+
+
Shares

नेपालमा जापानी स्वयंसेवी : काम सिकाउँदै, खुसी सिक्दै

जापानबाट आएका स्वयंसेवकहरूले नेपालको शिक्षा, स्वास्थ्य, सामाजिक–आर्थिक तथा पूर्वाधार विकासका क्षेत्रमा काम गरिरहेका छन् । यहाँको विकासमा टेवा पुर्‍याउने उद्देश्यले उनीहरू नेपालका विभिन्न क्षेत्रमा खटिएका हुन् ।

दिनेश गौतम दिनेश गौतम
२०८२ माघ २० गते १७:४१

२० माघ, काठमाडौं । काठमाडौंको पुतलीसडकमा सवारी साधनको चाप छ । ट्राफिक प्रहरी जाम व्यवस्थापनमा खटिएका छन् ।

ट्राफिक प्रहरीसँगै बिना बर्दीमा अर्का एक व्यक्ति पनि उभिएका छन् । उनले सवारी चालक र यात्रुलाई ट्राफिक नियम सिकाइरहेका छन् । उनी ट्राफिक प्रहरी होइनन्, तर ट्राफिक प्रहरीझैं सेवारत छन् ।

सडकमा अनुशासनको पाठ सिकाइरहेका उनी जापानिज नागरिक युकी तेरासिमा हुन् । जापानबाट आएका तेरासिमा स्वयंसेवक हुन् । बिहान १० बजेदेखि दिउँसो साढे २ बजेसम्म ट्राफिक प्रहरीसँग मिलेर काम गर्छन् उनी ।

ट्राफिक नियम सिकाइरहेका तेरासिमा

ट्राफिक नियमबारे जनचेतना फैलाउन र सिकाउन तेरासिमा नेपाल आएको १ वर्ष ४ महिना भयो । ‘ट्राफिक नियमको पालना गर्न सिकाइरहेको छु,’ तेरासिमाले भने, ‘धेरैले ट्राफिक नियम पूरा पालना गरेको देखिँदैन । बत्तीको प्रयोग पनि राम्ररी हुँदैन ।’

ट्राफिक नियम पालना गर्ने हो भने दूर्घटना न्यूनीकरण हुने उनको विश्वास छ । जापानमा सिकेको सडक अनुशासन उनले नेपालको सडकमा सिकाउने प्रयास गरिरहेका छन् । प्रत्येकले ट्राफिक नियम सिक्नु र जान्नुपर्ने निष्कर्ष उनको छ ।

‘बालबालिकालाई बाटो काट्ने बेला सावधानी अपनाउन सिकाउनु पर्छ । बाटो काट्दा फोन प्रयोग नगर्न र अभिभावकलाई आफ्ना छोराछोरीलाई ट्राफिक नियम सिकाउनु पर्छ,’ उनी अनुरोध गर्छन्, ‘सबैले ट्राफिक नियमको पालाना गरौं ।’

कम्प्युटर सिकाइरहेकी तानिमोतो

बागलुङमा कम्प्युटर शिक्षकको रूपमा कार्यरत छिन्, होनोका तानिमोतो । उनी पनि जापानिज नागरिक हुन् । तानिमोतो नेपाल आएपछि परिचय फेरिएर ‘माया गुरुङ’ बनेकी छन् । ‘नेपालीले माया गरेर राखेको नाम हो । गुरुङ जस्तै छु रे,’ नेपाली भाषामै उनले भनिन् ।

नेपाल आएको चार महिनामै उनी सहज रूपमा नेपाली भाषा बोल्न सक्ने भएकी छिन् । भाषा जानेसँगै विद्यार्थीलाई कम्प्युटर सिकाउन उनलाई सहज भएको छ । अहिले बागलुङको रामरेखा आधारभूत विद्यालयमा कम्प्युटर पढाउँदै छिन् ।

‘कम्प्युटरको बेसिक कुरा सिकाइरहेको छु । विद्यार्थीले पनि ध्यान दिएर सिकिरहेका छन्,’ उनले भनिन् । तर विद्यालयमा कम्प्युटर भने थोरै छ । भएका कम्प्युटरले पनि राम्रोसँग काम नगरेको गुनासो उनको छ ।

‘१२ वटा कम्प्युटर छन् । केही बिग्रेका छन् । एउटै कम्प्युटरमा ४–४ जना विद्यार्थी राखेर सिकाइरहेको छु,’ उनले भनिन्, ‘इन्टरनेट पनि चल्दैन ।’ दुई वर्षका लागि नेपाल आएकी उनी नेपालमा राम्रो कम्प्युटर शिक्षा दिन आएकी हुन् ।

अंग्रेजी र गणित पढाइरहेकी अन्ना चुसिमा

अन्ना चुसिमा कास्कीको श्री साहारा बाल आधारभूत विद्यालयमा अंग्रेजी र गणित विषय पढाउँछिन् । उनले दुई कक्षाका विद्यार्थीलाई पढाइरहेकी छिन् ।

‘यहाँ श्रमिक परिवारका, गरिबीको रेखामुनि रहेका बालबालिका पढ्छन्,’ उनले भनिन्, ‘अभिभावक बिहानदेखि साँझसम्म काममा हुन्छन् ।’

गरिबको छोराछोरीलाई नेपाल आएर सिकाउन पाएकोमा उनी आफूलाई भाग्यमानी ठान्छिन् । ‘संघ-संस्थाको सहयोगमा यहाँका बालबालिकाले पढ्न पाएका रहेछन्,’ उनले भनिन् । उनले गणित र अंग्रेजी विषयका साथै अतिरिक्त गतिविधि पनि सिकाउने गरेकी छिन् ।

विपद् व्यवस्थापनका सेवक एमासिता

५१ वर्षीय जापनिज नागरिक जुन एमासितालाई नेपाल असाध्यै मन पर्छ । उनी नेपाल आएको १ वर्ष ४ महिना भयो । उनी सिन्धुपाल्चोकको चौतारा नगरपालिका क्षेत्रमा विपद् व्यवस्थापनमा स्वयंसेवकको रूपमा काम गरिरहेका छन् ।

बाढी, पहिरो, भूकम्प र डढेलो न्यूनीकरण तथा रोकथामबारे तालिम दिन्छन् ।

विद्यालयमा समेत पुगेर उनी विद्यार्थीलाई विपद्बाट जोगिने उपाय सिकाउँछन् ।

‘विपद् व्यवस्थापनको तालिम दिइरहेको छु । जोखिम न्यूनीकरणमा सहयोग पुगेको छ,’ उनले भने । भूकम्प र पहिरोको जोखिम रहेको सिन्धुपाल्चोकमा उनी खटिएका छन् । उनी सिनियर स्वयंसेवक हुन् ।

कृषकको साथमा नागिसा

खावाजिरी नागिसा कृषिबारे सिक्न र सिकाउन नेपाल आएको एक वर्ष चार महिना भयो । सुरुका दिनमा नेपालीले गरेको माया देखेर उनलाई अनौठो लाग्थ्यो । ‘नेपालीले धेरै माया दिनुहुन्छ । छिमेकीको पनि माया पाइने रहेछ । सुरुका दिनमा अनौठो लाग्यो । अहिले बानी परेको छ,’ उनले भनिन् ।

उनी स्याङ्जामा सुन्तलाको बारेमा किसानलाई सचेतना फैलाइरहेकी छिन् । सुन्तलाको भण्डारण, परीक्षण, संकलन विधि र टिपाइमा सहयोग गरिरहेकी छन् । उनले सिक्ने र सिकाउने दुवै काम गरिरहेकी छिन् । ‘जापान फर्केर विषादीबिनाको कृषि प्रविधि सिकाउने योजना छ,’ उनले भनिन् ।

भुरा माछा उत्पादनका विज्ञ योयोची

६५ वर्षीय सिनियर स्वयंसेवक योयोची ओहासी दुई वर्षदेखि नेपालमा छन् । माछामा लामो अनुभव भएका उनी भुरा माछा उत्पादनमा विज्ञ हुन् । उनले नयाँ प्रविधि प्रयोग गरेर नेपालको भुरा माछा उत्पादनको सुधारमा सहयोग गरेका छन् ।

उनी मत्स्य अनुसन्धान केन्द्र पोखरामा कार्यरत छन् । यो केन्द्रको भौतिक संरचना पनि जापानले नै बनाएको हो ।

यही केन्द्रबाट ओहासीले माछाको प्रबर्द्धनमा नेपालीलाई सहयोग गरिरहेका छन् । अनलाइन कक्षामार्फत डेढ सयभन्दा बढी नेपाली अनुसन्धानकर्तालाई उनले तालिम दिएका छन् ।

‘ज्ञानको ट्रान्सफर गर्न चाहेको हुँ,’ उनले भने । योयोचीलाई नेपालको कला संस्कृतिले तानेर यहाँ ल्याएको हो । ‘नेपालको कला संस्कृति मन पर्छ । जापानको राम्रो कुरा यहाँ सिकाउने यहाँको राम्रो पक्ष उता गएर सिकाउने हो,’ उनले भने ।

खटिएका छन् १ हजार बढी स्वयंसेवक

जापानबाट यसरी स्वयंसेवक भएर हालसम्म १ हजार ४५७ जना नेपाल आएका छन् । शिक्षा, स्वास्थ्य, सामाजिक–आर्थिक तथा पूर्वाधार विकासका क्षेत्रमा उनीहरू खटिएका छन् ।

१९ देखि ३९ वर्षमुनिका युवा स्वयंसेवक र ४० देखि ६९ वर्षमुनिका सिनियर स्वयंसेवक गरी दुई वर्गका स्वयंसेवक आउने गरेका छन् । नेपाल सरकारसँगको जीटूजी सम्झौता गरेर जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) अन्तर्गत उनीहरू आएका हुन् ।

उनीहरू नेपाल र जापानले एक अर्काबाट धेरै कुरा सिक्न सक्ने अनुभव सुनाउँछन् ।

नेपाल आएका स्वयंसेवकलाई दशैं–तिहार जस्ता चाडपर्व, कला–संस्कृतिको विविधता, अग्ला हिमालय शिखर र नमस्कारको संस्कार मन पर्छ । जापानमा पैसा र नेपालमा खुसी देख्छन् उनीहरू । ‘जापानमा पैसा छ, तर नेपालको जस्तो परिवार छैन,’ उनीहरू भन्छन् ।

तर, जापानमा जसरी काम हुन्छ, त्यसैगरी नेपालीले समयको व्यवस्थापन गरेर काम गर्ने हो भने विकासमा फड्को मार्न समय नलाग्ने उनीहरूको निचोड छ ।

‘नेपालका मानिससँग धेरै फुर्सद हुने रहेछ । जापानबाट नेपालले समयमा काम गर्ने कुरा सिक्न आवश्यक छ । जापानले नेपालबाट कसरी खुसी हुने भनेर सिक्न आवश्यक छ,’ उनीहरूले साझा धारणा सुनाए ।

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?