३ पुस, काठमाडौं । उच्च अदालत, बुटबलले बिहीबार रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश दियो । त्यसक्रममा न्यायाधीशहरू बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले उनलाई तीनवटा शर्त तोकेको छ ।
ती शर्त पालनापछि मात्रै उनी थुनामुक्त हुन पाउनेछन् ।
पहिलो शर्त : उनी व्यक्तिगत वा संस्थागत रुपमा विदेश यात्रा जानुपरेमा अदालतलाई पूर्व जानकारी दिनुपर्नेछ । उच्च अदालतले विदेश जानुपूर्व अनुमति लिएमात्रै पुग्ने आदेश गरेको हो ।
दोस्रो शर्त : उनी थुनामुक्त हुन पछि फैसला बमोजिम थप बिगो र जरिवाना तिर्नुपरेमा तयार भएको कागज गर्नुपर्नेछ । उच्च अदालतले आदेशमा भनेको छ, ‘अदालतबाट फैसला हुँदा ठहरे बमोजिम हुने नै हुँदा बिगोका हकमा थप दायित्व सृजना गरेमा तिर्न बुझाउन मञ्जुर भए सो को कागज गराउनू ।’
तेस्रो शर्त : उच्च अदालतले जिल्ला अदालतले तोकेको धरौटी र सम्भावित विगोको दामासाही बापतको रकम बैंक ग्यारेन्टी मार्फत आउनुपर्ने भनेको छ । तर रवि लामिछानेले शुरुमै त्यो पेश गरिसकेकाले शर्तको रुपमा अघि बढेको देखिँदैन ।
बरु अब जिल्ला अदालतले त्यही बैंक ग्यारेन्टी रुजु गरेर रविलाई थुनामुक्त गर्ने प्रक्रिया अघि बढाउनेछ ।
प्रतिक्रिया 4