News Summary
Generated by OK AI. Editorially reviewed.- सेनेगल सरकारले उपाधि खोसिएको घटनापछि अफ्रिकी फुटबलमा भ्रष्टाचारको आशंका गर्दै स्वतन्त्र अन्तर्राष्ट्रिय छानबिनको माग गरेको छ।
- कन्फेडेरेसन अफ अफ्रिकन फुटबलले फाइनलको नतिजा उल्ट्याएर मोरक्कोलाई ३-० को जित दिँदै उपाधि प्रदान गरेको थियो।
- सेनेगल फुटबल महासंघले उक्त निर्णयविरुद्ध कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्टमा अपिल गर्ने जनाएको छ।
५ चैत, काठमाडौं । सेनेगल सरकारले अफ्रिका कप अफ नेसन्स २०२५ को उपाधि खोसिएको घटनापछि अफ्रिकी फुटबलमा ‘भ्रष्टाचारको आशंका’ भन्दै स्वतन्त्र अन्तर्राष्ट्रिय छानबिनको माग गरेको छ ।
कन्फेडेरेसन अफ अफ्रिकन फुटबल (सीएएफ) ले फाइनलको नतिजा उल्ट्याउँदै मोरक्को लाई ३-० को जित दिँदै उपाधि प्रदान गरेपछि विवाद चर्किएको हो ।
जनवरीमा भएको तनावपूर्ण फाइनलमा सेनेगलले मोरक्कोलाई १-० ले हराएको थियो । तर खेलको अन्त्यतिर पेनाल्टी निर्णयको विरोधमा सेनेगलका खेलाडी मैदानबाट बाहिरिएपछि सीएफले उक्त खेल ‘फोरफिट’ भएको ठहर गर्दै नतिजा परिवर्तन गरेको थियो ।
खेलाडीहरू करिब १७ मिनेटपछि मैदान फर्किएका थिए । त्यसपछि ब्राहिम डियाजको पेनाल्टी बचत भएको थियो भने पापे गुएयेले अतिरिक्त समयमा निर्णायक गोल गरेका थिए ।
तर मोरक्को फुटबल महासंघको अपिलपछि सीएफले नियम उल्लंघन भएको भन्दै सेनेगललाई पराजित घोषणा गर्यो ।
सेनेगल सरकारले उक्त निर्णयलाई ‘गम्भीर अन्यायपूर्ण’ भन्दै पूर्ण अस्वीकार गरेको छ । उनीहरूले निर्णय नियमको गलत व्याख्यामा आधारित रहेको आरोप लगाएका छन् ।
यता मोरक्को फुटबल महासंघले भने सीएफको निर्णयको स्वागत गर्दै यसले अन्तर्राष्ट्रिय प्रतियोगितामा नियमको सम्मान सुनिश्चित गर्ने जनाएको छ ।
सीएएफ अध्यक्ष प्याट्रिस मोट्सेपे ले फाइनलमा भएको घटनाले प्रतियोगिताको विश्वसनीयतामाथि असर पारेको बताए ।
यसैबीच सेनेगल फुटबल महासंघ ले उक्त निर्णयविरुद्ध कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट (सीएएस) मा अपिल गर्ने जनाएको छ ।
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले खेलाडीले मैदान छोड्नु ‘अस्वीकार्य’ भएको प्रतिक्रिया दिएका छन् ।
सेनेगलका केही खेलाडीहरूले भने आफूहरूले जितेको उपाधि नत्याग्ने संकेत गरेका छन् ।
प्रतिक्रिया 4