News Summary
Generated by OK AI. Editorially reviewed.- जेनजी अगुवा सुदन गुरुङले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी सरकार र जेनजीबीच सम्झौतामा भएको प्रगतिबारे चासो राखेका छन्।
- गुरुङले सम्झौताको प्रक्रिया चाँडो टुंग्याएर राष्ट्रपतिसमक्ष हस्ताक्षर गर्नुपर्ने बताए।
- उनले आन्दोलनमा गएका युवालाई प्रहरीले धरपकड गरेको र धरौटी तिर्न नसक्दा पुर्पक्षका लागि थुनामा जानुपरेको गुनासो राखेका छन्।
२३ मंसिर, काठमाडौं । जेनजी अगुवा सुदन गुरुङले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा गुरुङले सरकार र जेनजीबीच हुन लागेको सम्झौतामा भएको प्रगतिबारे चासो राखेका थिए ।
जेनजी आन्दोलनलाई वैधता दिने गरी सम्झौताको प्रक्रिया चाँडो टुंग्याउनुपर्ने र राष्ट्रपतिसमक्ष हस्ताक्षर गर्नुपर्ने उनको भनाइ छ ।
यस्तै उनले आन्दोलनमा गएकै कारण कतिपय युवालाई प्रहरीले धरपकड गरेको, धरौटी तिर्ने रकम नभएर पनि पुर्पक्षका लागि थुनामा जानुपरेको गुनासो प्रधानमन्त्रीसमक्ष राखेका थिए ।
गुरुङसँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन साहका सचिवालय सदस्य कुमार बेन पनि प्रधानमन्त्री कार्कीलाई भेट्न सिंहदरबार पुगेका थिए ।
नेपाल जेनजी फ्रन्टले २३ र २४ भदौमा भएको जेनजी विद्रोहका माग, जनभावना र राजनीतिक सन्देशलाई संस्थागत रूप दिन तयार गरेको ९ बुँदे विस्तृत सम्झौतापत्रको मस्यौदा २५ कात्तिकमा सरकारलाई बुझाएको थियो ।
तर, जेनजीहरूले बुझाएको यो मस्यौदालाई लिएर निरन्तर संवाद भएपनि निचोडमा पुग्न सकेको छैन । प्रधानमन्त्रीले गएको सोमबारभित्र सम्झौता गर्ने आश्वासन दिएपनि अहिलेसम्म यसले गति लिएको छैन । मंगलबार जेनजी अगुवा गुरुङले सोही सम्झौताको कार्यान्यवनबारे चासो राखेका प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो ।
गुरुङले तत्कालीनका प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ नगरेको भन्दै गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा माग्दै आएका छन् ।
जेनजी आन्दोलनमा दमनको आरोप खेपिरहेकाहरूमाथि अनुसन्धान अघि नबढाइएको भन्दै गुरुङले सरकारप्रति समेत असन्तुष्टि पोख्दै आएका छन् ।
प्रतिक्रिया 4