News Summary
Generated by OK AI. Editorially reviewed.- काभ्रेपलाञ्चोकको पाँचखालस्थित ठूली सामुदायिक वनमा एक महिनादेखि हराइरहेका सशस्त्र प्रहरीका असई शक्ति राम र शर्मिला चौधरी मृत फेला परेका छन् ।
- मौवाको रुखमा झुण्डिएको अवस्थामा फेला परेका दुवै शव सडेका छन् र प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।
- बेपत्ता उनीहरूको खोजीका लागि दुवै पक्षका परिवारले प्रहरीमा निवेदन दिएका थिए ।
२० जेठ, काभ्रेपलाञ्चोक । एक महिनादेखि हराएका सशस्त्रका असई युवतीसहित झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।
एउटै रुखमा सँगै झुण्डिएको अवस्थामा दुई जनाको शव भेटिएको छ । मृत भेटिनेहरूमा पर्साको बहुदरमाई–८ रामनगरी घर भएका शक्ति राम र कैलालीको घोडाघोडी नगरपालिका–१ कि २६ वर्षीया शर्मिला चौधरी छन् ।
जिल्ला प्रहरी कार्यालय धुलिखेलका सूचना अधिकारी डीएसपी रविन विष्टका अनुसार, राम सशस्त्र प्रहरी बल १५ नं हेडक्वाटर पाँचखालमा दरबन्दी भएका असई हुन् ।
उनीहरूको शव पाँचखाल नगरपालिका–३ मा रहेको ठुली सामुदायिक वनमा मौवाको रुखमा झुण्डिएको अवस्थामा भेटिएको हो । सलको पासो लगाई भुण्डिएको अवस्थामा उनीहरूको सडेको शव प्रहरीले फेला पारेको छ । जसकारण घटना केही दिन अघिकै रहेको आशंका गरिएको छ ।
शव सडेर टाउको झुण्डिएको र शरीरको भाग चुँडिएर जमिनमा खसेको अवस्थामा भेटिएको प्रहरीले बताएको छ ।
उनीहरू हराएको खबरपछि खोजतलासकै क्रममा बुधबार बिहान साढे १० बजे पाँचखाल–३ मा रहेको ठूली सामुदायिक वनमा मौवाको रुखमा सलको पासो लगाई भुण्डिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।
‘उनीहरू मौवाको रुखमा छुट्टाछुट्टै पासोमा झुण्डिएको र टाउको बाहेकको भाग सडेर भुईंमा झरेको अवस्थामा भेटिएको छ । वन समितिले सल्लाको खोटो संकलन गर्न वनको अनुगमन गर्ने क्रममा शव देखेपछि हामीलाई खबर गरेका थिए,’ डीएसपी बिष्टले भने ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीको टोलीले अनुसन्धान अनुसार, उनीहरूले लगाएको कपडा तथा साथमा बरामद अन्य कागजात मार्फत परिवार र साथीहरूबाट रुजु गर्दा शक्ति राम र शर्मिला चौधरी रहेको खुल्न आएको प्रहरीले जनाएको छ ।
दुवै पक्षका परिवारले खोजतलासको लागि प्रहरीमा समेत निवेदन दिएका थिए । शक्ति राम वैशाख १९ गतेबाट लागू हुनेगरी २ दिन बिदामा गएका थिए ।
शर्मिला वैशाख १८ गते नै काभ्रेपलाञ्चोकमा रहेका शक्ति रामलाई भेट्न जान्छु भनी हिंडेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ ।
उनीहरू सम्पर्कविहीन भएपछि शक्तिरामको परिवारले वैशाख २१ गते सशस्त्र प्रहरी बल १५ नं हेडक्वाटर पाँचखालमा खोजतलासको लागि निवेदन दिएका थिए । शर्मिलाको भाई रन्जित चौधरीले वैशाख २५ गते प्रहरी वृत्त बालाजुमा खोजतलासको लागि निवेदन दिएका थिए ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार दुवै शवलाई पोष्टमार्टमको लागि धुलिखेल अस्पतालमा राखिएको छ ।
प्रतिक्रिया 4