२३ फागुन, काठमाडौं । देशभर निराशाजनक परिणाम आइरहँदा दैलेख कांग्रेसकी महिला नेतृ बासना थापाले आफूलाई जनतासमक्ष प्रमाणित गरेकी छिन् । बिहीबार भएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम मतपरिणाम केहीबेर अघि सार्वजनिक भएको छ ।
सार्वजनिक मतपरिणाम अनुसार, थापाले १२ हजार ३७२ मत ल्याइन् । उनी अब सिंगो दैलेख जिल्लाको प्रतिनिधि बनेर सिंहदरबारस्थित बन्दै गरेको नयाँ संघीय संसद्मा प्रवेश गर्ने निश्चित भएको छ ।
उनका प्रतिस्पर्धी नेकपा एमालेका रविन्द्रराज शर्माले ११ हजार ७९६ मत प्राप्त गरे । पहिलो प्रयासमै उनले संसद्को यात्रा तय गरेकी हुन् ।
लामो समयदेखि अनुभवी पुरुष नेताहरूले प्रभुत्व जमाइरहेको यो क्षेत्रमा नयाँ पुस्ता र महिला नेतृत्वको सम्भावनालाई अझै ढोका खोलेको छ ।
पहिलो पराजयबाट संसदसम्मको यात्रा
बासना राजनीतिमा पहिलेदेखि नै सक्रिय थिइन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा उनी दैलेखको नारायण नगरपालिकाको उपप्रमुखमा उम्मेदवार बनेकी थिइन् ।
त्यसबेला उनले ४ हजार ८६६ मत प्राप्त गरिन् तर एमालेकी सावित्री मल्लसँग ५७७ मतले पराजित भइन् ।
उही वर्ष भएको प्रतिनिधिसभा निर्वाचनमा भने दैलेख–१ मा कांग्रेसले आफ्नै उम्मेदवार उठाएन ।

एमाले र माओवादी केन्द्रबीच बनेको वाम गठबन्धन बलियो भएपछि कांग्रेसले राप्रपासँग सहकार्य गर्दै दीपककुमार शाहीलाई समर्थन गरेको थियो । तर वाम गठबन्धनका उम्मेदवार रविन्द्रराज शर्मा २३ हजार ७७३ मत ल्याएर विजयी भए ।
२०७९ सम्म आइपुग्दा २०७४ को राजनीतिक समीकरण पूर्णत: बदलिएको थियो । एमाले र माओवादी मिलेर बनेको नेकपा विभाजन भएपछि दुई दलबीचको सम्बन्ध वैमनस्यतासम्म पुगेको थियो । त्यसपछि कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा मिलेर गठबन्धन बन्यो ।
त्यस चुनावमा दैलेख–१ बाट एकीकृत समाजवादीका अम्मरबहादुर थापा उम्मेदवार बने र १८ हजार २०७ मतसहित निर्वाचित भए । त्यसबेला पनि कांग्रेसका मतदाताले आफ्नै ‘रुख’ चिह्नमा मत हाल्ने अवसर पाएनन् ।
१२ वर्षपछि कांग्रेसको आफ्नै उम्मेदवार
दैलेख–१ कुनै समय कांग्रेसको बलियो प्रभाव क्षेत्र मानिन्थ्यो । बहुदलीय व्यवस्थाको पुनर्स्थापनापछि २०४८ र २०५१ का आमनिर्वाचन तथा २०६४ को संविधानसभा निर्वाचनमा कांग्रेस विजयी भएको थियो ।
तर २०७० को संविधानसभा निर्वाचनमा कांग्रेसका उम्मेदवार गणेश खड्का पराजित भएपछि पार्टी कमजोर देखियो ।
त्यसयता पहिलोपटक कांग्रेसले यहाँ आफ्नै उम्मेदवार उठायो । त्यस जिम्मेवारी युवा नेतृ बासना थापाले पाइन् । करिब १२ वर्षपछि कांग्रेसले उठाएको उम्मेदवार नै अन्तत: विजयी भयो ।
काठमाडौंमा जन्मे–हुर्केकी बासना थापा २०५९ सालमा विवाहपछि दैलेख आएकी हुन् । अहिले उनी दैलेखको नारायण नगरपालिकाकी स्थायी बासिन्दा हुन् ।
राजनीतिक चेतना भने उनको परिवारमै थियो । उनका हजुरबुवा नरबहादुर थापा २०१५ सालको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर–१ (हालको क्षेत्र नम्बर–९) बाट निर्वाचित भएका थिए ।
त्यही पारिवारिक विरासत पछ्याउँदै बासना विद्यार्थी राजनीतिबाट कांग्रेसमा सक्रिय भइन् । २०५७ सालमा नेविसंघमा आबद्ध भएकी उनी २०६१ मा दैलेखबाट नेपाली कांग्रेसको क्रियाशील सदस्य बनिन् । त्यसपछि पार्टी संगठन, सामाजिक गतिविधि र समाजसेवामा उनको सक्रियता निरन्तर रह्यो ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा पनि उनले शेखर–गगन समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी थिइन् । त्यहाँ पराजित भए पनि पार्टीभित्र उनको सक्रियता कायम रह्यो ।
कांग्रेसको १३औँ महाधिवेशनकी प्रतिनिधि रहेकी उनी १४औँ महाधिवेशनसम्म आइपुग्दा महासमिति सदस्य भइसकेकी थिइन् ।
राजनीतिक गतिविधिसँगै उनले होटल व्यवसाय पनि सञ्चालन गरिरहेकी छन् । लायन्स क्लबजस्ता सामाजिक संस्थामा आबद्ध भएर सामाजिक सेवामा पनि उनी सक्रिय छिन् ।
प्रतिक्रिया 4