+
+
Shares

मध्यपूर्वका २० लाख नेपाली उद्धार गर्न सजिलो छैन : परराष्ट्रमन्त्री शर्मा

आवश्यक परेको खण्डमा मध्यपूर्वी देशमा रहेका २० लाख नेपालीको उद्धार गर्नैपर्ने मन्त्री शर्माको भनाइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २७ गते १९:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • परराष्ट्रमन्त्री बालानन्द शर्माले मध्यपूर्वमा रहेका २० लाख नेपालीको उद्धारका लागि राष्ट्रियस्तरको तयारी आवश्यक रहेको बताए।
  • मन्त्री शर्माले उद्धारका लागि परराष्ट्र मन्त्रालयले सिचुएसन सेन्टर स्थापना गरी नियमित अद्यावधिक विवरण संकलन गरिरहेको जानकारी दिए।
  • उहाँले युद्धको अवस्थामा मनोवैज्ञानिक त्रास बढ्ने तर बिस्तारै कम हुँदै गएको र राज्य तथा दूतावासले सुरक्षामा ध्यान केन्द्रित गरेको बताए।

२७ फागुन, काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्माले मध्यपूर्वमा रहेका नेपालीलाई तत्कालै ठूलो संख्यामा उद्धार गर्न सजिलो नभएको बताएका छन् ।

त्यसका लागि राष्ट्रियस्तरको तयारी आवश्यक पर्ने उनको भनाइ छ  । उनले करिब १९–२० लाख नेपाली औपचारिक तथा अनौपचारिक रूपमा २५–३० लाखसम्म विदेशमा रहेको अनुमान रहेको उल्लेख गरे ।

‘हामी त्यहाँ काम गर्न गएको हो, लडाइँ गर्न गएको होइन, दु:ख परेर काम गर्न गएको, त्यसकारण दु:खमा पनि काम गरेर रेमिट्यान्स पठाउँछु भनेर गएको हुनाले धेरैको मानसिकता फर्किने नै हुँदैन,’ मन्त्री शर्माले बुधबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘एकापट्टि त्यो छ भने अर्कापट्टि नेपाल सरकारले १९–२० लाख औपचारिक रूपले, त्योभन्दा बढी अनौपचारिक रूपले गर्दाखेरि २५–३० लाख नागरिकलाई नेपाल फर्काउन उद्धारको काम गर्न गयौं भनेदेखि यो राष्ट्रियस्तरमा पनि योजना भएको हुनुपर्छ ।’

आवश्यक परेको खण्डमा मध्यपूर्वी देशमा रहेका २० लाख नेपालीको उद्धार गर्नैपर्ने उनको भनाइ छ ।

‘हामीले २० लाखलाई उद्धार गर्न सक्छौं, गर्नैपर्छ नि, सक्दिनँ भन्न कहाँ पाइन्छ र ? एक थोपा रगत भएसम्म युद्ध लड्दिनँ भन्न कहाँ पाइन्छ र, लड्नै पर्‍यो नि !,’ मन्त्री शर्माले भने, ‘हाम्रा नागरिक बाहिर अलपत्र भए भनेदेखि ल्याउन सक्दिनँ कहाँ भन्न पाइन्छ, ल्याउनै पर्‍यो नि ! त्यसका लागि अरू विकल्प छैन, योजनाबद्ध तरिकाले जानुपर्छ र राज्यलाई घच्घच्याइ राख्नुपर्छ, त्यो हामी गरिरहन्छौं ।’

यसका लागि परराष्ट्र मन्त्रालयले ‘सिचुएसन सेन्टर’ स्थापना गरेर विदेशस्थित नेपालीको अवस्थाबारे नियमित अद्यावधिक विवरण संकलन गरिरहेको उनले जानकारी दिए । उक्त केन्द्रले आवश्यक परे उद्धार कार्यका आधारका रूपमा काम गर्ने उनको भनाइ छ ।

मध्यपूर्व र आसपास क्षेत्रमा रहेका नेपाली दुई समूहमा रहेको उनले बताए । एक समूह श्रमिक र अर्को विभिन्न देश जान ट्रान्जिटमा रहेका यात्रु रहेको बताउँदै अहिले ट्रान्जिटमा रहेका यात्रु उद्धारको काम भइरहेको बताए ।

युद्धको अवस्थामा मानिसमा मनोवैज्ञानिक त्रास बढ्ने बताउँदै उनले अहिले त्यस्तो अवस्था बिस्तारै कम हुँदै गएको बताए ।

‘पहिलो गोली चल्दा सबैलाई त्यो गोली आफूलाई लाग्ने जस्तो लाग्छ, तर केही समयपछि मानिस त्यसमा अभ्यस्त हुँदै जान्छ,’ उनले भने, ‘युद्धमा सर्भाइभल इन्स्टिङ्ट सक्रिय हुन्छ र राज्य तथा दूतावास सबैको ध्यान सुरक्षातर्फ केन्द्रित हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?