१२ चैत, काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिँदैछन् । प्रतिनिधिसभा सदस्यहरुमध्ये सबैभन्दा ज्येष्ठ सदस्यले बाँकी सदस्यहरूलाई शपथ गराउने कानुनी व्यवस्था छ ।
यसपटक ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन् । उनी ७८ वर्षका भए ।
राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार शीतल निवासमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । आज केसीले बाँकी सदस्यहरूलाई शपथ गराउन लागेका हुन् ।
ज्येष्ठ सदस्यले शपथ गराउने व्यवस्था २०४८ साल देखि निरन्तर छ । २०१५ सालमा भने कार्यकारी अध्यक्षको रुपमा गिरीप्रसाद बुढाथोकीले शपथ गराएका थिए ।
प्रतिनिधि सभाको नियमावली, २०१६ को नियम १३ अनुसार प्रतिनिधि सभाको सभामुखको निर्वाचन नभएसम्मको लागि तत्कालीन प्रधानमन्त्रीको सिफारिसमा तत्कालीन श्री ५ बाट गिरीप्रसाद बुढाथोकीलाई कार्यकारी अध्यक्षको रुपमा मनोनयन गरिएको थियो । त्यसबेला बुढाथोकीले कार्यकारी अध्यक्षको रुपमा बाँकी सदस्यहरूलाई शपथ गराउनुका साथै प्रतिनिधि सभाको प्रथम अधिवेशनको दुईवटा बैठकको अध्यक्षता समेत गरेका थिए ।
तेस्रो बैठकमा नवनिर्वाचित सभामुख कृष्णप्रसाद भट्टराईलाई सभाका सचिव कुलशेखर शर्माले शपथ ग्रहण गराएपछि कार्यकारी अध्यक्षले नवनिर्वाचित सभामुखलाई अध्यक्षासन हस्तान्तरण गरेका थिए ।
२०४८ सालपछि भने प्रतिनिधिसभा सदस्यहरूलाई ज्येष्ठ सदस्यले शपथ गराउने व्यवस्था भयो ।
नेपाल अधिराज्यको संविधान २०४७ को धारा ५१ को उप–धारा (३) मा प्रतिनिधि सभाको सभामुख र उप-सभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्क्त भएको अवस्थामा प्रतिनिधि सभाको बैठकको अध्यक्षता उमेरको हिसाबले ज्येष्ठ सदस्यले गर्ने प्रावधान थियो ।
त्यसबेला प्रतिनिधि सभाको आमनिर्वाचन पछिको पहिलो अधिवेशनको बैठकमा भाग लिनुअघि श्री ५ समक्ष शपथ लिनुपर्ने व्यवस्था गरिएको थियो । त्यसअनुसार श्री ५ बाट सुनसरी जिल्लाको निर्वाचन क्षेत्र नं. ४ बाट निर्वाचित नेपाली कांग्रेसका ७४ वर्षीय खलील मियाँलाई २०४८ साल असार ५ गते प्रतिनिधि सभा सदस्य पदको शपथ गराइएको थियो ।
त्यसपछि उनै मियाँले बाँकी सदस्यहरूलाई २०४८ साल असार ६ गते शपथ गराएका थिए ।
त्यसबेला सर्वप्रथम प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, त्यसपछि मन्त्रीहरु, विपक्षी दलका नेता मनमोहन अधिकारीले प्रतिनिधिसभा सदस्य पदको शपथ लिएका थिए । तत्पश्चात, अन्य सांसदहरूले १२ समूहमा समूहीकृत रुपमा शपथ लिएका थिए ।
२०५१ सालमा प्रतिनिधिसभामा ज्येष्ठ सदस्य बलबहादुर राई थिए । त्यसबेला राई ७२ वर्षका थिए । उनैले बाँकी सदस्यहरूलाई शपथ गराए र सभामुखको निर्वाचन नभएसम्मका लागि प्रतिनिधिसभा बैठकमा अध्यक्षता गरेका थिए ।
२०५६ सालमा जेष्ठ सदस्य गिरिजाप्रसाद कोइराला थिए । त्यसबेला उनी ७५ वर्षका थिए । कोइरालाले २०५६ असार ४ गते नारायणहिटी राजदरबारमा प्रतिनिधि सभा सदस्यको शपथ लिए । त्यसपछि जेष्ठ सदस्य कोइरालाले २०५६ असार ६ गते समूहगत रुपमा अन्य सांसदहरूलाई शपथ गराएका थिए ।
२०६३ सालमा पुर्नस्थापित व्यवस्थापिका संसद् ज्येष्ठ सदस्य बलबहादुर राईको अध्यक्षतामा बसेको थियो । ज्येष्ठ सदस्यको अध्यक्षतामा बसेको व्यवस्थापिका–संसदको दोस्रो बैठकबाट सुवास चन्द्र नेम्वाङ सभामुख पदमा निर्विरोध निर्वाचित भएका थिए ।
२०६४ सालमा पहिलो संविधान सभाको निर्वाचन भयो । निर्वाचित सदस्यहरूमध्ये कुलबहादुर गुरुङ ज्येष्ठ सदस्य थिए । उनले २०६५ साल जेठ १४ गते संविधान सभाको सभाकक्षमा आयोजना गरिएको विशेष कार्यक्रममा उपस्थित सदस्यहरूका बीच पहिले आफूले शपथ लिए । त्यसपछि बाँकी संविधान सभाका सदस्यहरूलाई सामूहिक रूपमा शपथ ग्रहण गराए ।
२०७० सालको निर्वाचनपछि दोस्रो संविधान सभामा ज्येष्ठ सदस्य सूर्यबहादुर थापा थिए । उनले नै बाँकी सदस्यहरूलाई शपथ खुवाए ।
२०७४ सालको निर्वाचनपछि प्रतिनिधिसभा सदस्यमा निर्वाचित महन्थ ठाकुर ज्येष्ठ सदस्य थिए । उनले बाँकी सदस्यहरूलाई शपथ खुवाए र सभामुखको निर्वाचन नभएसम्मका तीनवटा बैठकको अध्यक्षता गरे ।
२०७९ मा पशुपति शमशेर जबरा ज्येष्ठ सदस्य थिए । उनले नै बाँकी सदस्यहरूलाई शपथ खुवाएका थिए ।
यसपटक ज्येष्ठ सदस्यको रुपमा अर्जुननरसिंह केसी छन् । उनैले बाँकी सदस्यहरूलाई शपथ खुवाउन लागेका हुन् ।
प्रतिक्रिया 4