२२ पुस, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव राष्ट्रिय सभा सदस्यको निर्वाचनबारे अन्तरपार्टी छलफलमा छन् ।
अध्यक्ष यादवले अनलाइनखबसँग भने, ‘छलफलमै छौं ।’ उनका अनुसार छलफलबाट जस्तो निष्कर्ष निस्कन्छ त्यसअनुसार अगाडि बढिने बताए ।
राष्ट्रिय सभाको निर्वाचनका लागि भोलि उम्मेदवारी दर्ताको समय छ । त्यसअगाडि दलहरू चुनावी गठबन्धन टुंग्याउन लागि परेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टीले जसपा नेपाललाई समेत समेटेर अगाडि बढ्ने गरी भागबण्डाको कसरत गरेका छन् ।
राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल आगामी २० फागुनमा सकिँदैछ । त्यसमध्ये एक जना बामदेव गौतम राष्ट्रपतिबाट मनोनीत सांसद् हुन् । उनको ठाउँका सरकारको सिफारिसमा राष्ट्रपतिले नै अर्को मनोनीत गर्नेछन् । बाँकी १८ पदका लागि आगामी ११ माघमा निर्वाचन हुँदैछ ।
कोशी प्रदेशबाट ३ जना, मधेश प्रदेशबाट ४ जना, बागमती र गण्डकी प्रदेशबाट २/२ जना, लुम्बिनी प्रदेशबाट ३ जना, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट २/२ जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुँदैछ ।
मधेश प्रदेशको मतभारमा कांग्रेस र एमाले पछाडि तेस्रोमा जसपा नेपाल छ । यसकारण यो पार्टीलाई समेत समेटेर उम्मेदवार उठाउनेबारे चार दलबीच छलफल चलिरहेको छ ।
एमालेका उपमहासचिव लेखराज भट्टका अनुसार एमालेले प्रत्येक प्रदेशमा १/१ जना रहनेगरी ७ वटा सिटमा दाबी प्रस्तुत गरेको छ । कांग्रेसले पनि ७ सिट नै लिने र बाँकी ४ सिटमध्ये नेपाली कम्युनिस्ट पार्टीलाई ३ र जसपा नेपाललाई १ सिट दिने गरी गृहकार्य भइराखेको छ ।
प्रतिक्रिया 4