२७ जेठ, काठमाडौं । प्रत्येक दिन प्रतिनिधिसभाको बैठक समयमै सुरु हुँदैन । यस्तोमा समयमै संसद् भवन पुगेका सांसदहरू आक्रोशित हुने गरेका छन् ।
उनीहरूमध्ये केहीले सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाएका छन् । तर, थप सार्वजनिक रुपमा बोल्दैनन् ।
‘सत्तापक्ष र प्रतिपक्ष भन्ने हुँदो रहेछ । दुई पक्षका नीति भन्ने हुँदो रहेछ । सांसदले विवेकले बोल्ने भन्ने हुँदो रहेनछ । बोलेर पनि के नबोलेर पनि के’ सत्तारुढ दल रास्वपाकै एक सांसदले अनलाइनखबरसँग भने ।
संसद्लाई सौहार्द बनाउन प्रतिपक्षले पनि भूमिका खेल्नुपर्नेमा त्यस्तो हुन नसकेको मत राख्ने उनी सरकारको तर्फबाट हुनुपर्ने पहल पनि पर्याप्त नरहेको बताउँछिन् ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमै समयमै बैठक सुरु नहुने भनेर लेखे ।
‘आजको वैठक १२ बजे तिर शुरु होला भन्ने खबर आयो । १ घण्टा फ्लाइट डिले रैछ । म नि ११:५० तिर पुग्नु पर्छ होला’ उनले लेखेका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि तय भएको थियो । तर पौने १ बजेसम्म सुरु हुन सकेको छैन ।
विगतमा पनि यस्तै हुँदै आएको छ ।
प्रतिनिधिसभाको बैठक प्राय दिउँसो १ बजे बस्ने अभ्यास छ ।
प्रतिनिधिसभा नियमावलीको नियम ६ मा बैठकको सञ्चालन र स्थगनसम्बन्धी व्यवस्था छ । जसमा कार्यबोझलाई ध्यानमा राखी सभामुखले तोकेको दिन र समयमा प्रतिनिधिसभाको बैठक बस्न सक्ने भनिएको छ । नियम ६ को उपनियम २ मा भनिएको छ, ‘सभामुखले अन्यथा आदेश दिएमा बाहेक सामान्यतया दिनको एक बजे बैठक प्रारम्भ हुनेछ ।’
तर, बिहान ११ बजे समेत बैठक राख्ने गरिएको छ । पछिल्लो समय निर्धारित समयमा प्रतिनिधिसभाको बैठक भने सुरु हुन सकेको पाइँदैन् ।
यसअघि यही जेठ १९ गते प्रतिनिधिसभाको बैठक बसेको थियो । त्यसदिन दिउँसो १ बजेका लागि बैठक राखिएको थियो । तर दुई घण्टा ढिलो गरी ३ बजे सुरु भयो ।
केही मिनेट ढिलो भएको भए त्यसदिन प्रतिनिधिसभाको बैठक स्वत स्थगन भएको मानिन्थ्यो । यसबारे प्रतिनिधिसभा नियमावलीमै व्यवस्था छ । नियमावलीको नियम ६ को उपनियम २ मा भनिएको छ, ‘निर्धारित समयको दुई घण्टासम्म पनि बैठक प्रारम्भ हुन नसकेमा सभामुखले सो बैठक स्थगन गरी अर्को बैठकको सूचना गर्नेछ ।’
समयमै बैठक सुरु नभएकोप्रति सत्तारुढ दलकै सांसदहरू समेत असन्तुष्ट देखिएका हुन् ।
१९ गतेको प्रतिनिधिसभा बैठक समयमै सुरु नभएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश कार्कीले सामाजिकमार्फत त्यसप्रति ब्यङ्ग्य गरेका थिए ।
उनले सांसद हुनुपूर्वको समय स्मरण गर्दै भनेका छन्, ‘एमएस्सी सकिएपछि मैले केहि समय एमआरका रूपमा काम गरेको थिएँ । डाक्टरलाई भेटिने समय चैँ दु:खले १ मिनेटको हुन्थ्यो होला । तर त्यहि १ मिनेट भेट्नका लागि घण्टौँ कुर्सीमा बसेर पर्खिनु पर्थ्यो । आउजाउ गर्ने अरू बिरामी र सहयोगीहरुलाई टुलुटुलु हेरेर समय बिताइन्थ्यो ।’
सांसद भएपछि भने संसद्मा संसद् बैठक बस्ने समय कुर्नुपरेको बताएका हुन् ।
‘संयोगहरू जोडिँदै जाँदा म अहिले सांसद भएको छु । आज १ बजे हुने भनिएको संसदका लागि १२:४५ मा संसद छिरिसकेको थिएँ । अहिले २ बजेर ४५ मिनेट भयो तर संसद हुने नहुने टुंगो छैन’ त्यसदिन उनले लेखेका थिए, ‘म कुर्सीमा बसेर यताउता गरिरहेका अरु सांसदहरू हेरेर सदन बस्ने समय पर्खिरहेको छु ।’
सांसद कार्कीले यस्तो लेखेको पनि १५ मिनेटपछि त्यसदिनको बैठक सुरु भएको थियो ।
ढिलो गरी सुरु भएको बैठक पनि कार्यसूचप्ीमा प्रवेश नगरेपछि रुष्ट हुनेहरू अझ धेरै छन् ।
गत सोमबार प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश नै गर्न सकेन । कारण– प्रतिपक्षी दलहरूले सीमा विवादमा दिएको अभिव्यक्तिबारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नै जवाफ दिनुपर्ने अडान राखे । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी विपक्षीको मागमा तयार भएन । बरु रास्वपा सभापति रवि लामिछानेले संसद्लाई सम्बोधन गर्ने र परराष्ट्रसँग सम्बन्धित विषयमा परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिने प्रस्ताव राखे ।
सत्तारुढको प्रस्तावमा प्रतिपक्षी तयार भएन । परिणाममा सोमबारको प्रतिनिधिसभा बैठक कार्यसूचीमै प्रवेश गर्न सकेन । त्यसपछि प्रतिनिधिसभाको बैठक मंगलबार बस्ने गरी स्थगित भयो
प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश गर्न नसकेकोप्रति असन्तुष्ट हुँदै रास्वपाकी सांसद आशिका तामाङले सामाजिक सञ्जालमा लेखिन्, ‘सुरुसुरु संसद भवन जाने, हाजिर गर्ने अनि खुरुखुरु घर आउने ।’
प्रतिक्रिया 4