+
+
WC Series
Nepal Women
0/0
VS
Scotland Women
41/4 (6.6)
Shares

नयाँ प्रतिनिधिसभामा हुने छैनन् अस्तिका दुई तिहाइ सांसद

विघटित प्रतिनिधिसभाका १७० निवर्तमान सांसद चुनावी प्रतिस्पर्धामा छैनन् । अघिल्ला १० जना जति सांसद एकापसमा प्रतिस्पर्धामा छन् । आगामी प्रतिनिधिसभामा करिब दुई तिहाइ निवर्तमान अनुहार बिदा भएर नयाँ आउने निश्चित जस्तै छ ।

कृष्ण ज्ञवाली कृष्ण ज्ञवाली
२०८२ माघ १२ गते ९:२०
प्रतिकात्मक तस्वीर

१२ माघ, काठमाडौं । २१ फागुनको निर्वाचनपछि गठन हुने प्रतिनिधिसभामा अहिलेका करिब दुई तिहाइ सांसदलाई देख्न पाइने छैन । गत भदौमा विघटन भएको प्रतिनिधिसभामा रहेकामध्ये करिब १७० सांसद प्रतिस्पर्धामै छैनन् ।

कतिपय ठाउँमा भने निवर्तमान सांसदहरूबीच नै प्रतिस्पर्धा चलिरहेको छ । चुनावी मैदानमा रहेका निवर्तमान सांसदहरूले अधिकतम ठाउँमा जित्न सक्ने सम्भावनालाई यथावत राख्ने हो भने पनि अब गठन हुने प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिकतर्फ करिब दुई तिहाइभन्दा बढी नयाँ अनुहार आउने निश्चित जस्तै छ ।

‘हो, उम्मेदवार र उनीहरूको पृष्ठभूमि हेर्दा दुई तिहाइजति त नयाँ उम्मेदवार निर्वाचित हुने निश्चित देखियो,’ संघीय संसदका पूर्वमहासचिव मनोहरप्रसाद भट्टराई भन्छन्, ‘अहिले प्रतिस्पर्धा गर्नेमध्ये पनि सबै निवर्तमान सांसदहरु निर्वाचित हुन्छन् भन्ने छैन । कैयौं त निर्वाचनबाटै बिदा भएर प्रतिनिधिसभामा आउन पाउँदैनन् । त्यसो हुँदा नयाँ आउनेहरूको संख्या अझै बढ्न सक्छ ।’

यसरी आउने छन् नयाँ अनुहार

प्रत्यक्ष प्रणालीतर्फ १६५ निवर्तमान सांसदमध्ये ७० जना यो पटक उम्मेदवार छैनन् । ११० समानुपातिकमध्ये बढीमा १० जना मात्रै मैदानमा छन् । २०७९ सालमा निर्वाचित भएका र यो पटक चुनाव लडेका झन्डै १०० निवर्तमान सांसद सबै निर्वाचित हुने सुनिश्चितता छैन । ८ जना पूर्वसांसद आपसी प्रतिस्पर्धामा छन् ।

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवादेखि निवर्तमान उपसभापति धनराज गुरुङ र वर्तमान उपसभापति विश्वप्रकाश शर्मा चुनाव लडेका छैनन् । नेता प्रकाशमान सिंहदेखि आरजु राणा प्रतिस्पर्धामा छैनन् । एमालेमा निवर्तमान उपमहासचिव टोपबहादुर रायमाझीदेखि योगेश भट्टराई अनि विद्या भट्टराईसम्म प्रतिस्पर्धाबाट बाहिर छन् ।

जुम्ला, झापा–२, सर्लाही–४ र धनुषा–३ मा एकभन्दा बढी निवर्तमान सांसदहरू आपसमा प्रतिस्पर्धा गरिरहेकाले उनीहरुमध्ये एक/एक जनामात्रै निर्वाचित हुनेछन् । यी क्षेत्रमा प्रतिस्पर्धा गरिरहेकामध्ये कम्तीमा पनि ६ जना निवर्तमान सांसदहरू प्रतिनिधिसिभामा देखिने छैनन् ।

झापा–२ मा निवर्तमान सभामुख देवराज घिमिरेसहित कांग्रेस समानुपातिक सांसद सरिता प्रसाईं र निवर्तमान उपसभामुख इन्दिरा रानामगर मैदानमा छन् । यीमध्ये दुईजना प्रतिनिधिसभामा पुग्न पाउने छैनन् । सर्लाही–४ मा कांग्रेस सभापति गगन थापा र रास्वपा उम्मेदवार अमरेशकुमार सिंहमध्ये एक जना मात्रै सांसद बन्नेछन् ।

धनुषा–३ मा एमाले निवर्तमान सांसद जुलीकुमारी महतो, कांग्रेसका निवर्तमान समानुपातिक सांसद विमलेन्द्र निधि र रास्वपाका निवर्तमान सांसद मनिष झा प्रतिस्पर्धामा छन् । यी तीन निवर्तमान सांसदमध्ये एक जना मात्रै २१ फागुनपछि प्रतिनिधिसभामा आउने छन्, बाँकी दुईजना प्रतिनिधिसभामा देखिने छैनन् । जुम्लामा राप्रपाबाट ज्ञानेन्द्रबहादुर शाही र रास्वपाबाट विनिता कठायतमध्ये कम्तीमा एक जना प्रतिनिधिसभामा आउन नसक्ने देखिन्छ ।

समानुपातिकबाट कति ?

अघिल्लोपटक समानुपातिबाट निर्वाचित एमालेका कोही पनि सांसद यसपालि प्रत्यक्ष र समानुपातिक सूचीमा छैनन् । तर २०७९ सालभन्दा अघि निर्वाचितहरू भने सुरक्षित रहन समानुपातिक सूचीमा बसेका छन् ।

समानुपातिक सूचीमा रहेका रामबहादुर थापा नयाँ संविधान बनेपछिको प्रतिनिधिसभामा थिएनन् । सूचीमा रहेकी पद्मा अर्याल यसअघि २०७४ सालमा निर्वाचित सांसद हुन् । एमाले, कांग्रेस, रास्वपाले अघिल्लो निर्वाचनको समानुपातिक सूचीलाई दोहोर्‍याएका थिएनन् ।

कांग्रेसबाट अघिल्लो पटक समानुपातिक सूचीमा रहेका डा. प्रकाशशरण महत र विमलेन्द्र निधि मात्रै प्रत्यक्ष प्रतिस्पर्धामा छन् । माओवादी, एकीकृत समाजवादी लगायत अरू समूह मिलेर बनेको नेकपामा पनि समानुपातिक सूचीमा नयाँ अनुहार छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट अघिल्लो पटक समानुपातिकमा निर्वाचितमध्ये ६ जना यसपालि प्रत्यक्ष प्रतिस्पर्धामा छन् । डोलप्रसाद अर्याल काठमाडौं–९, निशा डाँगी झापा–१, विनिता कठायत जुम्ला, इन्दिरा रानामगर झापा–२ र मनिष झा धनुषा–३ मा चुनाव लडेका छन् । रास्वपा त्यागेका सन्तोष परियार प्रगतिशील लोकतान्त्रिक पार्टीको समानुपातिक सूचीमा छन् । सुमना श्रेष्ठ भने यसपालि प्रतिस्पर्धाबाट बाहिर छिन् ।

भट्टराईदेखि शर्मासम्म

अघिल्लो पटक ताप्लेजुङबाट निर्वाचित योगेश भट्टराईको ठाँउमा एमालेले क्षितिज थेबेलाई उम्मेदवार बनाएको छ । पाँचथरमा बसन्त नेम्वाङको ठाउँमा अइन्द्रसुन्दर नेम्वाङ उठेका छन् । इलाम–१ मा अघिल्लो पटक एमालेका महेश बस्नेत निर्वाचित भएका थिए । अहिले काजीमान कागतेलाई उम्मेदवार बनाएको छ ।

झापा–१ बाट अघिल्लो पटक निर्वाचित कांग्रेस उपसभापति विश्वप्रकाश शर्माको ठाउँमा केशवराज पाण्डे उम्मेदवार बनेका छन् । झापाका बाँकी चार निर्वाचन क्षेत्रमा अघिल्लो पटक निर्वाचित उम्मेदवारह पछि यथावत छन् ।

संखुवासभा, तेह्रथुम र भोजपुरमा कांग्रेस एवं माओवादीले अघिल्लो पटक निर्वाचित सांसदहरूलाई यो पटक उम्मेदवार बनाएनन् । संखुवासभामा दीपक खड्काको ठाउँमा कांग्रेसले दिपनकुमार श्रेष्ठलाई उठाएको छ । तेह्रथुममा सीता गुरुङको ठाउँमा सन्तोष सुब्बा उम्मेदवार छन् । भोजपुरमा सुदन किरातीको ठाउँमा एकीकरणपछि बनेको नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले अजम्बर राईलाई उम्मेदवार बनाएको छ ।

मोरङबाट निर्वाचित दुई निवर्तमान सांसद यसपालि प्रतिस्पर्धामा छैनन् । मोरङ–१ मा कांग्रेसले डिगबहादुर लिम्बुको साटो खड्गबहादुर फागोलाई उम्मेदवार बनाएको छ । मोरङ–२ मा एमालेले ऋषिकेश पोखरेलको साटो दिलिपकुमार अग्रवाललाई उठाएको छ ।

सुनसरी–१ मा जनता समाजवादी पार्टीले अशोक राईको साटो उम्मेदवारी दिएन भने सुनसरी–२ मा एमालेले भीम आचार्यको साटो सुजन लामालाई उठायो ।

सोलुखुम्बु, खोटाङ र ओखलढुंगामा अघिल्लो पटक निर्वाचितहरू उम्मेदवार बनेनन् । सोलुखुम्बुमा एमालेले मानवीर राईको साटो कल्पना राईलाई टिकट दिएको छ । माओवादी केन्द्रबाट निर्वाचित रामकुमार राईको साटो यसपालि नेकपाबाट हरि रोकाले टिकट पाएका छन् । ओखलढुंगामा कांग्रेसले रामहरि खतिवडाको ठाउँमा कुमार लुइँटेललाई अघि सारेको छ ।

उदयपुर–१ मा कांग्रेसले डा. नारायण खड्काको साटो बिदुर बस्नेतलाई अघि सारेको छ । सप्तरी–१ मा जसपा नेपालबाट अघिल्लो पटक नवलकिशोर साह सुडी निर्वाचित भएकोमा अहिले श्यामसुन्दर सरदार प्रतिस्पर्धामा छन् । बाँकी तीन क्षेत्रमा पुराना जनप्रतिनिधिसमेत प्रतिस्पर्धामा रहेकाले उनीहरूको प्रतिनिधित्वको सम्भावनालाई पूर्ण रूपमा इन्कार गर्न मिल्दैन ।

दल बदल्नेदेखि माथिल्लो सदन जानेहरू

सिराहाका ४ वटै निर्वाचन क्षेत्रमा निवर्तमान सांसदहरू प्रतिस्पर्धामा छन् । तर दुई जनाले क्षेत्र वा दल बदलेका छन् । सिराहा–२ मा जसपा नेपालबाट निर्वाचित राजकिशोर यादव यसपालि सिराहा–४ पुगेका छन् । सिराहा–४ मा जसपा नेपालबाट निर्वाचित वीरेन्द्रप्रसाद महतो यसपालि जनमत पार्टीबाट प्रतिस्पर्धामा छन् ।

दोलखा, रामेछाप र सिन्धुली–१ मा यसअघि निर्वाचित सांसदहरू प्रतिस्पर्धामा छैनन् । सिन्धुली–२ मा नेकपाका लेखनाथ दाहाल मात्रै दोहोरिएका हुन् । धनुषा–२ मा रामकृष्ण यादवको साटो कांग्रेसले दिनेशप्रसाद यादवलाई प्रतिस्पर्धामा उतारेको छ । बाँकी पूर्वजनप्रतिनिधिहरू यथावत प्रतिस्पर्धामा छन् ।

महोत्तरीका चार निर्वाचन क्षेत्रमध्ये तीन वटामा पूर्वसांसदहरूले प्रतिस्पर्धा गरिरहेका छन् । महोत्तरी–३ मा लोसपाबाट निर्वाचित महन्थ ठाकुर राष्ट्रिय सभा सदस्य हुने निश्चित छ । उनको ठाउँमा नयाँ अनुहार आउने छन् । सर्लाहीमा सबै निवर्तमान सांसदहरू प्रतिस्पर्धामा छन् ।

उपत्यकामा एक तिहाइ नयाँ

बागमतीको रसुवा, धादिङ र नुवाकोटमा निवर्तमान सांसदहरू प्रतिस्पर्धाबाट बञ्चित छैनन् । धादिङ–२ मा भने रामनाथ अधिकारीको साटो कांग्रेसले रमेशप्रसाद धमलालाई उम्मेदवार बनाएको छ । नुवाकोट–२ बाट यसअघि निर्वाचित कांग्रेस सांसद अर्जुननरसिंह केसी समानुपातिक सूचीमा बसेका छन् ।

काठमाडौं उपत्यकाका तीन जिल्लाका १५ निर्वाचत क्षेत्रमध्ये कम्तीमा पाँच वटामा नयाँ अनुहार आउने निश्चित जस्तै छ, किनभने त्यहाँ निवर्तमान सांसदहरू प्रतिस्पर्धामा छैनन् । कांग्रेसले काठमाडौं–१ मा प्रकाशमान सिंहको साटो प्रवल थापालाई टिकट दिएको छ । काठमाडौं–२ मा रास्वपाबाट निर्वाचित सोविता गौतम चितवन–३ बाट प्रतिस्पर्धा गर्दैछिन् ।

काठमाडौं–३ का सन्तोष चालिसे, १० का राजेन्द्र केसी र भक्तपुर–२ का दुर्लभ थापाको साटो कांग्रेसले नयाँ उम्मेदवारहरू अघि सारेको छ । काठमाडौं–९ मा एमालेले कृष्णगोपाल श्रेष्ठको साटो अजय क्रान्ति शाक्यलाई टिकट दिएको छ । बाँकीमा नयाँसहित पुराना सांसदहरू पनि प्रतिस्पर्धामा छन् । ललितपुरका तीनवटै क्षेत्रका निवर्तमान सांसदहरूले मैदान छाडेका छैनन् ।

काभ्रेका दुईवटै निर्वाचन क्षेत्रबाट नयाँ अनुहार आउने छन् । काभ्रे–१ का सूर्यमान दोङ र काभ्रे–२ का गोकुल बास्कोटा यसपालि प्रतिस्पर्धामा छैनन् । नेकपाको एकीकरणका कारण दोङले टिकट पाएनन् भने बास्कोटा एमाले अध्यक्ष केपी ओलीको कोपभाजनमा परे । सिन्धुपाल्चोक–२ मा कांग्रेसले मोहन बस्नेत होइन, वंशलाल तामाङलाई टिकट दियो । मकवानपुरमा निवर्तमान सांसदहरू दीपकबहादुर सिंह र महेश बर्तौला दुवै प्रतिस्पर्धामा छन् ।

रौतहट र बारामा एक जना बाहेक सबै पुराना जनप्रतिनिधि मैदानमा छन् । बारा–२ मा जसपा नेपालका रामसहायप्रसाद यादवको साटो रामकिशोरप्रसाद यादवले प्रतिस्पर्धा गरिरहेका छन् । तर यसअघि एकीकृत समाजवादीबाट निर्वाचित कृष्णकुमार श्रेष्ठ भने यसपालि एमालेबाट प्रतिस्पर्धामा छन् । पर्सा–१ मा प्रदीप यादव जसपाको साटो एमालेबाट प्रतिस्पर्धा गरे । पर्सा–३ मा एमालेले नयाँ उम्मेदवार उठाएको छ ।

चितवन–३ मा विक्रम पाण्डेले छाडे भने बाँकी दुई निर्वाचन क्षेत्रमा रास्वपाका सांसदहरू यथावत प्रतिस्पर्धामा छन् । गोरखाले दुई वटै निर्वाचन क्षेत्रबाट नयाँ सांसद पाउने छ । गोरखा–२ बाट यसअघि निर्वाचित पुष्पकमल दाहाल प्रचण्ड भने रुकुमपूर्वबाट प्रतिस्पर्धामा छन् । मुस्ताङ, मनाङ र लमजुङमा भने निवर्तमान सांसदहरू क्रमश: कांग्रेसका योगेश गौचन थकाली, टेकबहादुर गुरुङ र एमालेका पृथ्वीसुब्बा गुरुङ प्रतिस्पर्धामा छन् ।

कास्कीदेखि कपिलवस्तुसम्म

कास्की–३ मा बाहेक एमालेले बाँकी दुई निर्वाचन क्षेत्रमा निवर्तमान सांसदलाई टिकट दिएन । तीन वटै क्षेत्रमा जितेको एमालेले कास्की–१ मा वैनबहादुर क्षेत्र र कास्की–२ मा रश्मी आचार्यलाई अघि सारेको छ । तनहुँका दुई वटै क्षेत्रमा पुराना सांसदहरू प्रतिस्पर्धामा छन् ।

कांग्रेसले जितेको स्याङ्जा–१ मा भरतराज ढकाल र स्याङजा–२ मा भागवत प्रकाश मल्ल नयाँ प्रतिस्पर्धीको रूपमा जनतामाझ जाँदैछन् । गुल्मी र पाल्पामा पुराना जनप्रतिनिधिसहित नयाँ उम्मेदवारहरूको प्रतिस्पर्धा छ । नक्कली शरणार्थी प्रकरणले टोपबहादुर रायमाझी थुनामा परेका कारण एमालेले अर्घाखाँचीमा पिताम्बर भुसाललाई उम्मेदवार बनाएको छ ।

नवलपरासीको सुस्तापूर्व–१ मा डा. शशांक कोइराला र सुस्तापूर्व–२ मा विष्णुकुमार कार्की नउठेकाले उनीहरूको ठाउँमा नयाँ प्रतिनिधि आउने छन् । सुस्तापश्चिमका दुईवटै क्षेत्रमा विनोद चौधरी र ध्रुवबहादुर प्रधानले प्रतिस्पर्धा छाडेका छैनन् ।

रुपन्देहीका पाँच वटा निर्वाचन क्षेत्रमध्ये तीन वटामा नयाँ अनुहार आउने निश्चित जस्तै छ । एमालेले रुपन्देही–१ मा छविलाल विश्वकर्माको साटो दधिराम न्यौपानेलाई अघि सारेको छ । क्षेत्र नम्बर २ मा विष्णु पौडेल प्रतिस्पर्धामै छन् ।

राप्रपा सांसद दीपक बोहरा दिवंगत भएकाले तय भएको उपनिर्वाचन जेनजी आन्दोलनपछि रोकिएको थियो । लोसपा नेपालबाट प्रतिस्पर्धामा रहेका सर्वेन्द्रनाथ शुक्ला रुपन्देही–४ कै प्रतिस्पर्धामै छन्, तर जसपा नेपालबको उम्मेदवारको रूपमा ।

रुपन्देही–५ मा एमालेबाट निर्वाचित बासुदेव घिमिरे यसपालि प्रतिस्पर्धामा छैनन् । भूमि व्यवस्था मन्त्री हुँदा घुस अडियो प्रकरणमा मुछिएकाले सांसद बलराम अधिकारी यसपालि प्रतिस्पर्धामा छैनन् । कपिलवस्तु–३ का निवर्तमान सांसद मंगलप्रसाद गुप्ता पनि चुनाव लडेका छैनन् ।

थकाइ मारेका चित्रबहादुर र शेरबहादुरहरू

म्याग्दी र बाग्लुङमा पुराना सांसदहरू प्रतिस्पर्धामा दोहोरिएनन् । बाग्लुङ–१ मा जनमोर्चाका चित्रबहादुर केसी र क्षेत्र नम्बर २ मा माओवादी केन्द्रबाट निर्वाचित देवेन्द्र पौडेलले छाडेका छन् ।

प्रत्यक्ष प्रतिस्पर्धा छाडेपछि केसी सुटुक्क समानूपातिकको खसआर्य सूचीमा बसेका छन्, जनमोर्चाले समानूपातिकको थ्रेसहोल्ड कटाएर खसआर्यबाट केसी चयन हुने सम्भावना निकै चुनौतिपूर्ण हो । पर्वतमा एमालेका पदम गिरी यथावत छन् ।

रुकुमपूर्वका सांसद पूर्णबहादुर घर्तीमगर दोहोरिएनन् किनभने त्यहाँ पुष्पकमल दाहालले प्रतिस्पर्धा गरिरहेका छन् । रोल्पा र प्युठानमा क्रमश: वर्षमान पुन र सूर्य थापा सहितका प्रतिस्पर्धी मैदानमा छन् । सल्यानमा भने प्रकाश ज्वालाको साटो रमेशकुमार मल्लले टिकट पाएका छन् ।

दाङ–२ मा नेकपाबाट रेखा शर्मा होइन, निर्मल आचार्यले टिकट पाए । अरू दुई क्षेत्रमा पुराना सांसदहरू प्रतिस्पर्धामा छन् । रुकुमपश्चिममा माओवादी केन्द्रबाट निर्वाचित जनार्दन शर्मा प्रगतिशील लोकतान्त्रिक पार्टीबाट प्रतिस्पर्धा गरिरहेका छन् ।

मुगु, हुम्ला र सुर्खेतले सबै नयाँ सांसदहरू पाउने निश्चित छ, किनभने त्यहाँ निवर्तमान सांसदहरू प्रतिस्पर्धामा छैनन् । मुगुका पूर्वमन्त्री ऐनबहादुर शाही प्रतिस्पर्धामा छैनन् । सुर्खेत–१ मा कांग्रेसका निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर थापाले टिकट लिएनन् । क्षेत्र नम्बर २ मा हृदयराम थानीले प्रतिस्पर्धा नगर्ने घोषणा गरे ।

बाँके–१ मा एमालेका सूर्यबहादुर ढकाल बाहेक क्षेत्र नम्बर २ का राप्रपाका धवल शमशेर जबरा र बर्दिया–२ का स्वतन्त्र सांसद लालवीर चौधरी पनि निर्वाचनमा छैनन् ।

बाजुरामा कांग्रेसका बद्री पाण्डे, बझाङमा एमालेका भानुभक्त जोशी प्रतिस्पर्धामा नभएकाले नयाँ सांसद आउने छन् । अछाममा यसअघि एकीकृत समाजवादीका शेरबहादुर कुँवर निर्वाचित भएकोमा नेकपाले यसपालि भीम रावललाई अघि सारेको छ ।

डोटीबाट निर्वाचित प्रेमबहादुर आले कञ्चनपुरबाट प्रतिस्पर्धा गर्दैछन् । कैलालीका पाँच वटै निर्वाचन क्षेत्रबाट नयाँ अनुहार आउने छन् । कैलाली १, २ र ३ बाट निर्वाचित नागरिक उन्मुक्ति पार्टीका सांसदहरू रञ्जिता श्रेष्ठ, अरुणकुमार चौधरी र गंगाराम चौधरी प्रतिस्पर्धामा छैनन् ।

कैलाली ४ र ५ बाट निर्वाचित कांग्रेसका वीरबहादुर बलायर र डिल्लीराज पन्त पनि चुनावी मैदानमा छैनन् । जुम्ला, कालीकोट, जाजरकोट र दैलेखमा पुराना सांसदहरू प्रतिस्पर्धामा छन् ।

दार्चुलाका दिलेन्द्र बडू र डडेलधुराबाट शेरबहादुर देउवा पनि प्रतिस्पर्धामा छैनन् । मुलुकमा प्रजातन्त्र पुनर्स्थापनापछि डडेलधुराले पहिलो पटक नयाँ जनप्रतिनिधि पाउने छ । कञ्चनपुर १ र २ मा एमाले र कांग्रेसले पुरानै सांसदलाई उम्मेदवार बनाउदा क्षेत्र नम्बर ३ मा पूर्वगृहमन्त्री समेत रहेका रमेश लेखक वञ्चित भए ।

नयाँ अनुहारले के प्रभाव पर्ला ?

संघीय संसद्का पूर्वमहासचिव मनोहरप्रसाद भट्टराई ठूलो संख्यामा नयाँ जनप्रतिनिधि निर्वाचित भएर आए पनि दैनिक अभ्यास र अध्ययनबाट छोटो समयमै विधि–विधानको ज्ञान प्राप्त गर्नसक्ने बताउँछन् ।

‘नयाँ सांसद आउँदा यसअघि पनि संसदीय अभ्यास कमजोर हुने हो कि भन्ने चिन्ता व्यक्त भइरहनु कुनै नौलो कुरा होइन,’ उनी भन्छन्, ‘प्रचुर वक्तृत्व कला भएका र राजनीतिक अभ्यासमा पोख्त बनेकाहरूले त्यसलाई सहजै आत्मसात गर्ने विगतको अभ्यासले देखाइसकेको छ ।’ संसदीय अभ्यासमा सक्रिय हुनेहरूले ४/६ महिनामै आफूलाई अभ्यस्त पार्ने उनी बताउँछन् ।

नयाँ जनप्रतिनिधिको उत्साहजनक उपस्थितिले कतिपय अवस्थामा संसदीय विकृतिमा नियन्त्रण गर्न पनि सहज हुनसक्ने उनको अनुमान छ । त्यसका साथै, उनी दलको नेतृत्व र संसदीय विभाग हेर्ने पदाधिकारीले सांसदहरूलाई आलोचनात्मक चेतसहित रचनात्मक बनाउन सक्ने सम्भावना देख्छन् ।

‘सार्वजनिक रूपमा प्रश्न उठेका कतिपय पुराना सांसद बिदा भएर नयाँ आउदा संसदीय विकृतिमा पनि नियन्त्रण हुनेमा आशावादी हुन सकिन्छ,’ उनी भन्छन्, ‘दलको नेतृत्वमा रहेकाहरूले सांसदहरूको अनुशासन कायम राख्ने र अपराधमा संलग्नलाई संरक्षण नगर्ने हो भने राजनीतिक सरसफाइको सुरुवातका लागि राम्रो अवसर हुनसक्छ ।’

दलका सीमित नेताहरूको पकडमा प्रतिनिधिसभा रहेको भन्दै आलोचना भइरहेको थियो । संसदीय समितिका कतिपय नेतृत्व विवादमा मुछिँदासमेत दलहरूले विकल्प सोचेनन् भने फौजदारी अभियोगमा मुछिएका सांसदले राजनीतिक आडमा उन्मुक्ति पाइरहे । धनराज गुरुङदेखि लेखा समितिका सभापति ऋषिकेश पोखरेल त्यसका उदाहरण हुन् ।

पूर्वमहासचिव भट्टराई नयाँ जनप्रतिनिधिको उपस्थितिलाई अपराधको राजनीतीकरण रोक्ने मौकासमेत हुनसक्ने देख्छन् । ‘विगतमा कतिपय सांसदले अपराध गर्दा सबै छुट पाए । दलहरूले आफ्ना सांसदहरूलाई जवाफदेही बनाएन,’ उनी भन्छन्, ‘जतिसुकै अपराध गरे पनि बचाउने काममा लाग्दा जनतामा आक्रोश देखिएको हो । आगामी दिनमा संसद् कस्तो बनाउने ? संसद्मा प्रतिनिधित्व गर्ने दलको नेतृत्वमा नै भर पर्छ ।

लेखक
कृष्ण ज्ञवाली

न्यायिक र शासकीय मामिलामा कलम चलाउने ज्ञवाली अनलाइनखबरमा खोजमूलक सामग्री संयोजन गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?