम्बरले राखेको छ । यसबाट श्रीलंकका बौद्ध धर्मावलम्बीलाई नेपालमा आकर्षित गर्न सकिने अध्यक्ष अग्रवालले बताए ।
श्रीलंका भ्रमणका लागि जाने नेपाली पर्यटकलाई फ्री भिसाको व्यवस्था गर्न समेत चेम्बरले आग्रह गरेको छ । चेम्बर पदाधिकारीहरुसँगको भेटवार्ताका क्रममा राजदूत डेल्पितीयाले नेपालसँग व्यापार अभिवृद्धिबारे सम्भावनाका विभिन्न विकल्प तथा सहजीकरणका लागि पहल गरिरहेको बताइन् । श्रीलंकामा आगामी जुनमा हुने अन्तर्राष्ट्रिय व्यापार मेलामा सहभागिता जनाउन चेम्बर पदाधिकारी समक्ष उनले आग्रह गरिन् ।
प्रतिक्रिया 4