१० माघ, स्याङ्जा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन प्रहरीमा भर्ना हुन अरुचि देखिएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार निर्वाचन सुरक्षाका लागि आवश्यक संख्याभन्दा ८०० निर्वाचन प्रहरी अपुग भएको छ ।
प्रहरीका अनुसार जिल्लामा कुल दुई हजार १२६ जना निर्वाचन प्रहरी आवश्यक रहेकामा हालसम्म एक हजार ३१८ जनाले मात्र आवेदन दिएका छन् । आवेदन दिने क्रममा विभिन्न चरणका परीक्षामा एक सयभन्दा बढी उम्मेदवार अनुत्तिर्ण र अनुपस्थित भएपछि ८०८ जनाको कमी भएको हो ।
निर्वाचन प्रहरीका लागि आवेदन प्रक्रिया पहिलो चरणमा माघ १ गतेसम्म तय गरिएको थियो । तर, अपेक्षित आवेदन नआएपछि माघ ३ गतेसम्म समय थप गरिएको थियो ।
प्रहरीका अनुसार अपुग निर्वाचन प्रहरीका लागि पुन: दुई दिन थप गर्दै आवेदन माग गरिएको छ । उम्मेदवारले शनिबार र आइतबार दुई दिन फारम दर्ता गर्न सक्नेछन् ।
निर्वाचन प्रहरी बन्न इच्छुक उम्मेदवारको उमेर १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ । साथै नेपाली नागरिक हुनुपर्ने, सामान्य लेखपढ गर्न जान्ने, कुनै फौजदारी अभियोगमा सजाय नपाएको, भर्नाका बेला कुनै राजनीतिक दलको सदस्य नभएको तथा शारीरिक र मानसिक रूपमा स्वस्थ हुनुपर्ने सर्त राखिएको छ ।
यसपटक निर्वाचन प्रहरी छनोटमा पूर्वसुरक्षाकर्मीलाई विशेष प्राथमिकता दिइने जनाइएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, विदेशी मित्र राष्ट्रका सुरक्षा निकायबाट सेवा निवृत्त व्यक्ति, पूर्व वन रक्षक तथा २०८१ माघ १ देखि २०८२ पुस मसान्तसम्म सुरक्षा निकायमा विभिन्न पदमा भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकालाई प्रवेशपत्रका आधारमा प्राथमिकतामा राखिने प्रहरीले जनाएको छ ।
यसैगरी, अघिल्ला प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तह निर्वाचनमा म्यादी प्रहरीका रूपमा काम गरी सन्तोषजनक कार्यसम्पादन गरेका व्यक्तिलाई समेत प्राथमिकता दिइने प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।
निर्वाचन मिति नजिकिँदै जाँदा आवश्यक जनशक्ति जुटाउन थप प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
प्रतिक्रिया 4