१५ पुस, काठमाडौं । भौतिक पूर्वाधार तथा यातयातमन्त्री कुलमान घिसिङले ठेक्का तोड्नु सरकारको बाध्यता रहेको बताएका छन् ।
सडक बोर्ड नेपालको २३औं वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले सरकारले धेरै वर्षसम्म काम नभएका ठेक्का तोडेर व्यवस्थापन गर्ने काम गरिररहेको बताए ।
उनले कम बजेटमा ठेक्का लिने, काम नगर्ने र जनतालाई दुःख दिने काम भएकोले बाध्य भएर ठेक्का तोड्नुपर्ने अवस्था आएको जानकारी दिए ।
उनले सबै निर्माण व्यवसायी गलत भने नभएको बताए । समयमा नै काम गर्ने निर्माण व्यवसायीहरू पनि रहेको उल्लेख गर्दै उनले उनीहरूलाई प्रोत्साहन गर्ने गरेको बताए ।
निर्माणमा समस्या देखिएका केही ऐन र नियामावलीमा संशोधन गर्ने तयारी पनि गरिरहेको उनले जानकारी दिए । निर्माण व्यवसायी विना देशको सम्रग विकास सम्भव नहुने उल्लेख गर्दै मन्त्री घिसिङले निर्माण व्यवसायीलाई प्रोत्साहन गर्नु आवश्यक रहेको बताए ।
विकास बजेट खर्च निर्माण व्यवसायीमार्फत मात्रै हुने उनको भनाइ छ । निर्माण व्यवसायीको क्षमता विकास गर्नतिर ध्यान दिन आवश्यक रहेको पनि उनले बताए ।
‘अहिले हामी जतिपनि निर्माण व्यवसायीहरूलाई धेरै ठाउँमा ठेक्का तोड्ने र ठेक्कालाई व्यवस्थापन गर्ने काम गरिरहेका छौँ । धेरै ठेक्का तोड्ने कामहरु पनि भइरहेको छ । त्यो वास्तवमा हाम्रो वाध्याता हो । वर्षौसम्म काम नभएका ठेक्काहरु तोडिएको हो । धेरै वर्षसम्म काम नहुने र जनतालाई धेरै नै दुःख हुने, धेरै बिलोमा आएर ठेक्का लिने र काम नहुने अवस्थालाई व्यवस्थापन गर्नलाई बाध्य भएर हामीले ठेक्का तोड्नुपर्ने अवस्था हो,’ मन्त्री घिसिङले भने ।
उनले सडक बोर्डमार्फत काम गर्नका लागि धेरै नै माग आउने गरेको बताए । तर बजेट धेरै कम भएकोले मागअनुसार काम गर्न समस्या रहेको उनको भनाइ छ ।
उनले संघीयताको मर्म नबुझ्दा सडक मर्मतका काममा समस्या देखिएको पनि बताए ।
प्रतिक्रिया 4