News Summary
Generated by OK AI. Editorially reviewed.- सोनी पिक्चर्सले सन् २०१० को अस्कर विजेता फिल्म 'द सोसल नेटवर्क' को सिक्वेल 'द सोसल रेकनिङ' को ट्रेलर सार्वजनिक गरेको छ ।
- फेसबुकका ह्विसलब्लोअरको खुलासामा आधारित यस फिल्ममा जेरेमी स्ट्रङले मार्क जुकरबर्गको भूमिका निर्वाह गरेका छन् र आरोन सोर्किनले निर्देशन गरेका छन् ।
- आगामी ९ अक्टोबरमा प्रदर्शन हुने यस फिल्मले फेसबुककी पूर्व इन्जिनियर फ्रेन्सेस हाउगेन र पत्रकार जेफ होर्विट्जको वास्तविक खोजमूलक रिपोर्टिङलाई प्रस्तुत गर्छ ।
लस एन्जलस । फेसबुक उदयको कथा प्रस्तुत गर्ने फिल्म ‘द सोसल नेटवर्क’ रिलिज भएको १६ वर्षपछि दर्शकले यसको बहुप्रतीक्षित सिक्वेलको पहिलो झलक पाएका छन् ।
सोनी पिक्चर्सले सन् २०१० को अस्कर विजेता फिल्मको श्रृंखला ‘द सोशल रेकनिङ’ को ट्रेलर सार्वजनिक गरेको छ । यसपटक फिल्मले सामाजिक सञ्जाल कम्पनी फेसबुकलाई पुनः केन्द्रमा राख्दै, विश्वव्यापी प्रभावशाली शक्ति बनेपछि कम्पनीबारे सार्वजनिक भएका ह्विसलब्लोअर (आन्तरिक जानकारी सार्वजनिक गर्ने व्यक्तिहरू) का खुलासालाई विषय बनाएको छ ।
फिल्ममा माइकी म्याडिसन, जेरेमी एलेन ह्वाइट, बिल बुर र जेरेमी स्ट्रङको अभिनय छ । स्ट्रङले फेसबुकका संस्थापक मार्क जुकरबर्गको भूमिका निर्वाह गरेका छन् । यसअघि मूल फिल्ममा यो भूमिका जेसी आइजनबर्गले निर्वाह गरेका थिए ।
आरोन सोर्किन लेखक र निर्देशक दुवै भूमिकामा फ्रेन्चाइजमा फर्किएका छन् । ‘द सोशल नेटवर्क’का लागि उत्कृष्ट रूपान्तरित पटकथाको अस्कर जितेका सोर्किनले यसपटक आफ्नो भूमिका थप विस्तार गरेका हुन् ।
फिल्मले फेसबुककी पूर्व इन्जिनियर फ्रेन्सेस हाउगेन (म्याडिसन) र द वाल स्ट्रिट जर्नलका पत्रकार जेफ होर्विट्ज ‘ह्वाइट) को वास्तविक कथा प्रस्तुत गर्छ । उनीहरूको खोजमूलक रिपोर्टिङले कम्पनीभित्रको अनुसन्धान र निर्णय प्रक्रियासम्बन्धी गोप्य तथ्य सार्वजनिक गरेको थियो ।
उनीहरूको अनुसन्धानको परिणामस्वरूप सन् २०२१ मा प्रकाशित ‘द फेसबुक फाइल्स’ शृंखला सार्वजनिक भएको थियो । उक्त अनुसन्धानले किशोरकिशोरीमाथि फेसबुकको नकारात्मक प्रभाव, गलत सूचना फैलाउन प्लेटफर्मको भूमिका तथा राजनीतिक हिंसासँग सम्बन्धित सामग्रीको प्रसारबारे महत्वपूर्ण खुलासा गरेको थियो ।
यस वर्षको सिनेमाकन कार्यक्रममा ट्रेलर सार्वजनिक हुँदा सोर्किनले सन् २०१० को आफ्नो चर्चित कर्पोरेट नाटकको सिक्वेल किन बनाउन आवश्यक ठाने भन्नेबारे भने, ‘फेसबुकको एल्गोरिदमले नछोएको जीवन सायदै छ । यसको प्रभावले हाम्रो समाजका धेरै पक्षलाई आकार दिएको छ । त्यसैले अब थप कुरा गर्ने समय आएको छ ।’
‘द सोशल नेटवर्क’ समालोचक र व्यावसायिक दुवै दृष्टिले सफल फिल्म साबित भएको थियो । विश्वभरबाट २२ करोड ६० लाख अमेरिकी डलर कमाएको उक्त फिल्मले उत्कृष्ट चलचित्रसहित आठवटा अस्कर मनोनयन प्राप्त गरेको थियो । फिल्मले तीन अस्कर जितेको थियो र प्रविधि उद्योगको चित्रण गर्ने हलिउडका सबैभन्दा प्रभावशाली फिल्ममध्ये एकका रूपमा आज पनि व्यापक रूपमा उल्लेख गरिन्छ ।
‘द सोशल रेकनिङ’ लाई सोर्किनसँगै टड ब्ल्याक, पिटर राइस र स्टुअर्ट बेसरले निर्माण गरेका छन् । सोनीले फिल्मलाई आगामी अक्टोबर ९ मा विश्वभरका सिनेमाघरमा प्रदर्शन गर्ने तयारी गरेको छ ।
तल ट्रेलर हेर्न सकिन्छ ।
प्रतिक्रिया 4