News Summary
Generated by OK AI. Editorially reviewed.- सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्व विवाद र वैधानिकता प्रश्नमा परेको छ, जसले संस्थाको दिशा अस्पष्ट बनाएको छ ।
- राष्ट्रिय खेलकुद परिषद् (राखेप) र एन्फाबीचको सम्बन्ध असन्तुलित हुँदा निर्णयहरू प्रभावित भएका छन् र खेलाडी तथा प्रशिक्षकहरूमा अनिश्चितता बढेको छ ।
- समाधानका लागि पारदर्शी निर्वाचन, राखेपसँग सन्तुलित समन्वय, कानुनी स्पष्टता र संवाद आवश्यक रहेको छ ।
मेरो घर नजिकैको सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्यालयमा आज पनि विहान उस्तै सुरु हुन्छ । यो त्यही स्थान हो, जहाँ हाम्रो खेतबारी थियो ।
तत्कालीन सरकारले विसं २०३० मा चक्रपथ बनाउन हाम्रो खेतबारी अधिकरण गरिसकेपछि पनि टक्सार विभाग बनाउने भने थप खेतबारी अधिकरणको सूचीमा राखे पश्चात गुमाएको जग्गा हो त्यो ।
तर टक्सार विभागको योजना अलपत्र पारियो अनि फेरी पछि त्यही स्थानमा अर्बुद रोगको अस्पताल बनाउने भनेर भनियो । दुर्भाग्यवश, अर्बुद रोगको अस्पताल पनि बनेन बरु धरानमा बीपी मेमोरियल अस्पताल भनेर योजना उता सारियो ।
त्यसपछि यो हाम्रो यो खेतबारी खुल्ला मैदानको रुपमा निक्कै वर्ष अलपत्र रहयो र त्यहाँ हामी लगायत थुप्रै मेरा अनि मभन्दा पुराना पुस्ताले फुटबल खेलेर आफुहरुलाई फुटबल खेलसँग करिब हुन ठुलो मद्दत पुर्यायो । यो विसं २०४६ पछिको दशकको कुरा हो ।
आजको मितिमा मैदानमा खेलाडीहरू अभ्यासमा व्यस्त छन्—पास, काउन्टर अनि गोलको अभ्यास । सबै कुरा सामान्य देखिन्छ छेवैबाट हेर्दा र देख्दा ।
तर भवनको भित्र छिर्दा, हावामा एउटा अदृश्य तनाव छ । फाइलहरू सरिरहेका छन्, बैठकहरू बसिरहेका छन्, तर निर्णयहरू अल्झिरहेका छन् । एकजना प्रशिक्षक आफ्नो टिमलाई हेरिरहेका छन् । उनको ध्यान खेलाडीको फिटनेसमा छ, तर मनमा एउटा गहिरो प्रश्न छ- ‘हामी कहाँ जाँदैछौं ?’ र चुपचाप मैदानतिर हेर्दै भन्छन् ‘खेलाडीहरू तयार छन्, तर संस्था तयार छ कि छैन, थाहा छैन ।’
***
नेपालमा फुटबल सधैं आशाको खेल रह्यो । दशरथ रंगशालामा बज्ने हुटिङ, झण्डा बोकेर नाच्ने समर्थकहरू अनि राष्ट्रिय टिमको जितले दिएको खुसी- यी सबैले फुटबललाई केवल खेल होइन, भावनाको केन्द्र बनाएको छ । तसर्थ नेपालमा फुटबल केवल खेल होइन भावना हो । तर पछिल्ला वर्षहरूमा यही भावनामा अनिश्चितताको छाँया पर्न थालेको छ ।
तर पछिल्ला केही वर्षमा, यही भावनाभित्र एउटा अनिश्चितता घुलिएको छ । बाहिरबाट एन्फा सक्रिय देखिन्छ । लिगहरू सञ्चालनमा छन्, अन्तर्राष्ट्रिय सहभागिता पनि भइरहेकै छ । तर भित्र, संस्थाको आधार मानिने नेतृत्व र वैधानिकतामाथि प्रश्न उठेको छ ।
कार्यकाल सकिएको नेतृत्व, विवादित निर्वाचन प्रक्रिया, र निर्णयहरूको वैधता माथि उठेका प्रश्नहरूले एन्फालाई एउटा यस्तो अवस्थामा ल्याइदिएको छ जहाँ संस्था चलिरहेको देखिन्छ, तर दिशा स्पष्ट छैन ।
यो अन्योललाई अझ जटिल बनाउँछ राष्ट्रिय खेलकुद परिषद (राखेप) सँगको सम्बन्ध । सरकारी निकाय र स्वायत्त खेल संघबीचको सन्तुलन बारम्बार बिग्रिँदा निर्णयहरू दुई ध्रुवबीच अड्किन्छन् ।
एकातिर नियम र स्वायत्तताको कुरा, अर्कोतिर नियन्त्रण र जवाफदेहिताको प्रश्न । यो द्वन्द्व केवल कागजमा सीमित रहँदैन- यसको प्रभाव मैदानसम्म पुग्छ ।
***
मैदानमा दौडिरहेका खेलाडीलाई त्यो प्रभाव शब्दमा व्यक्त गर्न सजिलो छैन । तर उनीहरूको आँखामा देखिन्छ । अर्को प्रतियोगिता कहिले हुन्छ भन्ने थाहा छैन । टिमको तयारी कति समयसम्म निरन्तर राख्ने भन्ने अन्योल छ । कुनै पनि खेलाडीको करियर छोटो हुन्छ र त्यसमा पनि अनिश्चितता थपिँदा मानसिक दबाब बढ्छ ।
धेरै खेलाडीहरू बाहिरबाट बलिया देखिन्छन्, तर भित्र उनीहरू निरन्तर प्रश्नसँग जुधिरहेका हुन्छन्- ‘मेरो समय खेर त गइरहेको छैन ? अर्को मौका आउला कि नआउला ?’
प्रशिक्षकहरू पनि उस्तै अवस्थामा छन् । योजना बनाउँछन्, तर योजना कहिले कार्यान्वयन हुन्छ भन्ने निश्चित हुँदैन । क्लबहरू लगानी गर्छन्, तर भविष्यको भरोसा पाउँदैनन् । समर्थकहरू अझै मैदानमा आउँछन्, तर उनीहरूको विश्वास बिस्तारै कमजोर हुँदै जान्छ ।
यस्तो अवस्थामा समाधान केवल नेतृत्व परिवर्तन होइन भन्ने कुरा स्पष्ट हुँदै जान्छ । समस्या व्यक्ति होइन—प्रणालीको हो । यदि आज एउटा समूह हटेर अर्को आयो भने पनि, यदि प्रक्रिया उही रह्यो भने समस्या दोहोरिन्छ ।
त्यसैले समाधान खोज्न पहिले स्वीकार गर्नुपर्छ, एन्फा अहिले एउटा संक्रमणकालमा छ । यस्तो अवस्थामा समाधान केवल आन्तरिक निर्णयबाट सम्भव हुँदैन भन्ने कुरा विस्तारै स्पष्ट हुँदै जान्छ ।
यो विवाद बहुपक्षीय छ र यसको समाधान पनि बहुपक्षीय, कानुनी र कूटनीतिक हुनुपर्छ ।
***
एक साँझ, एन्फाको बैठक कक्षमा बसेका केही पदाधिकारीहरू बीच लामो छलफल चलिरहेको छ । बहस तिखो छ, मत फरक–फरक छन् । तर त्यो बहसको बीचमा एउटा कुरा क्रमशः स्पष्ट हुँदै जान्छ — यदि यो विवाद यत्तिकै लम्बियो भने, सबै हार्नेछन् । त्यही क्षणबाट समाधानको सम्भावना सुरु हुन्छ ।
समाधान कुनै जादुई निर्णयबाट आउने होइन । यो विश्वास पुनः निर्माण गर्ने प्रक्रियाबाट सुरु हुन्छ । सबैभन्दा पहिले, नेतृत्वको वैधानिकता स्पष्ट हुनुपर्छ। एक यस्तो निर्वाचन, जसमा कसैलाई शंका गर्ने ठाउँ नहोस्- न आन्तरिक रूपमा, न बाह्य रूपमा । जहाँ प्रक्रिया पारदर्शी होस्, परिणाम स्वीकार्य होस् ।
त्यसपछि, राखेप र एन्फाबीचको सम्बन्धलाई स्पष्ट र सन्तुलित बनाउनु आवश्यक हुन्छ । दुवैले आफ्नो भूमिका बुझ्नुपर्छ- न त अत्यधिक हस्तक्षेप, न त पूर्ण दूरी । एक यस्तो समन्वय, जहाँ खेलको हित पहिलो प्राथमिकता होस् ।
अन्तर्राष्ट्रिय स्तरमा पनि विश्वास कायम राख्नुपर्छ । फिफासँग खुला संवाद, स्पष्ट प्रतिबद्धता र नियमको सम्मान- यी सबैले एन्फालाई जोखिमबाट बाहिर ल्याउन सक्छ ।
सबैभन्दा पहिले, संवादको ढोका खोलिन्छ । एन्फा, राखेप, र फिफाबीच प्रत्यक्ष र पारदर्शी संवाद आवश्यक हुन्छ । कुनै एक पक्षले एक्लै निर्णय गर्ने होइन, सबैले एउटै टेबलमा बसेर सहमति खोज्ने ।
त्यसपछि कानुनी पक्षलाई स्पष्ट पारिन्छ । नेपालको खेलकुद ऐन र फिफाको नियमबीच कहाँ द्वन्द्व छ ?
कुन बुँदामा सरकारी हस्तक्षेप मानिन्छ, कुन बुँदामा स्वायत्तता आवश्यक हुन्छ? यी प्रश्नहरूको स्पष्ट व्याख्या बिना समाधान सम्भव हुँदैन । त्यसैले, एक साझा कानुनी ढाँचा निर्माण गर्नुपर्छ जहाँ राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय मापदण्डबीच सन्तुलन मिलोस् ।
यससँगै एउटा संक्रमणकालीन उपाय पनि आवश्यक हुन्छ । यदि विवाद गहिरो छ भने, एक स्वतन्त्र वा तटस्थ संरचना जस्तै ‘नर्मलाइजेसन कमिटी’ मार्फत केही समयका लागि संस्थालाई सञ्चालन गर्ने विकल्प अपनाउन सकिन्छ । यसले तत्कालको शक्ति संघर्षलाई रोक्छ र दीर्घकालीन समाधानका लागि समय दिन्छ ।
यो नर्मलाइजेसन कमिटीको लागि चाहिने ड्राफ्ट समेत अहिलेको सरकारको खेलकुद नजिकका सल्लाहकार(हरू)लाई समेत बुझाइसकेको अवस्था छ ।
अन्ततः, सबैभन्दा महत्वपूर्ण चरण हो विश्वसनीय निर्वाचन । एक यस्तो प्रक्रिया जहाँ सबै पक्ष सहभागी हुन्छन्, नियम स्पष्ट हुन्छन्, परिणाम सबैले स्वीकार गर्छन् । यो केवल नेतृत्व चयन होइन, विश्वास पुनःस्थापनाको आधार हो ।
तर यी सबैभन्दा महत्वपूर्ण कुरा एउटा छ खेलाडी र खेलसँग जोडिएका मानिसहरूलाई केन्द्रमा राख्नु । निर्णय गर्दा, नीति तथा योजना बनाउँदा पहिलो प्रश्न हुनुपर्छ, ‘यसले खेलाडीलाई कस्तो असर गर्छ ?’ जब यो प्रश्न केन्द्रमा आउँछ, त्यसपछि धेरै निर्णयहरू आफैं स्पष्ट हुन थाल्छन् । तर यी सबै प्रक्रिया सफल हुनका लागि एउटा शर्त आवश्यक छ त्यो हो इच्छाशक्ति ।
यदि सबै पक्षले आफ्नो शक्ति जोगाउनेभन्दा खेल जोगाउने निर्णय गरे भने मात्र यो प्रक्रिया सफल हुन्छ ।
***
साँझ पर्न थालेको छ । एन्फाको मैदान फेरि एकपटक खाली हुँदैछ । अर्जुनजस्ता युवा खेलाडीहरू अझै सपना बोकेर घर फर्किरहेका छन् । विकासजस्ता प्रशिक्षकहरू अझै आशा राखिरहेका छन् कि भोलि केही स्पष्ट हुनेछ ।
मुख्यालयको भवनमा अझै बत्ती बलिरहेको छ । सायद त्यहीँ कतै, समाधानको पहिलो रेखा कोरिँदैछ ।
अन्त्यमा, भन्नै पर्ने कुरा के हो भने, नेपालको फुटबल अहिले केवल गोलको खेल होइन, यो संवाद, कानुनी स्पष्टता र कूटनीतिक सन्तुलनमार्फत आफ्नो भविष्य पुनःनिर्माण गर्ने प्रयास हो, जहाँ जित तब मात्र सम्भव हुन्छ जब सबै पक्षले एउटै लक्ष्य रोज्छन्- फुटबलको हित ।
(महर्जन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद जगतमा विशेष चासो राख्ने; खेलविज्ञ तथा सुचना प्रविधिको क्षेत्रमा अनुभवी विशेषज्ञ हुन्)
प्रतिक्रिया 4