News Summary
Generated by OK AI. Editorially reviewed.- अर्जेन्टिनी फुटबल खेलाडी लियोनल मेसीले इन्टर मियामीबाट खेल्दै ९०० गोल पूरा गरी विश्व फुटबलमा नयाँ इतिहास रचेका छन्।
- मेसीले कन्काकाफ च्याम्पियन्स कप अन्तर्गत न्यासभिल एससी विरुद्ध खेलको सातौं मिनेटमै गोल गर्दै यो उपलब्धि हासिल गरेका हुन्।
- मेसीले बार्सिलोना, पेरिस सेन्ट-जर्मेन, अर्जेन्टिना राष्ट्रिय टोली र इन्टर मियामीबाट कुल ९०० गोल गरेका छन्।
५ चैत, काठमाडौं । अर्जेन्टिनी सुपरस्टार लियोनल मेसी ले करियरका ९०० गोल पूरा गर्दै विश्व फुटबलमा नयाँ इतिहास रचेका छन् ।
इन्टर मियामी बाट खेल्दै उनले कन्काकाफ च्याम्पियन्स कप अन्तर्गत न्यासभिल एससी विरुद्ध खेलको सातौं मिनेटमै गोल गर्दै यो उपलब्धि हासिल गरेका हुन् ।
३८ वर्षीय मेसी ९०० गोलको कीर्तिमान छुने इतिहासकै दोस्रो खेलाडी बनेका छन् । यसअघि यो उपलब्धि क्रिस्टियानो रोनाल्डोले हासिल गरिसकेका छन् ।
मेसीले आफ्नो करियरमा बार्सिलोना, पेरिस सेन्ट-जर्मेन, अर्जेन्टिना राष्ट्रिय टोली र हाल इन्टर मियामीबाट खेल्दै गोल गरेका छन् ।
बार्सिलोनाबाट उनले १७ वर्षको अवधिमा ६७२ गोल गरेका थिए भने कुल ७७८ खेल खेलेका थिए । त्यसक्रममा उनले १० ला लिगा, ४ च्याम्पियन्स लिगसहित थुप्रै उपाधि जितेका थिए ।
पछि पेरिस सेन्ट-जर्मेन मा दुई सिजन बिताउँदा उनले ७५ खेलमा ३२ गोल गरेका थिए । त्यहाँ उनले नेयमार र किलियन एमबाप्पेसँग मिलेर आक्रामक ‘ट्रायो’ बनाएका थिए ।
सन् २०२३ मा इन्टर मियामीमा आबद्ध भएपछि मेसीले ९२ खेलमा ८१ गोल गरिसकेका छन् र टोलीलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका छन् ।
अन्तर्राष्ट्रिय स्तरमा मेसीले अर्जेन्टिनाका लागि १९६ खेलमा ११५ गोल गरेका छन् र टोलीलाई विश्वकप जिताएका छन् ।
तथ्यांकअनुसार मेसीका ९०० गोलमध्ये ७५५ गोल बायाँ खुट्टाबाट, १११ गोल दायाँ खुट्टाबाट, ३० हेडमार्फत र ४ अन्य तरिकाबाट आएका छन् । उनले ११२ पेनाल्टी र ७० फ्रि–किकबाट गोल गरेका छन् ।
मेसी र रोनाल्डो मात्र पुरुष फुटबल इतिहासमा ९०० गोल पूरा गर्ने खेलाडी हुन् । ब्राजिलका महान खेलाडी पेले र रोमारियो जस्ता खेलाडीहरू भने यो सूचीभन्दा पछाडि रहेका छन् ।
प्रतिक्रिया 4