News Summary
Generated by OK AI. Editorially reviewed.- अब्दुल युसुफ हाउले गरेको निर्णायक गोलले कास्कीको लालिगुराँस एसोसिएसन क्लब राष्ट्रिय लिग फुटबलको शीर्ष स्थानमा उक्लेको छ।
- लालिगुराँसले १३ खेलबाट २७ अंक जोड्दै सातौं जित हासिल गरेको छ र १३ खेलसम्म अपराजित यात्रा कायम गरेको छ।
- एपीएफ एफसी र मछिन्द्र एफसीबीचको खेलको विजेताले शीर्ष स्थानमा उक्लनेछ भने चित्लाङ एफसी १३ खेलमा सातौं हार भोगेको छ।
५ चैत, काठमाडौं । विदेशी खेलाडी अब्दुल युसुफ हाउलेले गरेको निर्णायक गोल मद्दतमा कास्कीको लालिगुराँस एसोसिएसन क्लब राष्ट्रिय लिग फुटबलको शीर्ष स्थानमा उक्लेको छ ।
बिहीबार एन्फा कम्प्लेक्स मैदानमा भएको पहिलो खेलमा लालिगुराँसले चित्लाङ एफसीलाई १-० ले पराजित गरेको हो ।
लालिगुराँसका लागि अब्दुलले ४९औं मिनेटमा एक मात्र गोल गरे । यो जितपछि लालिगुराँसले १३ खेलसम्म अपराजित यात्रा कायम राख्दै उपाधि होडमा समेत कायम छ ।
सातौं जितपछि १३ खेलबाट २७ अंक जोडेर लालिगुराँस अंकतालिकामा शीर्ष स्थानमा उक्लेको छ । लालिगुराँसले कम्तीमा केही घण्टाका लागि शीर्ष स्थानमा एकल अग्रता बनाएको छ ।
लालिगुराँस भन्दा पछाडि रहेका एपीएफ एफसी र मछिन्द्र एफसी आज साँझ भिड्दैछन् । दुवैको ११ खेलबाट समान २५ अंक छ । यस्तै चर्चत ब्वाइजले पनि ११ खेलबाट २५ अंक नै जोडेको छ ।
एपीएफ र मछिन्द्रबीचको खेलको विजेता शीर्ष स्थानमा उक्लने छ । यदी यी दुई टोलीले बराबरी खेलेमा भने लालिगुराँसलाई फाइदा पुग्नेछ ।
चित्लाङको भने १३ खेलमा यो सातौं हार हो । चित्लाङ ८ अंकसहित १५औं स्थानमा छ ।
प्रतिक्रिया 4