News Summary
Generated by OK AI. Editorially reviewed.- गण्डकी प्रदेशले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फको उपाधि जितेको छ।
- फाइनल खेलमा गण्डकीले नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि रक्षा गरेको हो।
- महिलातर्फको उपाधि न्यु डायमन्ड स्पोर्ट्स क्लबले जितेको छ र नेपाल पुलिस क्लब उपविजेता बनेको छ।
१७ माघ, काठमाडौं । गण्डकी प्रदेशले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फको उपाधि जितेको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार भएको च्याम्पियनसिपको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकीले उपाधि जितेको हो ।
पहिलो सेट २३–२५ ले गुमाएको गण्डकीले त्यसपछिका तीन सेटमा पुनरामगन जित निकाल्दै उपाधि रक्षा गरेको हो । गण्डकीले दोस्रो सेट २८–२६, तेस्रो सेट २५–२२ र चौथो सेट २५–१७ ले जित निकाल्यो ।
उपाधिसँगै गण्डकीले ६ लाख ६६ हजार ६६६ रुपैयाँ हात पार्यो । फाइनलमा पराजित भएको पुलिसले ३ लाख ६६ हजार ६६६ रुपैयाँमा चित्त बुझायो । तेस्रो भएको पर्वत जिल्ला भलिबल संघले २ लाख ६ हजार ६६६ रुपैयाँ पायो ।
तेस्रो स्थानका लागि भएको खेलमा पर्वत भलिबलले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।
गण्डकीका मुस्ताफा खान प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भए । उनले २६ हजार ६६६ रुपैयाँ प्राप्त गरे । सर्भर अद्नान खान, लिविरो भीमबहादुर गाहा, सेटर बलराम गुरुङ, ब्लकर फहद राज, स्पाइकर फकर वाट्टु, प्रशिक्षक रमेश केसी विधागततर्फ उत्कृष्ट बने । उनीहरुले जनही ११ हजार १११ रुपैयाँ हात पारे ।
महिलातर्फको उपाधि भने न्यु डायमन्ड स्पोर्ट्स क्लबले जितेको थियो । जसमा नेपाल पुलिस क्लब उपविजेता र थाइल्याण्ड क्वीन्स तेस्रो बने ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ ९ गतेदेखि सुरु भएको च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी भएका थिए ।
प्रतिक्रिया 4