+
+
Shares

बैंक तथा वित्तीय संस्थाको नाफामा ८० प्रतिशत हिस्सा ओगट्दै ‘प्रोभिजन फिर्ता रकम’

बैंक तथा वित्तीय संस्थाले विगतका वर्षमा गरेको कर्जा नोक्सानी व्यवस्थाको फिर्ता रकम १७ अर्ब २ करोड छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २८ गते १९:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चालु आर्थिक वर्ष कात्तिकसम्म बैंक तथा वित्तीय संस्थाले २१ अर्ब ३१ करोड खुद नाफा गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
  • बैंक तथा वित्तीय संस्थाको नाफामा सबैभन्दा धेरै योगदान कर्जा नोक्सानी व्यवस्थाबाट फिर्ता भएको १७ अर्ब २ करोड रकमले दिएको छ।
  • राष्ट्र बैंकले कर्जा नोक्सानी व्यवस्थामा अपनाएको खुकुलो नीतिले जोखिम फिर्ता रकम बढेको र सम्पत्तिको गुणस्तर कमजोर भएको छ।

२८ मंसिर, काठमाडौं । बैंक तथा वित्तीय संस्थाको नाफामा सबैभन्दा धेरै योगदान कर्जा नोक्सानी व्यवस्थाबाट फिर्ता भएको रकम देखिएको छ ।

उनीहरूको नाफा नियमित कार्यसम्पादन भन्दा पनि कर्जा नोक्सानीका लागि छुट्याएको पुरानो नाफा फिर्ता गराएर २१ अर्ब पुगेको हो ।

चालु आर्थिक वर्ष कात्तिकसम्म बैंक तथा वित्तीय संस्थाले २१ अर्ब ३१ करोड खुद नाफा गरको नेपाल राष्ट्र बैंकले जनाएको छ । उक्त  अवधिमा बैंक तथा वित्तीय संस्थाले विगतका वर्षमा गरेको कर्जा नोक्सानी व्यवस्थाको फिर्ता रकम १७ अर्ब २ करोड छ ।

पछिल्लो समय राष्ट्र बैंकले लिएको कर्जा नोक्सानी व्यवस्थामा अपनाएको खुकुलो नीतिले पनि जोखिम फिर्ता बढेको हो । बैंक तथा वित्तीय संस्थाको कर्जा अवस्था अनुसार नाफाबाट नोक्सानी व्यवस्था गर्नुपर्छ । उक्त कर्जा असुली भएको खण्डमा उक्त रकम नाफामै फिर्ता हुने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

कोरोना महामारी तथा आर्थिक मन्दीका कारण वित्तीय क्षेत्रको सम्पत्तिको गुणस्तरमा कमी आएको भन्दै केन्द्रीय बैंकले असल कर्जामा पनि १.२५ प्रतिशत कर्जा नोक्सानी गर्नुपर्थ्यो ।

केन्द्रीय बैंकले उक्त व्यवस्था परिवर्तन गर्दै हाल १ प्रतिशत कायम गरेको छ । केन्द्रीय बैंकले यस्तो दर घटाएपछि कर्जा नोक्सानी व्यवस्थाबाट फिर्ता भएको रकम धेरै भएको हो ।

गत कात्तिकसम्म बैंक तथा वित्तीय संस्थाको खुद नाफा गत आवको सोही अवधिको तुलनामा करिब ४ अर्बले थोरै हो । गत आव कात्तिकसम्म उनीहरूको खुद नाफा २४ अर्ब ९९ करोड थियो ।

गत आव सोही अवधिमा बैंक तथा वित्तीय संस्थाको कर्जा नोक्सानी व्यवस्था फिर्ता रकम १६ अर्ब ८८ करोड रुपैयाँ थियो ।

जोखिम व्यवस्था बापत रकम समायोजन गरी नाफामा देखाउन कर्जा अपलेखन, कर्जाको भुक्तानी किस्ताबन्दी वा आंशिक रूपमा भए कर्जा वर्गीकरण अनुरूप कर्जा नोक्सानी व्यवस्था कायम गर्दा भुक्तानी भएको हदसम्मको कर्जाबापत गरिएको कर्जा नोक्सानी र पुनर्संरचना वा पुनर्तालिकीकरण गरिएका कर्जाको साँवा तथा ब्याज भुक्तानी लगातार दुई वर्षसम्म नियमित भए नेक्सानी व्यवस्था गरिएको रकम नाफामा फिर्ता गर्न सकिन्छ ।

त्यसैगरी कर्जा चुक्ता भए तथा सुपरिवेक्षण क्रममा देखिएका कैफियत इजाजतपत्र प्राप्त संस्थाले सुधार गरेको अवस्थामा सम्बन्धित सुपरिवेक्षण विभाग विश्वस्त भए पनि जोखिम व्यवस्था बापत रकम फिर्ता हुने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

पछिल्लो समय केन्द्रीय बैंकले कर्जा नोक्सानी व्यवस्था खुकुलो बनाउनुका साथै कर्जा अपलेखन पनि बढेको केन्द्रीय बैंकले जनाएको छ ।

चालु आव कात्तिकसम्म बैंक तथा वित्तीय संस्थाले जोखिम व्यवस्थाबाट फिर्ता लिएको रकम १७ अर्ब २ करोड छ । उक्त अवधिमा बैंक तथा वित्तीय संस्थाले ८० करोड ९० लाख रुपैयाँ बराबर  कर्जा अपलेखन गरेका छन् ।

त्यस अवधिमा कर्जा अपलेखनपछि जोखिम व्यवस्थाबाट फिर्ता भएको रकमको आकार १५ करोड ७० लाख रहेको केन्द्रीय बैंकले जनाएको छ । सोही अवधिमा बैंक तथा वित्तीय संस्थाको नोक्सानी व्यवस्था बापत नाफाबाट सारेको रकम ४० अर्ब ८३ करोड छ ।

गत आव सोही अवधिमा कर्जा नोक्सानी व्यवस्था बापत रकम २० अर्ब ८२ करोड थियो । गत आवभन्दा पनि चालु आव बैंक तथा वित्तीय संस्थाको सम्पत्तिको गुणस्तर कमजोर भएको छ ।

चालु आव कात्तिकसम्म वाणिज्य बैंकहरूको खुद नाफा १९ अर्ब ३७ करोड छ भने ३४ अर्ब ७९ करोड कर्जा नोक्सानी व्यवस्था गरेका छन् । सोही अवधिमा बैंकहरूको नोक्सानी व्यवस्थाबाट फिर्ता भएको रकम १४ अर्ब ५८ करोड छ ।

कात्तिकसम्म विकास बैंकको खुद नाफा १ अर्ब ७७ करोड छ । सोही अवधिमा ४ अर्ब ८५ करोड कर्जा नोक्सानी व्यवस्था गरेका छन् । उनीहरूको नोक्सानी व्यवस्थाबाट फिर्ता भएको रकम १ अर्ब ९४ करोड छ ।

त्यस्तै सोही अवधिमा फाइनान्स कम्पनीको खुद नाफा १७ करोड छ भने १ अर्ब १७ करोड कर्जा नोक्सानी व्यवस्था गरेको छ । उक्त  अवधिमा बैंकहरूको नोक्सानी व्यवस्थाबाट फिर्ता भएको रकम ४९ करोड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?