News Summary
Generated by OK AI. Editorially reviewed.- संयोग कपाली र नविता श्रेष्ठले दोस्रो पुष्पराज स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको खुला सिंगल्समा पुरुष र महिला च्याम्पियन बने।
- पुरुष फाइनलमा संयोगले रुविन महर्जनलाई पाँच सेटमा पराजित गरे भने नविताले महिला फाइनलमा इभाना थापालाई हराइन्।
- प्रतियोगितामा २ सय खेलाडीले ६ स्पर्धामा प्रतिस्पर्धा गरे र विजेतालाई कुल २ लाख रुपैयाँ नगद पुरस्कार वितरण गरिएको थियो।
१९ वैशाख, काठमाडौं । संयोग कपाली र नविता श्रेष्ठ दोश्रो पुष्पराज स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको खुला सिंगल्समा शनिबार च्याम्पियन बनेका छन् । संयोग पुरुष तथा नविता महिलामा च्याम्पियन बने । दुवै नेपाल प्रहरीका हुन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष फाइनलमा संयोगले एभीएमका रुविन महर्जनलाई ८–११, १७–१५, ११–९, ६–११ र ११–९ को सेटमा पराजित गरे । प्रहरीका गनञ्जय दाहाल र भिजन टेबलटेनिस एकेडेमीका हिमाल विष्ट तेस्रो भए ।
ललितपुर महानगरपालिका वडा ११ को मुख्य प्रायोजनमा खोल्चा पुखु खेलकुद उपसमितिद्वारा आयोजित प्रतियोगिताको महिला सिंगल्समा ९ पटककी राष्ट्रिय च्याम्पियन नविताले एभीएमकी इभाना थापालाई ११–८, १२–१४, ११–६, ७–११ र १५–१३ ले हराइन् । एभीएमकी वियंका राई र भिजनकी योङगी पौडेल तेस्रो बने ।
भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्समा काठमाडौं महानगरपालिका वडा २५ का महेश श्रेष्ठ पहिलो, एभीएमका राजकुमार शाही दोस्रो तथा इखाछेनका मुकेश महर्जन र काठमाडौंका उमेश मानन्धर तेस्रो बने ।
५० वर्षमाथि पुरुष सिंगल्समा एभीएमका जय महर्जनले स्वर्ण, नक्सालका रक्त मानन्धरले रजत तथा खोल्चा पुखुका नदिमरत्न शाक्य र इखाछेनका राजेन्द्र वज्राचार्यले कांस्य जिते ।
ललितपुर जिल्ला टेबलटेनिस संघको सहयोग तथा स्पिन इभेन्ट्स प्रालिको व्यवस्थापनमा भएको प्रतियोगिताको भेट्रान ६० वर्षमाथि पुरुष सिंगल्समा काठमाडौं २ का अशोक शर्मा प्रथम, होप्सका राजन सुब्बा द्वितीय तथा खोल्चा पुखुका प्रकाश धाक्वा र इखाछेनका शरद्मान श्रेष्ठ तृतीय भए ।
यू–१६ मिक्स युथमा एभीएमका आरभ मल्ल, इखाछेनका सोयम महर्जन, इखाछेनका सुप्रिन्स महर्जन र खोल्चा पुखुका निर्भिक शाक्य क्रमशः शीर्ष ३ स्थानमा रहे । यो स्पर्धामा ललितपुर महानगरपालिका वडा ११ का प्रतिस्पर्धी मात्र सहमागी थिए ।
विजेतालाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, ललितपुर महानगरपालिका वडा ११ का अध्यक्ष अरोजकुमार खड्गी, अखिल नेपाल टेबलटेनिस संघका उपाध्यक्ष पूर्णशंकर श्रेष्ठ, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य रवि महर्जन, टेबलटेनिसका मुख्य प्रशिक्षक मोहनदास बासुकलालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
दुईदिने प्रतियोगितामा २ सय खेलाडीले विभिन्न ६ स्पर्धा प्रतिस्पर्धा गरेका थिए । सबै स्पर्धामा पदक जित्नेलाई कुल २ लाख रुपैयाँ नगद पुरस्कार वितरण गरिएको थियो ।
प्रतिक्रिया 4