२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र वरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु आफू भएको बताएका छन् ।
प्रजातन्त्र सेनानी संघको केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरूसँग शनिबार विशालनगरस्थित सम्पर्क कार्यलयमा भएको भेटघाटमा उनले यस्तो बताएका हुन् ।
लामो समयदेखि पार्टीभित्र र बाहिरका फोरमहरूमा युवा पुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नु पर्ने बताउँदै आए पनि सुनुवाइ नभएकाले पछिल्लो परिस्थिति निर्माण भएको नेता कोइरालाले बताए ।
आफूले कोभिड महामारीकै समयदेखि युवाका निम्ति केन्द्रमा २०, प्रदेशमा ३० र स्थानीय तहमा ४० प्रतिशत प्रतिनिधित्वको माग गरेको स्मरण पनि उनले गरे ।
नेता कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलनमा प्रजातन्त्र सेनानीहरूले पुर्याएको योगदानको सधैँ उच्च कदर हुने बताए ।
देश र पार्टी अत्यन्तै कठिन मोडमा उभिएको भन्दै उनले कांग्रेस पार्टी पुनर्निर्माणका लागि अझै सेनानीहरूको अनुभवको सहयोगको खाँचो रहेको पनि बताए ।
‘सयौं योद्धा र युवाको रगत पसिनाले निर्माण भएको पार्टीमा अहिले सैद्धान्तिक विचलन आएको छ,’ कोइरालाले भने, ‘पार्टी भित्र मूल्य, मान्यता र निष्ठाको पनि पुनर्निर्माण जरूरी छ ।’
जिल्ला–जिल्लाबाट आएका सेनानीहरूलाई पार्टीको आशन्न महाधिवेशन र आमनिर्वाचनमा होमिन नेता कोइरालाले निर्देशन दिए ।
प्रतिक्रिया 4