+
+
Shares

१८ दिनदेखि न्याय पर्खिरहेको इनिसाको शव, कहाँ पुग्यो अनुसन्धान ?

सीआईबीको टोली फर्कियो, चारै जनाविरुद्ध मुद्दा चलाइने

इनिसाको शवले १८ दिनदेखि न्यायको पर्खिइरहेको छ । छोरीले न्याय नपाएसम्म दाहसंस्कार समेत नगर्ने अडान पीडित परिवारले लिएको छ ।

यज्ञ खत्री यज्ञ खत्री
२०८२ चैत १० गते १३:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको छ र चारै जनाविरुद्ध मुद्दा चलाउने तयारी भइरहेको छ।
  • केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले अनुसन्धान सकेर काठमाडौं फर्किएको र तीनवटा ल्याव रिपोर्टको प्रतिक्षा गरिरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
  • पीडित परिवारले न्याय नपाएसम्म इनिसाको शव दाहसंस्कार नगर्ने अडान लिएको र देशैभर न्याय माग्दै प्रदर्शन भइरहेका छन्।

१० चैत्र, सुर्खेत । १६ वर्षीया बालिका इनिसा विकको बलात्कारपछि हत्या घटनाको अनुसन्धान अझै टुङ्गिएको छैन । गत २३ फागुनमा मृत्यु भएकी इनिसाको शव १८ दिनदेखि कर्णाली प्रदेश अस्पतालको शव गृहमा राखिएको छ ।

इनिसाको शवले १८ दिनदेखि न्यायको पर्खिइरहेको छ । छोरीले न्याय नपाएसम्म दाहसंस्कार समेत नगर्ने अडान पीडित परिवारले लिएको छ ।

‘छोरीको ज्यान गइसकेको छ, हामी उसको शव ल्याएर के गरौँ ।  हत्यारालाई कारबाही नभएसम्म शव नबुझ्ने निर्णय गरेका छौँ,’ इनिसाका बुवा इन्द्रबहादुर विक भन्छन्, ‘न्याय निरुपणमा ढिलाइ हुनु भनेको न्याय नपाए सरह हो । हामीलाई छिटो न्याय दिइयोस् ।’

इनिसालाई न्याय माग्दै देशैभर प्रदर्शन र दबाबका कार्यक्रम जारी छन् । घटना भएको एक १८ दिनसम्म पनि वास्तविक तथ्य सार्वजनिक नभएको भन्दै परिवारले असन्तुष्टि जनाइरहेको छ ।

न्याय निरुपणमा ढिलाइ हुँदा दुबईमा रोजगाररत इन्द्रबहादुरको छुट्टि सकिन थालेको छ । ‘उताको बिदा सकिन थालिसक्यो । रोजगारीका लागि पैसा खर्च गरेर दुबई गएको थिएँ । तलब, सेवा सबै राम्रो छ,’ इन्द्रबहादुरले भने, ‘यता छोरीको दाहसंस्कार गरेको छैन, उता बोलाउन थालिसक्यो ।’

छोरी नरहे पनि छोरा र परिवारको लागि पनि विदेशिनुको विकल्प नभएको उनले बताए । तर छोरीले न्याय पाउनेमा भने उनलाई शंका हुन थालेको छ । ‘घटनाबारे प्रहरीले अहिलेसम्म खुलेर जानकारी दिएको छैन । घटना झनै रहस्यमय बन्दै जाने हो कि जस्तो पो लाग्न थालेको छ,’ इन्द्रबहादुरले भने ।

घटना लगत्तै पीडित परिवारले सामूहिक बलात्कारपछि हत्या भएको दाबी गर्दै पक्राउ परेका चारै जनाविरुद्ध कर्तव्य ज्यान र जबरजस्ती करणी मुद्दामा किटानी जाहेरी दिएका थिए । प्रहरीले गत फागुन २३ गतकै दिन जबरजस्ती करणी आरोपमा घटनास्थलबाट १६ वर्षीय एक किशोरलाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेका किशोरको बयानका आधारमा प्रहरीले २४ फागुनमा थप तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

अनुसन्धान सकेर फर्कियो सीआईबी

इनिसा विक घटनाको छानबिनका लागि सुर्खेत आएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली काठमाडौं फर्किएको छ ।

सीआईबीको टोली अनुसन्धान सकेर आइतबार नै फर्किएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डीएसपी महोनजंग बुढथापाले जानकारी दिए । ‘सीआईबीको टोली अनुसन्धान सकेर काठमाडौँ फर्किएको छ,’ डीएसपी बुढथापाले अनलाइनखबरसँग भने, ‘अनुसन्धानको अन्तिम चरणमा पुगेका छौँ । दुई वटा ल्याव रिपोर्ट पर्खेर बसेका छौँ ।’

इनिसा हत्या प्रकरणको सत्यतथ्य छानबिनको माग गर्दै देशैभर प्रदर्शन हुन थालेपछि सुर्खेत प्रहरीले गत फागुन २८ गते थप अनुसन्धानका लागि सीआईबीसँग सहयोग मागेको थियो । २९ गतेबाट प्रहरी निरीक्षकको कमान्डमा ब्युरोको विज्ञ टोली अनुसन्धानमा खटेको थियो ।

पहिलो चरणको सम्पूर्ण अनुसन्धान जिल्लाबाटै सकेको सुर्खेत प्रहरीले घटनाको गाम्भीर्यतालाई मध्यनजर गरेर केन्द्रीय अनुसन्धान ब्युरोको पनि सहयोग लिइएको डीएसपी बुढथापाले बताए । उनका अनुसार, जिल्ला प्रहरी कार्यालय सुर्खेतले पनि एउटा छुट्टै अनुसन्धान टिम बनाएर काम गरिरहेको थियो ।

उक्त घटनाबारे सीआईबीसहित नेपाल प्रहरीका चार टोलीले अनुसन्धान गरेका थिए ।

कहाँ पुग्यो अनुसन्धान ? 

इनिसा घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको सुर्खेत प्रहरीको दाबी छ । घटनाबारे सीआईबीले समेत आफ्नो रिपोर्ट सुर्खेत प्रहरीलाई बुझाएर फर्किएको छ ।

डीएसपी बुढथापाका अनुसार यताको सबै अनुसन्धान सकेको प्रहरी तीन वटा रिपोर्टको प्रतीक्षामा छ । टक्सिकोलोजिकल, भिसेरा र बायो सेरोलोजिकल रिपोर्ट आउन बाँकी रहेको र उक्त रिपोर्ट आउनसाथ अनुसन्धानको पाटो सकिने बुढथापाले बताए । ‘अहिलेसम्म पोस्टमार्टम, सीआईबी र डिजिटल रिपोर्ट आइसकेको छ । फरेन्सिक रिपोर्ट पनि एक/दुई दिनमा आउँछ,’ डिएसपी थापाले भने ।

अनुसन्धानको महत्त्वपूर्ण पाटो मानिएको पोस्टमार्टम रिपोर्ट यसअघि नै आइसकेको छ । बाँकेको भेरी अस्पतालका फरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्य नेतृत्वको टोलीले कर्णाली प्रदेश अस्पताल पुगेर इनिसाको शव पोस्टमार्टम गरेको थियो । पोस्टमार्टम रिपोर्टमा बलपूर्वक शारीरिक सम्बन्धपछि संवेदनशील अङ्गमा गम्भीर चोट लागि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको उल्लेख छ ।

घटनास्थलबाट पक्राउ परेका युवकले इनिसासँग शारीरिक सम्बन्ध राखेपछि अत्यधिक रक्तस्रावका कारण अचेत भएको बयान दिएका छन् । अन्य तीन जनाले पनि आफूहरू सहयोगका लागि घटनास्थलमा पुगेको बताएका छन् ।

ती युवकहरूको बयान र सीसीटीभीको समय, कल डिटेल्सहरू मेल खाएको प्रहरीले जनाएको छ ।

चारै जनाविरुद्ध मुद्दा चलाइने 

इनिसा घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको र पक्राउ परेका चारै जनाविरुद्ध मुद्दा चलाउने तयारी गरिरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका चारै जनाको बयान र अन्य परीक्षण प्रतिवेदनहरू सरकारी वकिल कार्यालयमा बुझाउने तयारी प्रहरीले गरेको छ ।

‘अनुसन्धानको ९९ प्रतिशत काम सकिएको छ । पक्राउ परेका चारै जनाविरुद्ध मुद्दा चलाउने तयारी भइसकेको छ । अबको एक–दुई दिनमा अनुसन्धानका सबै प्रतिवेदन सरकारी वकिललाई हस्तान्तरण गर्छौं,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने ।

ती अधिकृतका अनुसार फागुन २३ गते पक्राउ परेका १६ वर्षीय युवक र इनिसा केही समयदेखि प्रेम सम्बन्धमा रहेको र पूर्वसल्लाहअनुसार नै २३ गते बिहान शहीद पार्क नजिकैको जङ्गलमा गएको देखिएको छ ।

आफूहरूबीच सहमतिमै शारीरिक सम्पर्क भएको र इनिसाको यौनांगबाट अत्यधिक रगत बगेपछि एक्कासि अचेत भएको प्रेमी भनिएका १६ वर्षीया युवकले बयान दिएका छन् । ‘इनिसा बोल्न छोडेपछि म एकदमै आत्तिएँ । यताउता सारेँ, हातखुट्टा चलाएँ । दुई/तीन जना मिल्ने साथीलाई फोन गरें,’ ती युवकको बयान उद्धृत गर्दै ती प्रहरी अधिकृतले भने, ‘पछि सहयोगका लागि मेरा तीन जना साथी घटनास्थलमा आएका थिए ।’

पक्राउ परेका युवकहरूको बयान र विभिन्न ठाउँका सीसीटीभी फुटेजमा देखिएको समयरेखा मिलेको प्रहरीले बताएको छ । ‘अहिलेसम्म २४ गते पक्राउ गरेका अन्य तीन जना युवकको संलग्नता पुष्टि भएको छैन,’ उनले भने, ‘उनीहरू सहयोगको लागि करिब ९ बजे घटनास्थलमा पुगेको देखिन्छ । त्यो सीसीटीभी फुटेजले पुष्टि गर्छ ।’

प्रहरीलाई दिएको बयानमा १६ वर्षीय ती किशोरले साथीहरूको सहयोग मात्र मागेको र सामूहिक बलात्कार नभएको बताएका छन् । ‘सुरुमा बिहान इनिसा र ती १६ वर्षीय युवक गएका थिए । कुन समयमा माथि गए, के काम गरे भनेर खुलेको छ । बाँकी कुराहरू अदालतले निर्णय गर्ला,’ ती प्रहरी अधिकृतले भने ।

अन्य तीन युवक घटनामा संलग्न नभए पनि घटनास्थलमा भने लापरबाही गरेको प्रहरीको ठहर छ । ९ बजे घटनास्थलमा पुगेका उनीहरूले समयमै प्रहरीलाई खबर नगरेको, अन्य मान्छेहरूलाई पनि ढिला जानकारी दिएको लगायतका केही सामान्य कैफियत देखिएको प्रहरीले जनाएको छ । जसले गर्दा उनीहरूविरुद्ध पनि मुद्दा चलाइने बताइएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?