News Summary
Generated by OK AI. Editorially reviewed.- मछिन्द्र फुटबल क्लबले एनआरटीलाई २-० ले हराउँदै इलाम गोल्डकप फुटबलको उपाधि जितेको छ।
- फाइनल खेलमा सौरभ लिम्बुले पहिलो गोल गरेपछि मिलन चाम्लिङ राईले दोस्रो गोल गरे।
- मछिन्द्रले १० लाख रुपैयाँ पुरस्कार पाएको छ भने एनआरटी उपविजेता बनेको छ।
१२ वैशाख, इलाम । साविक विजेता न्युरोड टिम (एनआरटी) काठमाडौंलाई हराउँदै मछिन्द्र फुटबल क्लब काठमाडौंले इलाम गोल्डकप फुटबलको उपाधि जितेको छ ।
तेस्रो संस्करणको एनआरएनए अन्तराष्ट्रिय आमन्त्रण इलाम गोल्डकप प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा दुईपटकको उपाधि विजेता एनआरटीलाई २-० ले हराउँदै मछिन्द्रले उपाधि जितेको हो ।
प्रतिस्पर्धात्मक पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । पहिलो हाफको अन्त्यतिर सुरु भएको हावाहुरी सहितको वर्षाका बाबजुद रेफ्री नविन्द्र महर्जनले दोस्रो हाफको खेल सुरु गरे ।
दोस्रो हाफको दोस्रो मिनेटमै मछिन्द्रका प्रदिप बुढाथोकीको लङ क्रसमा सौरभ लिम्बुले हेडर गोल गरे । खेलको ५०औं मिनेटमा मछिन्द्रका मिलन चाम्लिङ राईले गोल गर्दै अग्रतालाई दोब्बर बनाए ।
त्यसपछि कुनैपनि गोल निस्कन नसक्दा मछिन्द्रले पहिलोपटक इलाम गोल्डकपको उपाधि जित्दै १० लाख रुपैयाँ नगद पुरस्कार हात पार्यो ।
उपाधिमाथिको ह्याट्रिकको दाउमा रहेको एनआरटी उपविजेता बन्दै ५ लाख नगद पुरस्कारमा चित्त बुझायो ।
फाइनले खेलको म्यान अफ द म्याच मछिन्द्रका प्रदिप बुढाथोकी बने । मच्छिन्द्रका गोलरक्षक प्रदिप भण्डारीले उत्कृष्ट गोलकिपर, एनआरटीका कप्तान आशिष गुरुङले उत्कृष्ट डिफेन्डर, मछिन्द्रका मिलन चाम्लिङ राईले सर्वाधिक गोलकर्ता, मछिन्द्रका युवराज ढकालले उत्कृष्ट मिडफिल्डरको अवार्ड जिते ।
मछिन्द्रका सनिश श्रेष्ठले सर्वोत्कृष्ट खेलाडीको अवार्ड जिते भने मच्छिन्द्रकै प्रशिक्षक प्रवेश कटुवालले उत्कृष्ट प्रशिक्षकको अवार्ड जिते । रेडहर्स इलामका विवेक सुनामले राइजिङ प्लेयरको उपाधि जिते ।
इलामका पत्रकार भगीरथ भण्डारीलाई नगद रु ११ हजार सहित इलाम गोल्डकप पत्रकारिता पुरस्कार प्रदान गरियो ।
विजेताहरुलाई इलाम नगरपालिकाका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि केदार थापा, क्लबका अध्यक्ष सजितसिंह खत्री लगायतले पुरस्कार वितरण गरेका थिए ।
रेडहर्स फुटबल क्लबको आयोजनामा इलामको ठूलो टुँडिखेलमा आयोजित इलाम गोल्डकप फुटबल प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको थियो ।
प्रतिक्रिया 4