News Summary
Generated by OK AI. Editorially reviewed.- अध्यागमन विभागले पर्यटकीय भिसामा रहेका विदेशी खेलाडीलाई खेलमा सहभागी नगराउन अखिल नेपाल फुटबल संघलाई पत्र काटेको छ।
- निर्देशक टिकाराम ढकालले विदेशी खेलाडीलाई नियमानुसार कार्य सहमति र श्रम स्वीकृति लिएर मात्र खेलमा सहभागी गराउन पत्र पठाएको बताए।
- विभागले पर्यटकीय भिसामा आएका खेलाडीलाई खेलमा समावेश गरे कारबाही गर्ने चेतावनी दिएको छ र युवा तथा खेलकुद मन्त्रालयलाई पनि पत्र पठाएको छ।
५ चैत, काठमाडौं । अध्यागमन विभागले पर्यटकीय भिसामा रहेका विदेशीलाई खेलमा सहभागी नगराउन अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्र काटेको छ ।
विभागका निर्देशक टिकाराम ढकालले खेलमा विदेशी खेलाडीलाई समावेश गराउनुपर्ने भएमा नियमानुसार कार्य सहमति र श्रम स्वीकृति लिएर मात्र सहभागी गराउन पत्र पठाएका हुन् ।
अध्यागमन नियमावली, २०५१ को नियम २० मा भिसा प्राप्त गर्ने विदेशीले जुन उद्देश्यको लागि भिसा प्राप्त गरेको हो सो बाहेक अन्य काम गर्न पाउने छैन भन्ने स्पष्ट व्यवस्था छ । तर, एन्फाले पर्यटकीय भिसामा आएका खेलाडीहरुलाई खेलमा समावेश गरेपछि विभागले पत्र काटेको हो ।
विभागले स्वीकृति नलिएका विदेशी खेलाडीहरु भिसाको उद्देश्य विपरित कुनै पनि खेलमा सहभागी भएको पाइएमा तत्काल कारबाही गर्ने चेतावनी दिएको छ ।
यसअघि राखेपले विदेशी खेलाडी विषयमा एन्फालाई जानकारी गराउन पत्र पठाएको थियो ।
विभागका निर्देशक ढकालले पर्यटकीय भिसामा आएका व्यक्तिहरु खेलाडी बनेर खेल्न नमिल्ने बताए।
‘प्रारम्भिक रुपमा बुझ्दाखेरि केही विदेशी खेलाडी खेलिराख्नुभएको छ भन्ने जानकारी प्राप्त भयो । घुम्न आएको मान्छेलाई यहाँ खेलाडी बनाएर खेलाएर पैसा दिएर पठाउन हाम्रो अध्यागमन विभागले दिँदैन,’ उनले भने ।
खेलाडीलाई श्रम स्वीकृतिका लागि कुनै समस्या भएको निर्देशक ढकालले बताए । विभागले युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदलाई पनि पत्रको बोधार्थ गरेको छ ।

प्रतिक्रिया 4