News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेत्री बेनिशा हमालले फिल्ममै नभएको कुरा प्रचारका लागि टिजरमा देखाइन्छ भने यस्तो अभ्यासको समर्थन नगर्ने बताएकी छिन्।
- उनले १४ वर्षदेखि कलाकारको रूपमा काम गर्दै आएकी र पेशागत आचरणमा विश्वास गर्ने उल्लेख गरिन्।
- बेनिशाले टिजरमा समावेश संवादप्रति संकेत गरेकी हुन् वा होइनन भन्ने कुरा खुलेको छैन।
काठमाडौं । अभिनेत्री बेनिशा हमालले फिल्ममै नभएको कुरा प्रचारका लागि टिजरमा देखाइन्छ भने आफूले यस्तो अभ्यासको समर्थन नगर्ने र हिस्सा बन्न नचाहेको टिप्पणी गरेकी छिन् ।
सामाजिक सञ्जालमार्फत उनले कुनै फिल्म विशेषको नाम नखुलाउँदै यस्तो स्टाटस लेखेकी हुन् । तर, अभिव्यक्ति दिने कुरामा ‘टाइम एन्ड स्पेस’ को कुरा महत्वपूर्ण हुन आउँछ ।
आफू अभिनित पछिल्लो फिल्म ‘बिगुल’ को टिजर सार्वजनिक भएको २४ घण्टा नबित्दै बेनिशाको यस्तो अभिव्यक्ति आएको हो । जसले गर्दा, बेनिशाको उक्त स्टाटस यसतर्फ लक्षित रहेको बुझ्न सकिन्छ ।
‘फिल्मै नभएको कुरा केवल प्रचारको लागि टिजरमा देखाइन्छ भने म यस्तो अभ्यासको समर्थन गर्दिनँ र त्यसको हिस्सा बन्न चाहन्न’ बेनिशाले लेखेकी छिन् ।
बेनिशा लेख्छिन्, ‘एक कलाकारको रूपमा म यो उद्योगमा १४ वर्षदेखि काम गर्दै आएको छु, र मैले सधैं आफ्नो कामलाई सम्मान गरेको छु । म पेशागत आचरणमा विश्वास गर्छु र मानिसको भावनाको सधैं कदर गर्ने प्रयास गर्छु । यी वर्षहरूमा मैले कहिले राम्रो टिमसँग काम गर्ने अवसर पाएँ, त कहिले कम पेशागत टिमसँग पनि ।’
उनी अघि लेख्छिन्, ‘तर परिस्थिति जस्तोसुकै भए पनि, मैले सधैं मानिसहरूको मूल्य र मर्यादाको सम्मान गरेको छु । एक कलाकारको हैसियतले के साझा गर्ने र के नगर्ने भन्ने सीमाना मलाई स्पष्ट छ । फिल्मसँग सम्बन्ध नै नभएका विषय वा अरूको भावनालाई प्रचारका लागि प्रयोग गर्ने प्रवृत्तिप्रति म असहमत छु । यदि फिल्ममै नभएको कुनै कुरा केवल प्रचारका लागि टीजरमा देखाइन्छ भने, म त्यस्तो अभ्यासको समर्थन गर्दिनँ र त्यसको हिस्सा बन्न चाहन्नँ ।’
‘बिगुल’ को टिजरको अन्त्यमा बेनिशाको आवाजमा भनिएको छ, ‘कुनै पनि हालतमा जेनजीको भावना मर्नु हुँदैन ।’ टिजरमा समावेश यो संवाद अहिलेको राजनीतिक परिस्थितीमा निकै अर्थपूर्ण छ ।
बेनिशाले टिजरमा समावेश यो अभिव्यक्तिप्रति संकेत गरेकी हुन् वा होइनन भन्ने कुरा खुलेको छैन । तरपनि, टिजरमा डबिङ भने उनकै आवाजमा सुनिन्छ । निर्देशक र बेनिशाले यसबारे दर्शकलाई प्रष्ट तुल्याउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4