News Summary
Generated by OK AI. Editorially reviewed.- स्वास्थ्य मन्त्रालयले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त उपकुलपति पदका लागि १६ जनाको संक्षिप्त सूची सार्वजनिक गरेको छ ।
- स्वायत्त स्वास्थ्य शैक्षिक संस्थाका रूपमा रहेको यस प्रतिष्ठानको वार्षिक आम्दानी करिब ३ अर्ब १० करोड रुपैयाँ रहेको छ ।
- नयाँ उपकुलपतिसामु अस्पतालको उपकरण अभाव हटाउने र रोक्का रहेको १ अर्ब ३५ करोड रुपैयाँ भुक्तानी ल्याउने मुख्य चुनौती छ ।
२९ जेठ, सुनसरी । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पद करिब एक महिनादेखि रिक्त छ ।
यति मात्र होइन, बीपी प्रतिष्ठानको सञ्चालक परिषद् (सिनेट) र कार्यकारिणी समिति (कास) सदस्यहरूको पदसमेत खाली छ । पदाधिकारीविहीन भएपछि बीपी प्रतिष्ठान ‘अटोपाइलट मोडल’ मा चलिरहेको छ ।
यस पटक सरकारले उपकुलपति चयनका लागि खुला प्रतिस्पर्धा गराएको छ । जसअनुसार स्वास्थ्य मन्त्रालयले बीपी प्रतिष्ठानको उपकुलपतिका लागि १६ जनाको नाम सर्टलिस्ट गरेको छ । उक्त सर्टलिस्टअनुसार बीपी प्रतिष्ठानको उपकुलपति बन्नका लागि दरखास्त दिनेहरू अधिकांश बीपी प्रतिष्ठानकै प्राध्यापक चिकित्सकहरू छन् ।
आफूलाई उपकुलपति हुन योग्य, दक्ष दाबी गरेर निवेदन चढाउनेहरूमा सुनिल ढुङ्गेल, प्रा.डा. शिवेन्द्र झा, प्रा.डा. गौरीशंकर साह, प्रा.डा. पशुपति चौधरी, प्रा.डा. गुरुप्राद खनाल, प्रा.डा. विक्रमप्रसाद श्रेष्ठ, प्रा.डा. प्रल्हाद कार्की, प्रा.डा. राजु रिजाल, प्रा.डा. स्मृति कार्की, प्रा.डा. अचला ठाकुर, प्रा.डा. रविन मास्के, प्रा.डा. प्रकाश पौडेल, प्रा.डा. विद्यानाथ यादव, प्रा.डा. दिलिप ठाकुर, प्रा.डा. सुरज बज्राचार्य र प्रा.डा. राजेश नेपाल रहेका छन् ।
निवेदन दिनेहरूमा झा बीपी प्रतिष्ठानकै फरेन्सिक विभागका हुन् भने साह बालरोग विभागका हुन् । चौधरी हाडजोर्नी विभागमा कार्यरत रहे पनि हाल रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत छन् ।
खनाल बीपी प्रतिष्ठानकै हाडजोर्नी विभागमा कार्यरत छन् । श्रेष्ठलाई हाडजोर्नी विभागमा रहँदै अघिल्लो सरकारले उपकुलपति नियुक्त गरेको थियो । उनले करिब ९ महिना उपकुलपति भएर प्रतिष्ठान चलाए । जेनजी आन्दोलनपछि भएको चुनावपछि बनेको सरकारले अघिल्लो सरकारले नियुक्त गरेका सबै राजनीतिक नियुक्ति खारेज गरेपछि उनी पनि सोही घानमा परे ।
यसैगरी कार्की बीपी प्रतिष्ठानमा लामो समय मेडिसिन विभागमा रहेर गत वर्ष अवकाश लिएका व्यक्ति हुन् । रिजाल पनि हाडजोर्नी विभागका प्रमुख हुन् । स्मृति कार्की प्याथोलोजी विभागका प्रमुख हुन् ।
ठाकुर फिजियोलोजी विभागमा छन् । अचला स्त्री तथा प्रसूति विभाग प्रमुख हुन् । मास्के मेडिसिन विभागका प्रमुख हुन् भने वीएन यादव फरेन्सिक विभागका हुन् । बज्राचार्य बीपी प्रतिष्ठानकै उत्पादन भए पनि हाल काठमाडौंको एक अस्पतालमा कार्यरत छन् । नेपाल विराटनगरको नोबेल अस्पतालमा कार्यरत छन् ।
उपकुलपतिको दौडमा देखिएका नामहरूमध्ये साह, खनाल, कार्की, चौधरी, श्रेष्ठ, यादव प्रतिष्ठानका पुराना प्राध्यापकमा गनिन्छन् । उनीहरूले पढाएका र सिकाएका नयाँ पुस्तासँग अहिले प्रतिस्पर्धामा उत्रिएका छन् ।
बीपी प्रतिष्ठान स्वायत्त स्वास्थ्य शैक्षिक संस्था हो । यहाँ कार्यरत करिब १७ सय किर्मचारी (चिकित्सक शिक्षक, नर्स र प्रशासनिक कर्मचारी) लाई तलब–भत्ता सविधा दिने दायित्व र जिम्मेवारी सरकारले लिनु पर्दैन ।
सरकारले अन्य प्रतिष्ठानका कर्मचारीलाई तलब–भत्ता सुविधा दिए जस्तै बीपी प्रतिष्ठानका कर्मचारीलाई नदिने भएकाले आफैंले आम्दानी गर्ने र त्यही आम्दानीले प्रतिष्ठान सञ्चालन गर्न सक्ने खुबी भएको दक्ष उपकुलपति आउला कि नआउला भन्ने संशय कायम छ ।
अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) को मोडलमा ३३ वर्षअघि स्थापना भएको प्रतिष्ठान अहिले वयस्क भइसकेको छ । १५ सय विद्यार्थी माझ चिकित्साशास्त्रका करिब ५०भन्दा बढी कार्यक्रमहरू सञ्चालन हुँदै आएको यो प्रतिष्ठानको हालको वार्षिक आम्दानी शैक्षिक कार्यक्रमबाट वार्षिक १ अर्ब ४० करोड रुपैयाँ, अस्पताल सञ्चालनबाट १ अर्ब ७० करोड रुपैयाँ गरी करिब ३ अर्ब १० करोड रुपैयाँ जति हो ।
खर्च पनि उत्तिकै हुने गरेको प्रतिष्ठानलाई नेपाल सरकारबाट सञ्चालन, उपकरण खरिद र पूँजीगत खर्चको रूपमा दयापूर्वक केही करोड प्राप्त हुने गरेको छ । सरकारले प्रतिष्ठानलाई बजेट दिने सूचीमा राखेको छैन ।
बीपी प्रतिष्ठान पूर्ण सरकारी स्वास्थ्य संस्था होइन । न त प्राइभेट संस्था हो । स्वायत्त भए पनि कुलपति प्रधानमन्त्री, सहकुलपति स्वास्थ्य मन्त्री रहने व्यवस्था छ ।
स्थापनाको ३३ वर्ष बितिसके पनि विगत डेढ दशकदेखि भ्रष्टाचार, बेथिति तथा चिकित्सक शिक्षक, विद्यार्थी, नर्स र कर्मचारीका अनेक आन्दोलनले थिलोथिलो बनेको बीपी प्रतिष्ठानलाई सही मार्गमा डोर्याउन यतिबेला दक्ष, इमानदार र निष्कलंक उपकुलपति चाहिएको छ ।
चुनौतीका चाङ
बीपी प्रतिष्ठानमा अनेक समस्या र चुनौतीका चाङ छन् । पछिल्लो समयमा दैनिक उपचारका लागि आउने बिरामीको संख्या ४ हजारमाथि पुग्न थालेको छ । भौतिक संरचना र पूर्वाधार भए पनि मेडिकल उपकरण र जनशक्ति अभाव, आर्थिक संकटका कारण थलिएको प्रतिष्ठानलाई उठाउने चुनौती अब आउने उपकुलपतिलाई छ ।
पूर्वको टर्सरी सेन्टर र रिफरल सेन्टरमा रुपान्तरित भए पनि बीपी प्रतिष्ठानमा विगत १० वर्षदेखि एमआरआई मेसिन छैन । यहाँ भएका सीमित सीटी स्क्यान, अल्ट्रासाउन्ड, इन्डोस्कोपी, कोलोनोस्कोपी, क्याथल्याब, डिजिटल एक्सरे, डेन्टलका लागि आधुनिक एक्सरे मेसिन र डेन्टल चियर, अप्रेसन थिएटर, आईसीयू र वार्डले बिरामीको चाप थेग्न सकेको छैन ।
चिकित्साशास्त्रको नर्सिङ, बीएमआईटी, एमआईटी, रेडियोलोजी, एमबीबीएस, एमडी, एमएस, एमसीएच तहसम्म पढाउने र वैज्ञानिक स्वास्थ्य अनुसन्धान पत्र लेखेर राज्यलाई सल्लाह दिन सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने संस्थाको हालत सुधार्न सक्ने उपकुलपति खोजिरहेको छ बीपी प्रतिष्ठानले ।
बीपी प्रतिष्ठानमा विगत डेढ दशक यता ठूला परियोजनाहरू अधकल्चो र अलपत्र अवस्थामा छन् । २ अर्ब ३३ करोड २३ लाख रुपैयाँ लागतको ४०० बेडको मातृ तथा शिशु उपचार केन्द्र (एमसीएच) भवनको निर्माण अन्तिम चरणमा छ । तर त्यहाँ जडान गर्न आवश्यक पर्ने मेडिकल उपकरणहरू खरिद गर्न अर्बौं रुपैयाँ जोहो गर्न सक्ने उपकुलपति चाहिएको छ ।
प्रतिष्ठानले १२ करोड ३७ लाख २७ हजार लागतमा आफ्नै फार्मेसी भवन निर्माण गर्यो तर त्यहाँ बीपी प्रतिष्ठानकै चिकित्सकले लेखिदिएको प्रेस्क्रिप्सन अनुसारको औषधि सर्वसुलभ रूपमा बिरामीले पाउने सकेका छैनन् ।
करिब २ अर्ब ६ करोड ५४ लाख रुपैयाँ लागतको क्यान्सर उपचार केन्द्र (अंकोलोजी सेन्टर) र १ अर्ब ६२ करोड २५ लाख रुपैयाँ लागतको मुटु उपचार केन्द्र (कार्डियाक सेन्टर) का भवन निर्माण गर्न ८ वर्षअघि नै सिनेटले पारित गरे पनि प्रगति शून्य छ । यी चुनौतीको सामना गर्दै आफ्नो कार्यकालमा बीपी प्रतिष्ठानलाई अब्बल बनाउने दायित्व अबको उपकुलपतिको हो ।
यति मात्र छैन नयाँ उपकुलपतिको चुनौती । हाल स्वास्थ्य बीमा बोर्डमा रोकिएको करिब ९५ करोड रुपैयाँ र चिकित्सा शिक्षा आयोगमा रोकिएको ४० करोड रुपैयाँ गरी १ अर्ब ३५ करोड रुपैयाँ ल्याउन सक्ने उपकुलपति बीपी प्रतिष्ठानलाई चाहिएको छ ।
प्रतिक्रिया 4