३० फागुन, विराटनगर । २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा नसोचेको परिणाम भोगेको नेकपा एमालेले समानुपातिक तर्फ १६ जना उम्मेदवारको नाम सिफारिस गरेको छ । पहिलो दल बन्ने दाबी सहित निर्वाचनमा होमिएको एमालेले प्रत्यक्ष तर्फ ९ सिट मात्र जितेको छ । समानुपातिकतर्फ १६ सिट जितेको छ ।
समानुपातिकतर्फ सिफारिस भएको लिष्टमा पुराना नेता गुरु बरालको नाम पनि छ । प्रत्यक्ष निर्वाचनमा पराजित भइरहेका बराल सजिलो बाटो मार्फत संसद बन्न लागेका हुन् ।
२०५१ सालको मध्यावधि निर्वाचनमा विजयी भएर संसदीय यात्रा गरेका उनले पछिल्लो २६ वर्षमा उनले जति पटक संसदीय चुनावी मैदानमा पाइला टेके, रित्तो हात फर्किनुपर्यो । कतिसम्म भने गोलाप्रथा गर्दा पनि उनी पराजित भए ।
२०७८ माघ १२ मा भएको राष्ट्रियसभा निर्वाचनमा बराबरी मत भएपछि गोला तान्दा झापाका गोपाल बस्नेत निर्वाचित हुँदा बराल पराजित भएका थिए । यो पटक एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र बराल स्वंय ओली सहित सबै पदाधिकारी पराजित हुँदा समानुपातिक सांसद भएका हुन् ।
गत मंसिरमा सम्पन्न ११औं महाधिवेशनमा उनी उपाध्यक्ष पदका उम्मेदवार थिए । तर ओलीको एकलौटी चलेको त्यो महाधिवेशनमा बराल केन्द्रीय सदस्य समेत जित्न सकेनन् ।
त्यसअघि उनी एमालेमा मनोनीत उपाध्यक्ष थिए । सुवासचन्द्र नेम्वाङको निधन भएपछि रिक्त स्थानमा २०८१ साउन १७ गते उनी मनोनित भएका थिए ।
बराललाई २०७९ को प्रदेशसभा निर्वाचनमा कोशी प्रदेशको मुख्यमन्त्री बनाउने गरी प्रदेशसभा उम्मेदवार बनाउने गृहकार्य भयो । तर जित्ने सम्भावना कमजोर देखिएपछि उनी चुनाव उठेनन् । २०७९ को आामचुनाव लगत्तै एमाले र माओवादी केन्द्रबीच सत्ता सहकार्य हुँदा बरालको नाम राष्ट्रपतिको उम्मेदवारका रुपमा पनि अघि आयो । तर प्रचण्डले एमालेसँगको सहयात्रा तोडेर कांग्रेससँग सहकार्य गरेपछि रामचन्द्र पौडेल राष्ट्रपति बने ।
२०३० सालदेखि राजनीतिमा रहेका ६८ वर्षीय बराल २०४६ सालको आन्दोलनमा एमालेको मोरङ सचिव थिए । २०५१ सालपछि २०७८ सालसम्म बरालले पाँच पटक राजकीय जिम्मेवारीका लागि चुनाव लडेका छन् ।
०५१ सालको मध्यवधिमा निर्वाचित भएका उनी २०५६ सालमा मोरङ-६ बाट पराजित भए । २०६४ सालको पहिलो संविधासभा निर्वाचनमा मोरङ-८ बाट माओवादी उम्मेदवार गोपी अछामीसँग पराजित भए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा मोरङ-३ मा कांग्रेस उम्मेदवार दीलिप गच्छदारसँग पराजित भए । २०७४ सालको निर्वाचनमा उनले टिकट पाएनन् ।
प्रतिक्रिया 4