News Summary
Generated by OK AI. Editorially reviewed.- नुवाकोटको विदुरमा शुक्रबारदेखि ९ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता शुरू भएको छ ।
- राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानद्वारा आयोजित प्रतियोगितामा देश तथा विदेशका १८ उत्कृष्ट टोलीले सहभागिता जनाएका छन् ।
- ६८ लाख ४० हजार रुपैयाँ अनुमानित बजेट रहेको प्रतियोगितामा प्रथम हुने टोलीले शिल्डसहित तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।
काठमाडौं । नुवाकोटको विदुरमा आज शुक्रबारदेखि ९ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता २०८३ सुरु भएको छ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा १८ दोहोरी टिमले प्रतिस्पर्धा गर्दैछन् ।
जेठ २९, ३० र ३१ गते विदुर नगरपालिकास्थित ईलम प्रशिक्षण केन्द्रमा आयोजना हुने प्रतियोगिताले नेपाली लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान र नव प्रतिभाको प्रोत्साहन गर्ने उद्देश्य राखेको छ ।
प्रतियोगितालाई समावेशी र प्रतिस्पर्धी बनाउन प्रतिष्ठानको आन्तरिक छनोट प्रक्रिया पूरा गरिएको छ । जसअनुसार सातै प्रदेशबाट छनोट भएका उत्कृष्ट २-२ समूह, उपत्यका समन्वय समितिका उत्कृष्ट २ समूह र विदेश शाखाका उत्कृष्ट २ समूह गरी कुल १८ उत्कृष्ट टोलीहरूले रनिङ शिल्डका लागि प्रतिस्पर्धा गर्नेछन् ।
पहिलो हुने टोलीले शिल्डसहित नगद ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । द्वितीय पुरस्कार २ लाख, तृतीय पुरस्कार १ लाख र सान्त्वना पुरस्कार ५० हजार रुपैयाँ तोकिएको छ ।
विधागततर्फ उत्कृष्ट गायक, उत्कृष्ट गायिका, उत्कृष्ट नवगायक, उत्कृष्ट नवगायिका, अनुशासित गायक/गायिका र उत्कृष्ट भेषभूषामा प्रस्तुत हुने गायक-गायिकालाई पुरस्कृत गरिने जनाइएको छ ।
बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । मूल समारोहको संयोजक प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष रीता थापामगर आफैँ छिन् भने सह-संयोजकमा प्रशासनिक उपाध्यक्ष दीपक खड्का र उप–संयोजकमा केन्द्रीय सदस्य उषा सुवेदी छन् ।
सांस्कृतिक कार्यक्रम व्यवस्थापनको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष पशुपति शर्माले सम्हालेका छन् भने कार्यक्रम निर्देशकका रूपमा उज्वलजंग ठकुरी छन् । मञ्च व्यवस्थापनमा रामजी खाँण र अतिथि सत्कारमा राधिका हमाललगायतका कलाकार विभिन्न उपसमितिमा सक्रिय छन् ।
कार्यक्रमको कुल अनुमानित बजेट ६८ लाख ४० हजार रुपैयाँ छ । कार्यक्रमको मुख्य संरक्षक बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालय छ भने संरक्षकका रूपमा विदुर नगरपालिका र टोखा नगरपालिका रहेका छन् । नुवाकोट उद्योग वाणिज्य संघ यसको प्रवद्र्धक रहेको छ भने मुख्य सहयोगी संस्थाको रूपमा नुवाकोट निर्माण व्यवसायी संघ छ ।
प्रतियोगितालाई नुवाकोटमै पुगेर प्रत्यक्षरूपमा करिब २० हजार दर्शकले अवलोकन गर्ने तथा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत देश तथा विदेशमा रहेका करिब ५० लाख नेपाली तथा नेपालीभाषी दर्शकले हेर्ने अपेक्षा प्रतिष्ठानको छ ।
प्रतिक्रिया 4