२३ जेठ, पाँचथर । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले प्रधानमन्त्रीबाटै नेपालले भारतको सीमा मिचेको भन्नु भनेको आफ्नो अरु भूमि भारतलाई सुम्पिनु जस्तै रहेको टिप्पणी गरेका छन् ।
शनिबार पाँचथरको जेभालेमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् ।
‘त्यो पदमा बसेका मान्छेले त्यस्तो भन्नु हुँदैन । श्रम संस्कृति यो देशको अखण्डता र सीमा रक्षाको पक्षमा सतिसाल भएर उभिएको छ,’ साम्पाङले भने । उनले प्रधानमन्त्री बालेनको चर्को आलोचना गरे ।
उनले भने, ‘जो व्यक्ति बनाउन जान्दैन, खाली भत्काइदिन्छ, गरिबको घरमा डोजर हान्देको छ, जलाइदिएको छ । त्यस्तो मान्छे चाहिँ राम्रो भन्ने हुँदैन ।’
उनले रास्वपाले राई–लिम्बुलाई समानुपातिकमा सांसद नबनाउनुको कारण सोध्न पनि आग्रह गरे । ‘घण्टी हल्लाउँदै आउने पार्टीले राई–लिम्बुलाई समानुपातिक सांसद नबनाउनुको कारण हामीले सोध्ने कि नसोध्ने ?,’ साम्पाङले प्रश्न गरे । आफूले भने सबैलाई समेटेको उनले दाबी गरे ।
उनले पुराना दलले पनि ३०/३५ वर्ष गफ मात्रै गरेका कारण देश नबनेको टिप्पणी गरे । देशले श्रम भुलेका कारण यस्तो अवस्था आएको उनले बताए ।
अब देश बनाउने जिम्मा श्रम संस्कृतिलाई लगाउन उनले आह्वान गरे । ‘यो पार्टीमा नेता हुँदैन, कार्यकर्ता हुँदैन । सबै श्रमदाता हो । म यही टीसर्ट लगाएर हिँडिरहेको छु,’ साम्पाङले भने ।
कुनै दिन त्यही टीसर्ट लगाएर संसद जाने पनि उनले बताए ।
प्रतिक्रिया 4