+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

बर्दियामा युवकको हत्या : लुम्बिनीका पूर्वमुख्यमन्त्री डिल्ली चौधरीका भाइ पेस्तोलसहित पक्राउ

डिल्लीबहादुर चौधरीले पनि अनलाइनखबरसँग संक्षिप्त कुरा गर्दै महाविर आफ्नो सहोदर भाइ भएको जानकारी दिँदै उनी पक्राउ परेको सुनेको बताए ।

जनक विष्ट जनक विष्ट
२०८२ मंसिर २५ गते १०:०७
गोली प्रहार भएको हमार थारु रेष्टुरेन्ट ।

धनगढी । दाङको तुलसीपुर उपमहानगरपालिका–५ का  १९ वर्षीय निरज चौधरीको बर्दिया राजापुरमा भएको हत्या आरोपमा महावीर चौधरी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय राजापुरको संयुक्त टोलीले बुधबार बिहान कैलारी गाउँपालिका–५ को बैजपुरबाट तुलसीपुर–५ कै ५१ वर्षीय महावीर चौधरीलाई पक्राउ गरेको हो । महावीर लुम्बिनीका पूर्वमुख्यमन्त्री एवम् कांग्रेस नेता डिल्लीबहादुर चौधरीका सहोदर भाइ हुन् ।

डिल्लीबहादुर चौधरीले पनि अनलाइनखबरसँग संक्षिप्त कुरा गर्दै महाविर आफ्नो सहोदर भाइ भएको जानकारी दिँदै उनी पक्राउ परेको सुनेको बताए ।

बर्दियाको राजापुरमा रहेको हमार थारू रेष्टुरेन्टमा निरज चौधरीमाथि गोली प्रहार गरी हत्या गरिएको थियो । घाइते अवस्थामा चौधरीलाई उपचारका लागि नेपालगन्ज पुर्‍याएपछि प्रहरीलाई घटनाबारे जानकारी भएको थियो । घटनास्थलमा रहेका महाविर चौधरी भने मोटरसाइकल चढेर कैलालीतर्फ फरार भएका थिए ।

इलाका प्रहरी कार्यालय राजापुर बर्दियाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले कैलाली प्रहरीको समन्वयमा चौधरीलाई हसुलियाबाट पक्राउ गरिएको जानकारी दिए । प्रहरीका अनुसार महाविरको साथबाट पेस्तोल समेत बरामद गरिएको छ । उनको साथबाट बरामद भएको पेस्तोल हत्यामा प्रयोग भए/नभएको पुष्टि हुन भने बाँकी छ ।

डिल्लीबहादुर चौधरीका छोराले सन्चालन गर्ने पोल्ट्री फार्ममा निरजले काम गर्दथे ।

यो घटनामा हमार थारू रेष्टुरेन्ट सन्चालक बुद्धिप्रसाद चौधरी,  उनकी श्रीमती र उनीहरूका छोरा राहुललाई प्रहरीले पक्राउ गरिसकेको छ ।

कैलालीबाट पक्राउ परेका महावीर चौधरी राहुलकै मोटरसाइकल लिएर फरार भएका थिए । उनले प्रयोग गरेको मोटरसाइकल समेत बरामद गरिएको छ ।

लेखक
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?