News Summary
Generated by OK AI. Editorially reviewed.- कृषि, वन तथा पर्यावरण मन्त्रालयले यस वर्षको बर्खे बालीका लागि रासायनिक मलको अभाव नहुने दाबी गरेको छ।
- सरकारी कम्पनीहरूमा करिब १ लाख ४५ हजार मेट्रिक टन मल मौज्दात रहेको मन्त्रालयले जनाएको छ।
- वर्षायाममा करिब २ लाख ८५ हजार टन मलको माग हुने र मौज्दातले त्यो माग धान्न पर्याप्त हुने मन्त्रालयको भनाइ छ।
६ जेठ, काठमाडौं । यस वर्षको बर्खे बालीका लागि किसानले रासायनिक मलको अभाव झेल्नु नपर्ने कृषि, वन तथा पर्यावरण मन्त्रालयले दाबी गरेको छ ।
सरकारी स्वामित्वका कम्पनीहरूसँग करिब १ लाख ४५ हजार मेट्रिक टन मल मौज्दात रहेकाले यसपालिको खेतीको सिजनमा मलको अभाव नहुने मन्त्रालयको दाबी छ ।
मन्त्रालयको तथ्यांकअनुसार कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनसँग पर्याप्त मात्रामा रासायनिक मल मौज्दात छ । कृषि सामग्री कम्पनी लिमिटेडको गोदाममा ६७ हजार ८३६ टन युरिया, २० हजार ९३ टन डीएपी र १४ हजार ३७४ टन पोटास गरी कुल १ लाख २ हजार ३०३ टन मल रहेको छ ।
यसैगरी, साल्ट ट्रेडिङ कर्पोरेसनसँग १५ हजार ९८९ टन युरिया, २३ हजार ९५८ टन डीएपी र ३ हजार ३५९ टन पोटास गरी जम्मा ४२ हजार ४९९ टन मल मौज्दात छ ।
गोदाममा रहेको बाहेक कृषि सामग्री कम्पनीले आयात गरेको थप ४५ हजार ८०५ मेट्रिक टन मल नेपाल भित्रिने क्रममा (मार्गस्थ) छ । जसमा १७ हजार ३८८ टन युरिया र २८ हजार ४६६ टन डीएपी रहेको छ ।
विगतका वर्षहरुमा करिब ४ लाख टनको हाराहारीमा मल आयात हुने गरेकोमा यस वर्ष हालसम्ममै साढे ५ लाख टन मल आयात भइसकेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार वर्षायाममा लगभग २ लाख ८५ हजार टन मलको माग हुने गरेको छ । हालको मौज्दात र आउने क्रममा रहेको मलले किसानको माग धान्न पर्याप्त हुने मन्त्रालयको भनाइ छ ।
प्रतिक्रिया 4