News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ मा सहभागी ४८ टोलीमध्ये २८ टोलीको नेतृत्व विदेशी प्रशिक्षकहरूले गर्नेछन् ।
- विश्वकप २०२६ मा अर्जेन्टिनाका सबैभन्दा बढी ६ जना प्रशिक्षकले विभिन्न राष्ट्रिय टोलीको नेतृत्व गर्नेछन् ।
- जर्मनीका ३८ वर्षीय जुलियन नागेल्समान विश्वकपकै सबैभन्दा युवा र कुराकाओका ७८ वर्षीय डिक एड्भोकाट सबैभन्दा पाका प्रशिक्षक हुन् ।
२८ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ मा सहभागी टोलीमा विदेशी प्रशिक्षकहरुले वर्चस्व कायम गरेका छन् । क्यानडा, मेक्सिको र संयुक्त राज्य अमेरिकामा संयुक्त रूपमा आयोजना हुन लागेको विश्वकपमा सहभागी ४८ मध्ये २८ टोलीको नेतृत्व विदेशी प्रशिक्षकले गर्नेछन् । २० जना भने आफ्नै राष्ट्रका नागरिक छन् ।
विश्वकपमा पानामा, दक्षिण अफ्रिका, अस्ट्रिया, कोलम्बिया, डेमोक्रेटिक रिपब्लिक अफ कंगो, पोर्चुगल, उरुग्वे, न्युजिल्यान्ड, टर्की, अल्जेरिया, हाइटी, क्यानडा, जोर्डन, इक्वेडर, पाराग्वे, अमेरिका, इंग्ल्यान्ड, बेल्जियम, कतार, इराक, ब्राजिल, उज्बेकिस्तान, स्विडेन, ट्युनिसिया, मोरक्को, घाना, साउदी अरेबिया र कुराकाओले विदेशी प्रशिक्षक रोजेका छन् ।
यता फ्रान्स, क्रोएसिया, जापान, अर्जेन्टिना, स्कटल्यान्ड, केप भर्डे, नर्वे, स्विट्जरल्यान्ड, नेदरल्यान्ड्स, स्पेन, इरान, जर्मनी, इजिप्ट, आइभरी कोस्ट, बोस्निया एन्ड हर्जेगोभिना, दक्षिण कोरिया, मेक्सिको, अष्ट्रेलिया, सेनेगल र चेक रिपब्लिकले आफ्नै देशका प्रशिक्षकलाई जिम्मेवारी दिएका छन् ।
अर्जेन्टिनाबाट सबैभन्दा धेरै प्रशिक्षक
विश्वकपमा प्रशिक्षकका रूपमा सबैभन्दा धेरै प्रतिनिधित्व अर्जेन्टिनाको हुनेछ । नेस्टर लोरेन्जो, लियोनेल स्कालोनी, मार्सेलो बिएल्सा, सेबास्टियन बेक्काचेचे, गुस्ताभो अल्फारो र माउरिसियो पोचेट्टिनो गरी ६ अर्जेन्टिनी प्रशिक्षक विश्वकपमा सहभागी हुनेछन् ।
नेस्टरले कोलम्बिया, लियोनेलले अर्जेन्टिना, मार्सेलो उरुग्वे, सेबास्टियन इक्वेडर, गुस्ताभो पाराग्वे, माउरिसियो अमेरिकाको प्रशिक्षक हुन् । अर्जेन्टिनापछि फ्रान्सका पाँच, स्पेनका चार तथा जर्मनी र इटालीका तीन–तीन प्रशिक्षक विश्वकपमा रहनेछन् ।
सबैभन्दा युवा जर्मन, सबैभन्दा पाका डच प्रशिक्षक
जर्मनीका मुख्य प्रशिक्षक जुलियन नागेल्समान विश्वकप २०२६ का सबैभन्दा युवा प्रशिक्षक हुनेछन् । ३८ वर्षीय नागेल्समानले हान्सी फ्लिकलाई प्रतिस्थापन गर्दै सन् २०२४ को युरोपियन च्याम्पियनसिपमा जर्मनीको नेतृत्व गरेका थिए । यो उनको प्रशिक्षकका रूपमा पहिलो विश्वकप हुनेछ ।
अर्कोतर्फ, कुराकाओलाई इतिहासमै पहिलो पटक विश्वकपमा पु¥याएका ७८ वर्षीय डच प्रशिक्षक डिक एड्भोकाट प्रतियोगिताका सबैभन्दा पाका प्रशिक्षक हुनेछन् । प्रशिक्षकका रूपमा उनको यो तेस्रो विश्वकप सहभागिता हुनेछ । नागेल्समानको जर्मनी र एड्भोकाटको कुरासाओ विश्वकपको समूह ‘ई’ अन्तर्गतको पहिलो खेलमा ह्युस्टन स्टेडियममा आमनेसामने हुने तालिका छ । ४८ प्रशिक्षकको औसत उमेर ५७.३ वर्ष रहेको छ । जुन कतार विश्वकप २०२२ को तुलनामा ५.४ वर्ष बढी हो ।
विश्वकप जितेका दुई प्रशिक्षक
विश्वकप २०२६ मा सहभागी ४८ प्रशिक्षकमध्ये केवल दुई जनाले यसअघि विश्वकप उपाधि जितेका छन् । फ्रान्सका डिडिएर डेसच्याम्प्स र अर्जेन्टिनाका लियोनेल स्कालोनीले एक–एक पटक विश्वकप जितिसकेका छन् । डेसच्याम्प्सले सन् २०१८ मा फ्रान्सलाई विश्वविजेता बनाएका थिए भने स्कालोनीले कतार २०२२ को फाइनलमा फ्रान्सलाई हराउँदै अर्जेन्टिनालाई उपाधि दिलाएका थिए ।
यदि डेसच्याम्प्स वा स्कालोनीमध्ये कसैले २०२६ मा पुनः विश्वकप जिते भने उनीहरूले इटालीका भिट्टोरियो पोज्जोको कीर्तिमान बराबरी गर्नेछन् । पोज्जो विश्वकप दुई पटक जित्ने एकमात्र प्रशिक्षक हुन् ।
प्रतिक्रिया 4