News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेत्री गरिमा पन्त १३ वर्षपछि भुवन केसीको फिल्म 'बाटुलो जुन' मा कमब्याक गरेकी छिन्।
- गरिमाले इन्स्टाग्राममा आफ्नो पुनरागमनबारे जानकारी दिँदै फिल्म टिमप्रति आभार व्यक्त गरेकी छिन्।
- 'झोला' फिल्मका लागि उनले राष्ट्रिय चलचित्र पुरस्कार र सार्क फिल्म फेस्टिभल सम्मान पाएकी थिइन्।
काठमाडौं । अघिल्लो दशककी चर्चित अभिनेत्री गरिमा पन्त फिल्ममा फर्किएकी छिन् । उनको पछिल्लो हिट फिल्म ‘झोला’ सन् २०१३ मा प्रदर्शनमा आएको थियो ।
विवाहपछि उनी फिल्मबाट टाढिएर परिवारसँग बेल्जियममा बस्दै आएकी थिइन् । भुवन केसीको आगामी फिल्म ‘बाटुलो जुन’ मा गरिमालाई देख्न पाइनेछ । योसँगै १३ वर्षपछि उनको कमब्याक पक्का भएको छ ।
छायांकन भैरहेको फिल्ममा गरिमालाई भुवनको जोडीको रुपमा देख्न पाइनेछ । गरिमाले इन्स्टाग्रामबाट प्रशंसकलाई आफ्नो पुनरागमनबारे जानकारी दिएकी छिन् ।
फिल्मको क्ल्याप बोर्डसहितको फोटो सेयर गर्दै उनले लेखेकी छिन्, ‘क्यामेरा, सेट अनि अभिनयसँगको पुनः भेट…। केही समयको अन्तरालपछि फेरि एउटा सुन्दर कथामार्फत यहाँहरू माझ आउँदै छु । सधैंझैँ यहाँहरूको माया, साथ र आशीर्वादको अपेक्षा राखेको छु…। यो अवसरका लागि सम्पूर्ण ‘बाटुलो जुन’ टिमप्रति हृदयदेखि नै आभारी छु ।’

गरिमाले गम्भीर र सामाजिक विषयका फिल्ममार्फत आफ्नो छुट्टै पहिचान बनाएकी छन् । उनी अभिनित ‘झोला’ सबैभन्दा चर्चित फिल्म हो, जसले एक समय प्रचलित सतीप्रथाको कथालाई उठाएको थियो, र त्यसमा उनले निर्वाह गरेको ‘कान्छी’ पात्रलाई निकै प्रशंसा गरिएको थियो ।
गरिमा पन्त तनहुँ जिल्लाको आँबुखैरेनी क्षेत्रमा जन्मिएकी हुन्। उनले किशोर अवस्थादेखि नै टेलिभिजन विज्ञापनमार्फत अभिनय यात्रा सुरु गरेकी थिइन्। पछि नेपाली चलचित्रमा सक्रिय भइन् र सामाजिक तथा साहित्यिक कथामा आधारित फिल्महरूमा काम गरेर फरक पहिचान बनाइन्।
उनका अन्य चर्चित फिल्ममा तीन घुम्ती र ठूली पनि छन् । ‘तीन घुम्ती’ बीपी कोइरालाको चर्चित उपन्यासमा आधारित फिल्म थियो, जसमा उनले ‘इन्दिरा’ पात्र निभाएकी थिइन् ।
‘झोला’ का लागि उनले राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी थिइन् । त्यही फिल्मका कारण उनले सार्क फिल्म फेस्टिभलमा समेत सम्मान पाएकी थिइन्, जसलाई नेपाली फिल्म उद्योगका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिन्छ ।
प्रतिक्रिया 4