News Summary
Generated by OK AI. Editorially reviewed.- दार्चुलाको शैल्य मल्लिकार्जुन राष्ट्रिय धाममा माघ २२ गतेदेखि फागुन ३ गतेसम्म शिवपुराण महायज्ञ तथा धार्मिक महोत्सव हुने भएको छ।
- महायज्ञका लागि १०१ सदस्यीय मूल आयोजक समिति बनेको छ र दानबाट अक्षय कोष र गौशाला निर्माण गर्ने लक्ष्य राखिएको छ।
- दान गर्नेहरूलाई प्रमाणपत्र, फुलमाला, रुद्राक्ष माला र शिलालेखमा नाम लेखिने गरी विभिन्न सम्मान गरिनेछ।
१५ पुस, काठमाडौं । शैल्य मल्लिकार्जुन राष्ट्रिय धाम मालिकार्जुनमा शिवपुराण महायज्ञ तथा धार्मिक महोत्सव हुने भएको छ । आगामी माघ २२ गतेदेखि फागुन ०३ गतेसम्म धार्मिक र पवित्र महायज्ञ तथा धार्मिक महोत्वस हुन लागेको हो ।
देशकैं सातौ राष्ट्रिय धाम मालिकार्जुनमा हुन लागेको महायज्ञ तथा धार्मिक महोत्वसमा नेपालसँगै भारतका भक्तजनलाई ल्याउने लक्ष्य लिइएको छ ।
धर्म, जात, वर्ग, क्षेत्र नहेरी सबैको सहभागिता स्वागतयोग्य रहेको मूल आयोजक समिति संयोजक तथा मालिकार्जुन धामका पुजारी दुर्गादत्त विष्टले जानकारी दिए ।
महायज्ञमा जो कोहीले समेत आउन सक्ने र सक्नेले आफ्नो इच्छा अनुसार दान, भेटी दिन सकिनेछ । महायज्ञ सम्पन्न गर्नका लागि विष्टको संयोजकत्वमा १०१ सदस्यीय मूल आयोजक समिति बनेको छ ।
महायज्ञबाट उठेको दानले अक्षय कोषको स्थापना गरिनेछ । पर्यटन तथा धार्मिक विकासका लागि उक्त कोषको स्थापना गरिने भएको हो ।
त्यस्तै महायज्ञबाट उठेको पैसाले गौशाला समेत निर्माण गर्ने उद्देश्य लिइएको छ । मन्दिरमा हरेक दिन चढाउन आवश्यक पर्ने दुधका लागि समेत गौशाला निर्माण गर्ने लक्ष्य लिइएको हो । महायज्ञमा चर्चित कथावाचकहरूलाई आमन्त्रण गरिनेछ समितिले जनाएको छ ।
महायज्ञमा दान गर्नेहरूलाई विभिन्न खालको सम्मान समेत राखिनेछ । जसमा रु ११०० दान गर्नेको हकमा प्रमाणपत्र र फुलमालासहित सम्मान गरिनेछ । त्यस्तै २१०० दिनेको हकमा प्रमाणपत्र, फुलमाला र रुद्राक्ष मालासहित सम्मान, ५१०० दिनेको हकमा प्रमाणपत्र, फुलमाला, रुद्राक्षमाला र खादासहित सम्मान गरिनेछ ।
त्यस्तै ११ हजार दान गर्नेको हकमा प्रमाणपत्र, फुलमाला, रुद्राक्षमाला, खादासहित सम्मान गरिनेछ ।
२१ हजारको दान गर्नेको हकमा मालिकार्जुनको फोटो फ्रेमसहित सम्मान, ५१ हजार दान गर्नेको हकमा शिलालेखमा नाम लेखिनेछ । त्यस्तै एक लाख र सोभन्दा माथीको दान गर्नेको हकमा सम्मानसहित तीन पुस्ते अभिखेल शिलालेखमा राखिनेछ आयोजकले जनाएको छ ।
शैल्यशिखर मालिकार्जुन धामलाई सरकारले ‘राष्ट्रको सातौँ धाम’ का रूपमा मान्यता दिएको थियो । प्राचीन ग्रन्थ शिवपुराण र स्कन्दपुराणमा वर्णन भएको यो धामलाई भगवान शिवको पवित्र अवतार मालिकार्जुनको तपोभूमि मानिने गरिएको छ ।
दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका–३ मा अवस्थित यो धाममा वर्षेनी हजारौँ भक्तजन पूजा–आराधनाका लागि पुग्ने गर्दछन् । अषाढ शुक्ल चतुर्दशी, कार्तिक शुक्ल त्रयोदशीलगायत विशेष पर्वमा यहाँ भव्य पूजा, मन्त्रोच्चार र धार्मिक अनुष्ठान आयोजना हुँदै आएको छ ।
प्रतिक्रिया 4