+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
85/10 (19.1)
VS
Lumbini Lions won by 6 wickets
Won लुम्बिनी लायन्स 2025
86/4 (8.6)
Shares

यसरी हुँदैछ एमाले महाधिवेशनमा निर्वाचन

आयोगका अध्यक्ष डा.विजय सुब्बा सोमबार विहानसम्म मतदाता नामावली प्रकाशन गर्न सकिने तर त्यसका लागि आइतबारै प्रतिनिधिको नामावली र केन्द्रीय क्लस्टर आफूहरूलाई चाहिने बताउँछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २७ गते २०:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा (एमाले)को एघारौं महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा आइतबारदेखि शुरु हुँदैछ।
  • पार्टी अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्रमा ‘अध्यक्ष मण्डल’ घोषणा गर्नेछन् जसमा केन्द्रीय सचिवालय समावेश छ।
  • केन्द्रीय निर्वाचन आयोगले पुस १ गते मतदान गर्ने गरी विद्युतीय भोटिङ मेशिनमा उम्मेदवारको नाम सेट गर्ने तयारी गरेको छ।

२७ मंसिर, काठमाडौं । नेकपा (एमाले)को शनिबार भक्तपुरमा उद्घाटन भएको एघारौं महाधिवेशनको बन्दसत्र आइतबारदेखि भृकुटीमण्डपमा शुरु हुँदैछ ।

बन्दसत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘अध्यक्ष मण्डल’को घोषणा गर्नेछन् । यसपटक केन्द्रीय सचिवालयलाई नै ‘अध्यक्ष मण्डल’ मा परिणत गरिएको छ । यसअघिका महाधिवेशनमा बन्दसत्रका लागि अध्यक्ष मण्डल गठन गर्दै आएको थियो ।

केन्द्रीय निर्वाचन आयोगले चुनावी प्रक्रिया शुरु गर्नु अघि अध्यक्ष मण्डलले अध्यक्ष र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई धारणा राख्न दिने तय भएको एक नेताले बताए । पोखरेल पक्षले दस्तावेज प्रस्तुत गर्न पाउने भए पनि त्यसमा छलफल  भने नहुने ती नेताले जानकारी दिए ।

एमालेको विधानमा समन्वय कमिटी, सङ्गठन कमिटी, सल्लाहकार परिषद्, विभाग, सयन्त्र र कार्यदल बाहेकका सबै तहका कमिटी र आयोगहरू महाधिवेशन वा अधिवेशनबाट लोकतान्त्रिक विधि अनुसार निर्वाचित हुने व्यवस्था छ । गत भदौमा गोदावरीमा सम्पन्न विधान महाविधेशनले एक अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिव सहित २५१ सदस्यीय केन्द्रीय कमिटी रहने तय गरेको छ ।

केन्द्रीय निर्वाचन आयोगले महाधिवेशन प्रतिनिधिको प्रमाणित नामावली र केन्द्रीय कमिटीको बनावट (क्लस्टर) प्राप्त भएपछि मात्र काम अगाडि बढाउँछ । किनभने महाधिवेशन प्रतिनिधिहरू नै मतदाता हुन ।

मतदाता नामावली प्रकाशन, दावी विरोधपछि अन्तिम नामावली प्रकाशन हुन्छ । आयोगका अध्यक्ष डा.विजय सुब्बा सोमबार विहानसम्म मतदाता नामावली प्रकाशन गर्न सकिने तर त्यसका लागि आइतबारै प्रतिनिधिको नामावली र केन्द्रीय क्लस्टर आफूहरूलाई चाहिने बताउँछन् ।

केन्द्रीय कमिटीको निर्वाचन कम्तिमा एक तिहाई महिलासहित नेपालको विविधता प्रतिविम्बित हुने गरी गर्नुपर्ने वैधानिक प्रावधान छ । महिला प्रतिनिधित्वको स्वरुप पनि समावेशी चरित्रको हुनुपर्ने व्यवस्था छ । यसपटक केन्द्रीय कमिटीमा युवाको प्रतिनिधित्व बढाउने विषय टुंगिन बाँकी छ ।

कुन क्लस्टरमा कति जना निर्वाचित हुने भन्ने तय भएपछि आयोगले विद्युतीय भोटिङ मेशिनमा प्रविष्ट गर्छ । अन्तिम नामावली र मेशिनमा क्लस्टर सेट गरिसकेपछि उम्मेदवारी आव्हान गर्ने आयोगको तयारी छ ।

उम्मेदवारको नामावली प्रकाशन, दावी विरोध र अन्तिम नामावली प्रकाशन भएपछि फेरि भोटिङ मेशिनमा उम्मेदवारको नाम सेट गर्नुपर्ने हुन्छ । त्यसका लागि करिब १५–२० घण्टा समय चाहिने र उम्मेद्वारको नाम वर्णानुक्रममा राखिनेछन् । पुस १ गते मतदान गर्ने गरी काम भइरहेको अध्यक्ष सुब्बाले जानकारी दिए ।

केन्द्रीय कमिटीका पदाधिकारीका उम्मेदवार स्वत: केन्द्रीय सदस्यको खुलातर्फको उम्मेदवार हुन्छ । त्यस्ता उम्मेदवारको हकमा मतदाताले पदाधिकारी र सदस्य दुवैतर्फ मतदान गर्न पाउँछन् ।

मतदानका लागि एक जनालाई २० देखि २५ मिनेट लाग्ने आयोगका अकिकारीहरूको अनुमान छ । भोट गर्न लाग्ने समय कुन क्लस्टरमा कति उम्मेदवार हुन्छ त्यसले पनि फरक पार्दछ ।

विद्युतीय भोटिङ मेशिन १०० वटा भए पनि आयोगले एक पटक ८० वटा मात्र चलाउने तयारी गरेको छ । महाधिवेशनमा दुई हजार २६२ प्रतिनिधि छन् ।

मत गणनामा भने धेरै समय लाग्दैन । अध्यक्ष सुब्बा भन्छन्, ‘गणना गर्न दुईदेखि तीन घण्टा लाग्ला ! सबैकुरा हामीले भने जस्तो भयो भने पुस १ ते राती वा दुई गतेसम्म नतिजा आईसक्छ ।’

महाविधेशनबाट निर्वाचित केन्द्रीय कमिटीले शपथग्रहण गरेपछि पुरानो केन्द्रीय कमिटी स्वत: विघटन हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?