News Summary
Generated by OK AI. Editorially reviewed.- धनकुटाको एकल निर्वाचन क्षेत्रमा नेकपा एमालेका राजेन्द्रकुमार राई र नेकपाका धर्मराज पौडेल चुनावी प्रतिस्पर्धामा छन्।
- फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा धनकुटामा १७ जना उम्मेदवार छन् र एमाले, नेकपा, कांग्रेसबीच मुख्य प्रतिस्पर्धा छ।
- धनकुटामा एक लाख १८ हजार ४२५ मतदाता छन् र ११९ मतदानस्थलमा १६६ मतदान केन्द्र तोकिएका छन्।
१६ माघ, धनकुटा । प्रतिनिधि सभामा एक मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटामा दुई जना पूर्वसहकर्मी चुनावी प्रतिस्पर्धामा छन् । उनीहरू हुन्, नेकपा एमालेका केन्द्रीय सदस्य राजेन्द्रकुमार राई र नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य धर्मराज पौडेल ।
फागुन २१ गते हुनलागेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा राई र पौडेलबाहेक अन्य १५ जना उम्मेदवार चुनावी मैदानमा छन् । धनकुटामा एमालेका उम्मेदवार राई र नेकपाका पौडेलसँगै नेपाली कांग्रेसका जिल्ला सभापति दिनेश राई, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का दिनेश भण्डारीबीच प्रतिस्पर्धा हुने चर्चा छ ।
राई र पौडेल कुनैबेला एमालेमै थिए । दुवैजना एकैपटक जनप्रतिनिधि बनेर सँगै काम गरेका पूर्व सहकर्मी पनि हुन् । नेकपा उम्मेदवार पौडेल २०४९ को स्थानीय निकाय निर्वाचनमा धनकुटा जिल्ला विकास समितिको सभापति निर्वाचित भएका थिए । त्यही निर्वाचनमा एमालेका उम्मेदवार राई जिल्ला विकास समितिको सदस्य निर्वाचित भएका थिए । तत्कालीन समयमा उनीहरू दुवै नेकपा एमालेमा थिए ।
२०४८ मा नेकपा माले र नेकपा मार्क्सवादी एकता भएर एमाले बन्नुअघि पौडेल–राई दुवै नेकपा मालेमा थिए । २०५४ मा एमाले विभाजन हुँदा भने केही समय फरक पार्टीमा हुनपुगे । त्यो बेला पौडेल एमालेमै रहँदा राई मालेमा गएका थिए । २०५६ को निर्वाचनपछि एमाले र मालेबीच एकता भएपछि राई फेरि दुवै जना सँगै भएर एकै कमिटीमा काम गरेका थिए ।
२०७८ मा एमाले विभाजन भएपछि भने पौडेल र राई फेरि फरक–फरक पार्टीमा हुनपुगेका थिए । यसरी दुई पुराना सहकर्मी अहिले चुनावी प्रतिद्वन्द्वीका रूपमा आमने–सामने बनेका छन् ।
नेकपाका उम्मेदवार पौडेल २०६४ को पहिलो संविधानसभा निर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार थिए । त्यो बेला उनी तत्कालीन नेकपा माओवादीका उम्मेदवार हरिराज खेवासँग पराजित भएका थिए ।
राई एमालेबाटै २०७० को दोस्रो संविधानसभा, २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका थिए । उनी २०७० को संविधानसभा निर्वाचनमा तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)बाट उम्मेदवार रहेका सुनिल थापासँग पराजित भएका थिए । थापा पछिल्लो समय कांग्रेसमा आवद्ध छन् । यसै पटकको राष्ट्रिय सभामा सांसद पनि बनेका छन् ।
०७४ र ०७९ को प्रतिनिधिसभा निर्वाचनमा भने राई लगातार विजयी भए । उनी एमालेबाट लगातार तीन जित निकाल्दै अहिले ‘ह्याट्रिक’ गर्ने दाउमा छन् ।
राई र पौडेल दुवै अहिले आ–आफ्नै जित हुने दाबी गरिरहेका छन् । राई एमालेको बलियो संगठन र लगातार जितेको विरासतको आडमा फेरि जित्ने दाबी गरिरहेका छन् । विगतमा एमालेबाहेकका शक्तिको गठबन्धन हुँदा पनि आफू जितेको स्मरण गर्दै यो पटक अरू दल एक्लाएक्लै भएकाले आफूलाई झन् सहज भएको बताउँछन् ।
नेकपा उम्मेदवार पौडेल भने जिल्लाको विकासको खाँका आफूसँग मात्रै रहेको दाबी गर्दै मतदाताले विश्वास गर्ने बताउँछन् धनकुटामा एमालेले हालसम्म गरेका काम पनि आफ्नै कारणले सम्भव भएको जनताले बुझेको उनको दाबी छ ।
राई र पौडेलले यस्तो दाबी गरेपनि कांग्रेसबाट उम्मेदवार रहेका दिनेश राईले पनि उत्तिकै चुनौती दिइरहेका छन् । रास्वपा उम्मेदवार दिनेश भण्डारी र हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका सानबहादुर राईको उम्मेदपवारी तथा प्रतिस्पर्धालाई पनि धेरैले चासोपूर्वक हेरिरहेका छन् ।
यहाँ जनता समाजवादी पार्टी(जसपा) नेपालका आइतराज लिम्बु, राप्रपाका वीभत्सु थापा, नेपाल मजदुर किसान पार्टीका उत्तम साखकर्मी, आम जनता पार्टीका प्रेमबहादुर थापा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बालकुमार ताम्ली, जनता समाजवादी पार्टीका निशान राई, नेकपा माओवादीका रविनकुमार राई, राष्ट्रिय परिवर्तन पार्टीका शालिकराम राई र मंगोल नेशनल अर्गनाइजेशनका सागर राई पनि उम्मेदवार छन् ।
यस्तै मनकुमार योञ्जन, जितेन्द्र राई र लाक्पा तामाङले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
धनकुटामा यसपटक एक लाख १८ हजार ४२५ जना मतदाता छन् । जसका लागि ११९ मतदानस्थलमा १६६ वटा मतदान केन्द्र तोकिएका छन् । यस्तै जिल्ला कारागारमा एक र निर्वाचनमा नखटिएका कर्मचारीका लागि थप एक गरी दुई वटा अस्थायी मतदान केन्द्र तय गरिएकोे छ । अस्थायी मतदान केन्द्रमा समानुपातिकको मात्रै मतदान हुनेछ ।
प्रतिक्रिया 4