१६ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तोसिमा कार्कीले पार्टीले निर्वाचन आयोगमा पेस गरेको समानुपातिकको बन्दसूचीप्रति आपत्ति जनाएकी छन् ।
पार्टीले समानुपातिकको अवधारणा विपरीत सूची पेस गरेको बताउँदै कार्कीले आफन्तवाद र नातावादको अन्त्य गर्न माग गरेकी छन् ।
उनले समानुपातिकले निषेध नभई समावेश गराउनुपर्ने बताउँदै रास्वपाले पेस गरेको सूचीले समानुपातिक प्रणालीको औचित्यमाथि नै प्रश्न गरेको बताएकी छिन् ।
मध्यराति सामाजिक सञ्जाल फेसबुकमा कर्णाली र सुदूरपश्चिमका नागरिकसँगको तस्वीर पोष्ट गर्दै कार्कीले लेखेकी छन्, ‘समानुपातिकको अवधारणा नै भौगोलिक विकटताले ठाउँ पाओस्, पहुँच र पावर नभएका तर सक्षमहरुले प्रतिनिधित्व पाउन् भनेर राखिएको हो । सूचीले विपन्नलाई पनि ठाउँ दिनुपर्छ । सूचीले कर्णाली बोल्नुपर्छ । सुदूरपश्चिम बोल्नुपर्छ । सूचीले गाउँ बोल्नुपर्छ । तर, पार्टीको नेतृत्वका आफन्तहरु र पार्टीको भाइटल पोष्टमा हुनेहरु नै समानुपातिक सूचीको लागि आकाङ्क्षी हुनु र त्यही आफ्नो स्पेस बनाउनु/बनाइनुले समानुपातिक प्रविधिको औचित्यमाथि नै प्रश्न गरेको छ। समानुपातिकले समावेश गराउनुपर्छ निषेध होइन !’
उनले पार्टीका पदाधिकारीहरुलाई समानुपातिकमा राखिएकोप्रति पनि असन्तुष्टि व्यक्त गरेकी छन् । उनले पार्टीले प्राइमरी भोटिङको धज्जी उडाएको आरोप लगाएकी छन् ।
उनले अघि लेखेकी छन्, ‘फेरि पनि भन्छु-पार्टीको भाइटल पोसिसनमा बस्ने साथीहरुले प्रत्यक्ष चुनाव लड्ने हिम्मत गर्नुपर्छ । अहिले त झन् पार्टी यति ठूलो भएको छ, साथीहरु किन डराउनुभएको ?’
उनले पार्टी पदाधिकारी तथा सचिवालय सदस्यहरुले आ-आफ्नो नाम समानुपातिकको सूचीबाट हटाएर प्रत्यक्ष चुनाव लड्ने हिम्मत गर्नुपर्ने माग गरेकी छन् ।
रास्वपाले समानुपातिकको बन्दसूचीका लागि प्राइमरी भोटिङ गरे पनि त्यसमा अग्रपंक्तिमा रहेका केही व्यक्ति परेका छैनन् । केही सेलिब्रेटीहरु समेटिएका छन् भने पार्टी पदाधिकारी र सचिवालय सदस्यहरु पनि रहेका छन् ।

प्रतिक्रिया 4